शुक्रबार, वैशाख १४, २०८१

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन हस्ताक्षरसहित आज अदालत जाँदै

मेरोन्यूज २०७८ जेठ १० गते ८:४१

काठमाडौं । विपक्षी गठबन्धन वैकल्पिक सरकार गठनको दाबी खारेज र संसद विघटनविरुद्ध आज सर्वोच्च अदालत जाँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् ।

शनिबार ५ दलको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकालेको थियो ।


आइतबार नै अदालत जाने भनिए पनि कानुनी ढाँचाअनुसार कागजातसहितको विवरण र मस्यौदा तयार पार्न ढिलाइ भएपछि सोमबार मात्रै रिट पेस गर्न लागिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । विपक्षी गठबन्धनले आइतबार नै बहुमत सांसदको हस्ताक्षर जुटाइसकेको छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएकोभन्दै खारेज गरेकी थिइन् । र, मन्त्रिपरिषद् बैठकको सिफारिसमा संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएको भन्दै विपक्षी ५ दलले विरोध गरिरहेका छन्।

प्रतिक्रिया