शनिबार, वैशाख ८, २०८१

गैँडा तस्करीमा फरार प्रजा पक्राउ

मेरोन्यूज २०७८ जेठ ९ गते १०:२४

चितवन । गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस–३ हाल कालिका नगरपालिका बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् ।

उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठुलेचौर भन्ने ठाउँबाट पक्राउ गरिएको हो । उनले विसं २०६७ चैत २७ गते धोवाहा रतनी घाटमा भाले गैँडालाई गोली हानी खाग तस्करी गरेको अभियोगमा विशेष अदालतले १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो ।

उनलाई अदालतले विसं २०७४ फागुन १५ गते सो फैसला सुनाएको थियो । उनलाई गैँडा तस्करीसँगै चोरी शिकारीमा संलग्न तीन मुद्दामा दोषी ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा चार फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।रासस

प्रतिक्रिया