बुधबार, वैशाख १२, २०८१

प्रधानमन्त्री नियुक्ति प्रक्रिया

संविधानविद् पूर्णमान शाक्यलाई ३ प्रश्न : अब के हुन्छ ?

राष्ट्रपतिले चाहे भने जसपा र एमालेका सांसदहरुलाई सनाखत गर भन्न सक्छन्, यसमा दलको होइन, सांसद व्यक्तिको समर्थन मुख्य हुन्छ

मेरोन्यूज २०७८ जेठ ७ गते १८:०४


संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री कसैले दाबी गर्दा त्यहाँ सांसदहरुको मान्यता दलको नेताले दाबी गरेको आधारमा हुन्छ की सांसद स्वंम व्यक्तिले समर्थन जनाएको आधारमा ? के आधारमा हुन्छ ?
संविधानको धारा ७६(५) अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्रवान गरिरहँदा कुनै पनि दललाई होइन, सांसद व्यक्तिलाई मान्यता हुन्छ । व्यक्ति सांसदले कसलाई समर्थन गरेको छ भन्ने आधारमा त्यसलाई मान्यता दिनुपर्ने हुन्छ ।

यो आधारमा दाबी प्रस्तुतु गर्नेमा के कानूनी रुपमा बलियो देखिनुहुन्छ ?
दलको नेताको हैसियतमा प्रधानमन्त्री दाबी गर्ने भनेको ७६(१) मा हो । ७६ (५) मा त्यसरी दाबी गर्न मिल्दैन । ७६(१) मा दलको नेताले भनेपछि सकियो । तर ७६(५) मा त्यस्तो हुँदैन । बहुमतको समर्थन राष्ट्रपति समक्ष पुष्टाई गर्नुपर्छ । पुष्टाई गर्ने भनेको व्यक्तिगत रुपमा म यो फलानो व्यक्तिलाई समर्थन गर्नुपर्छ भन्ने हो । पार्टीको ह्वीप यसमा हुने कुरा भएन । संसद्मा मात्र त्यो चल्छ । यसमा चल्दैन ।

राष्ट्रपतिले अब के गर्नुपर्ला ?
बहुमत जसको पक्षमा हुन्छ, राष्ट्रपतिले उसैलाई प्रधानमनत्री नियुक्त गर्नुपर्छ । दाबी गर्दैमा हुँदैन । सुन्नमा आए अनुसार शेरबहादुर देउवाले १४९ सांसदको नामसहित हस्ताक्षर बुझाएको भन्ने छ । अर्काेतिर प्रधानमन्त्रीले दलको नेताको रुपमा आफूले र जसपाको अध्यक्ष महन्थ ठाकुर र दल नेता भन्दै राजेन्द्र महतोको हस्ताक्षर गरेको भन्ने सुनेको छु । यो हो भने यसमा प्रधानमन्त्री दाबीमा शेरबहादुर देउवा बलियो देखिनुहुन्छ । प्रधानमन्त्री ओलीले तीन जनाको मात्र हस्ताक्षर गरेर त्यसरी दाबी गरेकै आधारमा संविधानको धारा ७६(५) अनुसारको सरकारको प्रधानमन्त्री पाउनुहुन्न ।

यही अवस्थामा राजेन्द्र महतो र महन्थको पार्टीका सांसदहरुले शेरबहादुर देउवाको मा पनि हस्ताक्षर गरेका होलान् । माधव नेपाल-झलनाथ खनाल समूहले पनि शेरबहादुर देउवाको मा हस्ताक्षर गरेका होलान् । त्यो अवस्थामा राष्ट्रपतिले चाहे भने जसपाको सांसदहरु र एमालेको सांसदहरुलाई सनाखत गर भन्न सक्छन् । उनीहरुले साच्चिकै शेरबहादुर देउवालाई समर्थन गरेको हो की होइन ? उसको लिष्टमा तपाईंहरुको नाम देखियो । तपाईंको नेताले एउटा दाबी गर्नुभएको छ, यसमा फेरि तपाईंहरुको पनि हस्ताक्षर देखियो । यो तपाईंहरुकै हस्ताक्षर हो की होइन भनेर सनाखत गर भन्न सक्छन् । उनीहरु आएर सनाखत गरिदिए भने खेल खत्तम ।

प्रतिक्रिया