शुक्रबार, जेठ ४, २०८१

सरकारले चुनावको घोषणा गरेर असंवेदनशील बन्यो : चिकित्सक संघ

मेरोन्यूज २०७८ जेठ ९ गते ९:३७

काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड–१९ संक्रमणको समयमा सरकार असंवेदनशील बनेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गर्दै सरकारले कोरोनाकालमा चुनाव घोषणा गरेर असंवेदनशीलता प्रकट गरेको जनाएका हुन् ।
“कोभिड–१९ संक्रमणबाट जोगिने एक मात्र उपाय भनेको सामाजिक दूरी कायम गर्ने, सरकार आफैँले जारी गरेको जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ लागु गर्ने, नियमित रुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहनुपर्ने विद्यमान अवस्थामा सरकार स्वयंले चुनावको घोषणा गरेर अस्वाभाविक र असंवेदनशीलता प्रकट गरेकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति

कोभिड –१९ को संक्रमणका कारण धेरै नै संक्रामक तथा सिकिस्त बिरामी भईरहेको सम्बन्धमा नेपाल चिकित्सक संघले नेपाल सरकार तथा सरोकारवालाहरुलाई खबरदारी गर्ने काम निरन्तर गरिरहेको छ ।

यसपटकको जनस्वास्थ्यको रोकथाम तथा नियन्त्रण गर्ने विधिले मात्रै दोस्रो कहरको उचित व्यवस्थापन गर्न सकिदैन भनी संघले नेपाल सरकारसँग पटक–पटक आग्रह गर्दै अस्पतालहरुमा विभिन्न अवस्थाका बिरामीहरूको व्यवस्थापन गर्न, स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबल उच्च पार्नका निमित्त, तालिम, सुरक्षाका सामग्रीहरुको सहज उपलब्धता गराउन, भेन्टीलेटर सहितका आईसियूका बेडहरुलाई तयारी अवस्थामा राखी अक्सिजनको उचित व्यवस्थापन गर्न अनुरोध गरिएको थियो ।

र संघले गरेको आग्रहलाई बेवास्ता गरिएको एवं सरकारले सरोकारवाला निकायहरुसँग समन्वय गरी बिशेष रणनीति तर्जुमा गर्न नसकेका कारण आज हामी यो अवस्थालाई स्वीकार गर्न बाध्य भएका छौं । यस्तो संकटपूर्ण अवस्थामा दोस्रो लहरको रोकथाम र उपचारको साथै आउन सक्ने तेस्रो लहरको तयारी गर्नुको सट्टा नेपाल सरकार तथा सम्पूर्ण राजनीतिक दलहरु नागरिकहरुको जनस्वास्थ्यलाई भन्दा अस्वाभाविक राजनीतिक जोडघटाउमा लागि रहेका छन् । विश्वसामू नेपालको जनस्वास्थ्यको विद्यमान अवस्था र नेपाली नागरिकहरु दिनप्रतिदिन संक्रमित भई मृत्युवरण गर्न बाध्य भएको गम्भीर परिस्थितिप्रति नेतृत्वपंतिबाट नै अनभिज्ञता प्रकट गरिहेको जस्तो भूमिकाका कारण नेपालको ईज्जत र प्रतिष्ठाप्रति नै लज्जाबोध भईरहेको छ ।

कोभिड–१९ संक्रमणबाट जोगिने एकमात्र उपाय भनेको सामाजिक दुरी कायम गर्ने, सरकार आफैले जारी गरेको जनस्वास्थ्यको मापदण्डलाई कडाईका साथ लागू गर्ने, नियमित रुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहनु पर्ने विद्यमान अवस्थामा सरकार स्वयंले चुनावको घोषणा गरेर अस्वाभाविक र असंवेदनशिलता प्रकट गरेकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

कृपया ! नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गर्दै कोरोना भाईरसको संक्रमणलाई परास्त गर्नका लागि सबै तह र तप्काबाट निस्वार्थ रुपमा हातेमालो गर्नु पर्ने अवस्थाको आँकलन गरी नेपाल चिकित्सक संघले देशभर ‘RED-ALERT’ घोषणा गरिसकिएको छ । त्यसैले सम्र्पूण पेशाकर्मी दाजुभाई तथा दिदीबहिनीहरु सबैले आ आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गरेर यो संक्रमणलाई परास्त पार्नका लागि हामी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई साथ दिएर नागरिकहरुको जीवन रक्षा गर्न पुनः सम्बन्धित सबैमा जोडदार माग गर्दछौं । सर्व साधारण नागरिकहरुले यस बिषमपूर्ण परिस्थितिमा धैर्यता र संयमता अपनाउँदै स्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गरेर आ–आफ्नो स्थानमा सुरक्षित रहन समेत हामी हार्दिक अपिल गर्दछौं ।

डा. बद्री रिजाल डा. लोचन कार्की
महासचिव अध्यक्ष

प्रतिक्रिया