शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्री ओलीले भने : विपक्षी गठबन्धनले गर्दा मेरो बहुमतलाई राष्ट्रपतिले विश्वास गर्नु भएन

फर्जी हस्ताक्षर गरेर राष्ट्रपति समक्ष गए छन्

प्रेम कुमार श्रेष्ठ २०७८ जेठ ९ गते १५:०४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको बाटोबाट सत्ता कब्जा गर्न नसकेपछि विपक्षी पार्टीले अनेक विधि अपनाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले लोकतन्त्रविरुद्ध हिँडेर तानाशाही शासन चलाउने उद्देश्य राखेका पनि नसकेपछि तरिका बदलेको बताएका हुन् ।

प्रधानमन्त्रीले आफूलाई प्रजातान्त्रिक भन्ने पार्टीहरू पनि प्रचण्ड पथ बाटो हिँडेर सत्ता कब्जाको बाटोमा हिँडेको आरोप लगाए । उनले भने, ‘केपी ओलीले गरेको चुनावमा जान्न भनेर नेपाली कांग्रेसका नेताले भन्नु भएको सुनेँ, यो कस्तो कुरा हो ? के कांग्रेसलाई टीका लगाएर प्रधानमन्त्री दिनु पर्ने हो ?’

‘प्रधानमन्त्री बन्ने उद्देश्यले किर्ते कागजजात लिएर राष्ट्रपतिमा जान मिल्छ ? यसका नेकपा एमालेका केही नेताहरू पनि लागेको देखेँ, के यसरी लोकतन्त्रको रक्षा हुन्छ ?’ प्रधानमन्त्री ओलीले भने, ‘यदि, लोकतन्त्रलाई हामीले उत्तम व्यवस्था र सुरक्षा गर्ने महसुस गर्न पर्छ भने पार्टी अनुशासन तोडाउन मिल्छ ?’ संविधान र लोकतान्त्रिक अभ्यासअनुसार सरकार चलाउँदा कू नहुने उनले बताए ।

अहिलेको प्रतिनिधिसभाको अवस्था कमजोर भएको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले आफ्नो पार्टीको १२१ सांसद र जनता समाजवादी पार्टी (जसपा)का ३२ सहित १५३ जनाको बहुमत लिएर सरकार बनाउन खोजे पनि त्यो हुन नसकेको बताए ।

‘मैले वैकल्पिक सरकार बनाउन अनेक तवरबाट बाटो खाली गरिदिएको थिएँ, तर किन सक्नु भएन ?,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले १२१ सांसदको प्रतिनिधित्व गर्छु, होला उनीहरू कही कतैको बैठकमा नआएका होलानन्, तर उनीहरूले पार्टी छाडेका छैनन्, पार्टीले कारबाही गरेको पनि छैन नि ।’

विपक्षी गठबन्धनका कारणले मैले बहुमत पुर्याएर नयाँ सरकार बनाउन दिएको प्रतिनिधिसभाको बहुमतलाई राष्ट्रपतिले विश्वास नगरेको ओलीले बताए । यसलाई आधार बनाएर केही बुद्धिजिवीहरू न्वारानदेखिको बल लगाएर गलत व्याख्या गर्नमा व्यस्त भएको उनले आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध मुद्दा हाल्नका लागि मोर्चा कस्नु नपर्ने भन्दै विपक्षी गठबन्धलाई व्यांग्य गरेका थिए । उनले न्याय पाउनका लाग एक जनाको मुद्दा नै काफी हुने बताए ।

उनले संविधानविद् तथा बुद्धिजिवीहरूलाई राष्ट्रपतिको कामविरुद्ध कुनै उजुरी नलाग्ने भएकाले अनावश्यक दृष्टिकोण नबनाउन आग्रह गरे । उनले देशभक्ति शक्तिहरूलाई क्षणिक स्वार्थ, लाचार भावना तरिकाले लाग्न नहुने बताए ।

प्रधानमन्त्री ओलीले पहिलेको तुलनामा आफ्नो सरकार तानाशाही नभएको दाबी गरे । उनले कोरोना महामारीका बीच मूल्य वृद्धि, कालोबजारी, अनैतिक गतिविधि रोक्नलाई आफ्नो र सरकारको ध्यान गइरहेको उनले बताए ।

प्रतिक्रिया