सोमबार, वैशाख २४, २०८१

भारतबाट तरकारी आयात ठप्प, नेपाली उत्पादनको मूल्य न्यून

किरण अधिकारी २०७८ जेठ ९ गते १५:२९

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएको भन्दै सरकारले गरेको निषेधाज्ञासँगै काठमाडौँ उपत्यका बाहिरका धेरै सर्वसाधरण बाहिरिए । निषेधाज्ञासँगै सम्पूर्ण बजार बन्द भएका छन् ।

Advertisement

जिल्ला प्रशासनले बिहान ६ देखि १० बजेसम्म खाद्यान्नको पसल खुला गर्न पाउने नियम बनाएको छ । यही समयमा मानिसहरूले आफूलाई आवश्यक पर्ने तरकारी, दुध, खाद्य सामाग्री खरिद गर्दै आएका छन् ।

निषेधाज्ञा लागु भएपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो फलफूल तथा तरकारी केन्द्र कालीमाटी बजारबाट खुद्रा पसल बन्द गर्न निर्देशन दिएको छ । तर, यसबीच अन्य पसलहरू पनि खुल्न सकेको छैन । तरकारी तथा फलफूलको आयत नहुने भएपछि अन्य पसलहरू पनि बन्द भएको हो ।

कोरोना महामारी बढेसँगै फलफूल तथा तरकारीका लागि कालीमाटीमा कम मात्रामा ग्राहक जाने गरेका छन् । तर, कसरी यसको व्यापार हुँदै आएको छ त ?

देशमा निषेधाज्ञा भएसँगै नेपाली किसानले उत्पादन गरेको तरकारी तथा फलफूलले बजार पाउँदै आएको छ । भारतबाट आउने नाकाबाट यी सामाग्री आउन कम भएपछि नेपाली उत्पादनले स्थान पाएको हो ।

नेपाली किसानको उत्पादन गरेको उत्पादन उठाउन आनाकानी गर्दै आएका बिचौलिया तथा व्यापारीहरू टोलटोलमा पुगेका छन् । जसले गर्दा कोरोना महामारीका बीच किसानलाई राम्रै फाइदा पुगेको छ । आय स्तरमा केही बढावा पुग्ने भएको छ ।

इलामका किसान प्रकाश पराजुलीले भारतबाट तरकारी आयात बन्द भएकाले आफूहरूले उत्पादन गरेको तरकारी खेतमा नै बिक्ने गरेको सुनाए । उनले भने, “मिडियाले प्रचार गरे आगामी दिनमा सबै स्थानबाट तरकारी तथा फलफूल उत्पादन र व्यापारमा वृद्धि हुनेमा कुनै शंका छैन ।”

यस्तै, काठमाडौँको कोटेश्वरमा तरकारी तथा फलफूल बिक्री गर्दै आएकी माया क्षेत्रीले पछिल्लो समय काभ्रे र भक्तपुरबाट तरकारी आउने गरेको बताइन् । उनले भनिन्, “सबै सहजकता भएको छ, सस्तोमा खरिद गर्दै सस्तोमा बिक्री गर्ने गर्छु ।”

खुद्रा व्यापारीले कालीमाटी बजार मूल्यभन्दा दोब्बर मूल्यमा फलफूल तथा तरकारी बिक्री गर्दै आएका छन् नि ? भन्ने प्रश्नमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले अनुगमन भइरहेकाले यस्तो नभएको जानकारी दिए ।

सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा मात्रै दैनिक करिब एक हजार ७ सय मेट्रिक टन तरकारी खपत हुँदै आएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । निषोधाज्ञाअघि काठमाडौँमा मात्र दैनिक ९ सय ५० मेट्रिक टन तरकारी खपत हुँदै आएकोमा अहिले दैनिक ३ सय ५० मेट्रिक टनको हाराहारीमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

अहिले कालिमाटी तरकारी बजार बन्द भएसँगै सबै तरकारी नेपाली उत्पादनबाट आएको समितिले जनाएको छ । गत वर्ष जस्तो निषेधाज्ञामा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको थियो ।

तथ्यांकानुसार थोक मूल्य र खुद्रा बजारमा पाइने तरकारीको अन्तरमा विवादास्पद देखिएको छैन । समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले भने, “बजार अनुगमन भइरहेकाले कुनै व्यापारीले ठग्न पाउँदैनन्, र सहज रुपमा सबैले तरकारी तथा फलफूल पाएका छन् ।”

भारतबाट फलफूल तथा तरकारी आयत ठप्प भए पनि सहज रुपमा उपलब्ध भइरहेको छ नि ? भन्ने प्रश्नमा निर्देशक भट्टराईले भने, “निषेधाज्ञाले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत धेरै तरकारी खपत हुने ठाउँ बन्द भएका छन्, मानिसहरु गाउँ फर्किएका छन्, त्यसैले बजारमा सहज भएको हो ।”

निषेधाज्ञा नहुँदा दैनिक ४ अर्ब रुपैयाँ बराबरको फलफूल तथा तरकारी भारतबाट आयात हुँदै आएको थियो । तर, अहिले नेपाली भूमिमा नै उत्पादन बजारमा आएको छ । निषेधाज्ञाले भारतीय बजारको फलफूल तथा तरकारीको आयात ठप्प हुँदा नेपाली कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाएसँगै खुसी भएका छन् ।

प्रतिवेदनले के भन्छ ?

कोरोनासँगै जारी भएको निषेधाज्ञाले बजार अस्तव्यस्त हुन पुगेको छ । फलफूल तथा तरकारीको मागमा भारी गिरावट आएको छ । यससँगै मूल्यमा समेत गिरावट आएको छ ।

माग र मूल्यका आधारमा फलफूल तथा तरकारीको गिरावट आएको थोक बजार व्यवसायी संघ कालिमाटीका मेघराज पोख्रेलको भनाई छ । “लकडाउनले व्यवसायीको अवस्था दयनीय बनेको छ, कालिमाटी बजार बन्द भएपछि व्यवसायीले राम्रोसँग व्यवसाय गर्न पाएका छैनन् । दैनिक १–२ घण्टा मात्र व्यापार गर्न पाएका छौँ, अवस्था कठिनाई र दयनीय भएको छ,’ उनले भने ।

यता नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार फलफूल तथा तरकारीको मूल्यमा भारी वृद्धि भएको देखाएको छ । बैंकले फलफूलमा १६ र तरकारीमा १३ प्रतिशतले मूल्य वृद्धि भएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

देशभर बजार अनुगमन

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया