बिहीबार, वैशाख १३, २०८१

माधव नेपालसहित ११ जनामाथि कारबाहीकाे तयारी, साेधियाे स्पष्टीकरण

साेमबारसम्म स्पष्टीकरण पेश गर्न निर्देशन

मेरोन्यूज २०७८ जेठ ८ गते १९:००

काठमाडाैं । नेकपा (एमाले)ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जना नेतामाथि कारवाही गर्ने तयारी गरेकाे छ । उनीहरूलाई स्पष्टीकरण साेधिएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेकाे स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल , खनाल, भीमबहादुर रावललगायत ११ जनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेकाे हाे ।

नेपाल, खनाल र रावलबाहेक अन्य समानुपातिकतर्फका सांसद् छन् । समानुपातिक सांसद, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी, कल्याणी खड्कालाई स्पष्टीकरण साेधिएकाे हाे ।

उनीहरूलाई साेमबारसम्म स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे छ ।

प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन र आफ्नो सरकार गिराउन विपक्षीसँग गरिएको साँठगाँठबारे बैठकमा गम्भीरतापूर्वक छलफल भएकाे बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारिश गर्न एमाले नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए ।

“आफ्नो पार्टीका प्रधानमन्त्रीलाई हराएर त्यसका ठाउँमा कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर जाने कुरा अनुमान नै गर्न नसकिने थियो,” उनले भने, “देशभरि पार्टी एकताका लागि आवाज उठिरहेको छ । कार्यदलले काम गरिरहेको थियो तर फेरि आफ्नै प्रधानमन्त्रीविरुद्ध पार्टीका साथीहरुले हस्ताक्षर गर्नुभयो ।”

यसअघि पनि पार्टीका केही नेतासँग स्पष्टीकरण सोधिएको थियो । तीमध्ये नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई कारवाही गरिएकामा केही दिनअघि भएको स्थायी कमिटी बैठकले फुकुवा गरेको थियो ।

पार्टी कार्यदलले समस्या समाधान गरिरहेका अवस्थामा पार्टीकै नेताका कारण फेरि समस्या आएको उनको भनाइ थियो ।

गत वैशाख २७ गते संसदमा अनुपस्थित भएर केही साथीहरुले जुन गल्ती गर्नुभयो फेरि त्यो गर्नुहुन्न भन्ने प्रधानमन्त्रीलाई लागेको उनले बताए ।

प्रतिक्रिया