बिहीबार, वैशाख ६, २०८१

लकडाउनमा खेलाडी : बरण्डा,सिँढीमा व्यायाम गर्दै साग पदक विजेता शिवानी

शेरबहादुर सिंह २०७८ जेठ ९ गते १०:१३

महेन्द्रनगर । कोरोनाको दोस्रो लहर शुरु हुनुअघि दिन नबिराएर कञ्चनपुरको महेन्द्रनगरस्थित कडर्डहल परिसरमा नियमित अभ्यासमा भेटिने कुस्ती खेलकी साग पदक विजेता खेलाडी शिवानी दुबेको लकडाउनपछि दैनिकी नै परिर्वतन भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाले सार्वजनिक स्थलमा खेलकुद गतिविधि बन्द भएसँगै शिवानी अहिले नियमित घरको बरण्डामा अभ्यासमा व्यस्त छिन ।
“दौड हुँदैन अरु शारीरिक अभ्यास घरमै भइरहेको छ”, उनले भनिन् “बुवा पनि खेलाडी भएकाले घरको छतमा नियमित अभ्यास गरिरहेकी छु ।”

सिँढी, बरण्डा र छतमा अभ्यास गरिरहेकी शिवानीले कोरोना नियन्त्रणमा आइसकेपछि कबर्डहलमा अभ्यास गर्ने पर्खाइमा रहेको बताईन । राष्ट्रियस्तरमा सात स्वर्ण र १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा रजत पदक विजेता शिवानीले तीन महिना भारतको हरियाणामा समेत प्रशिक्षण लिएर कोरोनाका कारण फर्किएको बताउनुभयो । उनले भनिन “कोरोनाले भारतमा पनि लकडाउन भयो, फर्किएर घर आएँ, भारतमा दुई वर्ष प्रशिक्षणका लागि सम्झौता भएको छ ।”
शिवानीका बुबा राजु पनि कुस्तीका राष्ट्रिय खेलाडी हुन । बक्सिङ ओलम्पियन तथा प्रशिक्षक डम्बरदत्त भट्टले गाउँतर खेलाडीहरु आन्तरिक प्रशिक्षणमा रहेको बताए । “घरमै रहेर पनि खेलाडीहरु ‘फिटनेस’का अभ्यासहरू गरिरहेका छन्”, उनले भने “विषम परिस्थितिले खेलकुद क्षेत्र पनि निकै आक्रान्त बनेको छ ।”


उनका अनुसार आम नागरिकलाई पनि प्रतिरोधात्मक शक्तिका लागि स्वास्थ्य सर्तकता अपनाएर घरमै व्यायाम गर्न सुझाव दिए । “घरमै बसेर पनि जो कोहीले व्यायाम गर्दा स्वास्थ्यका लागि लाभदायक नै हुन्छ”, “बीचको केही समय खेल गतिविधि सञ्चालनमा आए पनि दोस्रो लहर आएपछि पुनः स्थगन भए ।”

गत वर्ष पनि कोरोना शुरु हुँदा खेल क्षेत्र प्रभावित भएको बताउँदै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले दोस्रो लहरमा पनि केन्द्रको निर्देशनअनुरूप सम्पूर्ण खेल गतिविधि बन्द गरिएको जानकारी दिए । “अहिले स्वास्थ्य सतर्कता अपनाएर आफू सुरक्षित रहने बेला हो,खेल गतिविधि नहुँदा खेलाडीहरु प्रभावित हुनु स्वाभाविक हो,” उनले भने ।

त्यसैगरी यहाँस्थित कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले खेलाडीहरु अहिलेसम्म सङ्क्रमित हुनबाट जोगिएको बताए । “यस्तो बेला बाहिर निस्कन गाह्रो छ”, उनले भने “कबड्डीका खेलाडीहरु गाउँघरमै आन्तरिक व्यायाममा व्यस्त छन् ।”

कञ्चनपुरमा फुटबल, भलिबल, कराँते, कबड्डी, क्रिकेट, बक्सिङ, तेक्वान्दो, भारोत्तोलनलगायतका खेलको प्रशक्षिण हुने गर्छ । भारोत्तलनका राष्ट्रिय खेलाडी सुवास उपाध्यायले लकडाउनका कारण एक महिनादेखि प्रशिक्षण बन्द भएको बताउँछन् । “सामान्य व्यायामहरु घरमै भइरहेको छ”, उनले भने “नियमित प्रशिक्षण नहुँदा निकै तनाव हुन्छ ।”


कुस्ती खेलाडी सुरेश चुनारा पनि घरमा सामान्य प्रकारका खेल गतिविधि गरेर दैनिकी काटिरहेको बताए । “घरबाहिर गएर यस्तो बेला प्रशिक्षण गर्नु भएन”, कुस्तीका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी चुनाराले भने, “प्रशिक्षण नहुँदा खेल क्षेत्र नै पछि धकेलिने सम्भावना रहन्छ ।” नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसित आबद्ध रहेका छन् । गत वर्ष कोरोना शुरु भएयता प्रशिक्षणले राम्ररी उचाइ लिन नसकेको उनले सुनाए । रासस

प्रतिक्रिया