शुक्रबार, चैत १६, २०८०

बाटो छैन–पुल बन्यो, राष्ट्रिय योजनामा जनप्रतिनिधि तगारो !

दया दुदराज २०७८ जेठ ७ गते १८:३१

काठमाडौँ । धादिङको गल्छी गाउँपालिका १ स्थित फोस्रेटार र नुवाकोटको केउरेनी जोड्ने पुल निर्माणको ठेक्का सम्झौता भएको ७ वर्षपछि निर्माण सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न भए पनि बाटो बन्न सकेको छैन ।

विं.सं. २०७१ साल असार ३१ गते ठेक्का सम्झौता भएको पुल ७ वर्षपछि सम्पन्न भएको हो । १९२ मिटर लामो पुलको सम्झौता निर्माण अवधिभन्दा ढिला सम्पन्न भए पनि बाटो नहुँदा पुलको प्रयोग हुन सकेको छैन ।

त्रिशुली नदीमाथि बनेको अहिलेसम्मकै लामो पुलको निर्माणका लागि १५ करोड ११ लाख ३५ हजार ५६४ रुपैयाँ विनियोजन भएको थियो । उक्त पुलसँगै सडक सञ्चालमा आए गल्छीबाट धादिङ सदरमुकाम जाने बाटो करिब १० किलोमिटर छोटो हुने छ । साथै, नुवाकोटको तारुकालगायत विभिन्न क्षेत्रमा पुग्नका लागि छोटो बाटो हुने छ ।

केन्द्रीय आयोजना भएको उक्त पुल निमार्णमा जनप्रतिनिधि नै तगारो बनेको स्थानीयहरुले गुनासो गरेका छन् । जिल्लाको सबै समस्याहरु सुल्झाउने वा समस्या समाधान तथा विकासका काममा समन्यव गर्ने जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपालले आफ्नो स्वार्थका लागि बाटो निमार्णमा अवरोध गरेको स्थानीयबासीले बताएका छन् ।

स्थानीयले बाटो निमार्णका लागि सम्झौता गरेता पनि धादिङ जिल्लाको जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपालले आफ्नो मान्छेको जग्गा परेकाले भन्दै सडक निमार्णमा हस्तक्षेप गर्न स्थानीयलाई उचालेको पाइएको छ । अध्यक्ष नेपालको घर पनि उक्त क्षेत्रमा पर्ने भएकाले आफ्ना आफन्तको जग्गा जोगाउने खेलमा लागेकाले स्थानीयले दुःख पाएका हुन् ।

Advertisement

०७१ सालमा ठेक्का सम्झौता भई विं.सं. २०७४ असार ३० गतेसम्म बनाइसक्नु पर्ने हो । तर, निर्माण सम्पन्न अवधिभन्दा करिब ४ वर्ष ढिला गरी सम्पन्न भएको पुल सडक निर्माण हुन नसक्दा थप रोकिने भएको छ ।

खन्न बाँकी सडकको ५ मिटरभित्र एउटा टहरो पर्छ । त्यो टहरो भत्काउनु पर्ने हुँदा सडक निमार्णमा अवरोध भएको हो । त्यही टहरो भएका बासु खतिवडाले भने, ‘यहाँबाट बाटो लगियो भने हामी मारमा पर्छौं, अन्य विकल्प हुँदा पनि यहाँबाट नै बाटो लैजान खोजिएको छ, हामीलाई बासको सुनिश्चित गरेर मात्रै सडकको काम अगाडि बढाउन दिन्छाैँ ।’

पुल निर्माण भएता पनि सडकको बाँकी काम किन रोकिएको हो ? भन्ने प्रश्नमा जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथले यस विषयमा केही नबोल्ने बताए ।

यस्तै, पुल निमार्णका सहायक इञ्जिनियर कृष्ण बहादुर खड्काले नुवाकोटतर्फको ३०० मिटरको सडक कालोपत्रे भइसकेको बताए । उनका अनुसार धादिङतर्फ भने ५ मिटर सडक खने बाटो सञ्चालन हुने छ । उनले भने, ‘सडक निर्माणको काम करिब सकिएको छ, तर एउटा सामान्य टहरोका कारण विवाद भएको छ, यसले सडक सञ्चालनमा ढिलाई भइरहेको छ ।’

‘जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपालको घर पनि त्यही क्षेत्रमा पर्छ, उहाँ पनि समस्या समाधान गर्न पर्यो भनेर हामी कहाँ आउनु भएको थियो, तर उहाँ आफै समन्वय समितिका अध्यक्ष भएकाले उहाँले नै काम गर्नु हुन्छ भन्नेमा हामी विश्वस्त थियौँ,’ उनले मेरोन्युजसँग भने, ‘गल्छी गाउँपालिका, वडा कार्यालय र जिल्ला समन्वय समितिका अध्यक्षले यस्तो विवाद भएको बाटोलाई चासो नदिएकाले हामीले छिटो समस्या सल्टाउन पत्रचार गरेका छौँ ।’

केन्द्र सरकारको बजेटमा पुल र सडक निमार्ण भएकाले आफूहरूले केही गर्न नसक्ने गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले जानकारी दिए । ‘ठेक्का सम्झौताको समयमा नै मुअब्जा दिने व्यवस्था बनाएको भए यस्तो समस्या हुने थिएन, तर, गाउँपालिकाले यो समस्या सुल्झाउन काम गरिरहेको छ ।’

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया