शनिबार, वैशाख १५, २०८१

अघिअघि ओली, पछिपछि देउवा

प्रधानमन्त्रीमा ओली र देउवा दुवैको दावी

सरकार गठनका लागि आवश्यक सांसद संख्या १३६ छ । तर, ओलीको दावी छ : मसँग १५३ सांसद छन्, उस्तै दावी देउवाको पनि छ : मसँग १४९ सांसद छन्

मेरोन्यूज २०७८ जेठ ७ गते १६:४१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ बजेसम्म संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै प्रधानमन्त्री केपी ओली र विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा दुई जनाले प्रधानमन्त्रीमा आफ्नो दावी प्रस्तुत गरेका छन् ।

ओली र विपक्षी गठबन्धन पालैपालो राष्ट्रपति निवास शितल निवास पुगेका थिए । आफ्नो दाबी प्रस्तुत गरेर प्रधानमन्त्री ओली बालुवाटार फर्किसकेका छन् भने विपक्षी गठबन्धनका नेताहरू अहिले पनि शितल निवासमै छन् ।

ओलीले १५३ सांसदको आफूलाई साथ रहेको जिकिरसहित दाबी प्रस्तुत गरेका छन् । कांग्रेस-माओवादी लगायत विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित ।

नयाँ सरकारमा बहुमतका लागि १३६ सांसद भए पुग्छ । कुल २७१ मा १३६ जसको हुन्छ उसैले प्रधानमन्त्रीमा दाबी गर्न पाउनेछ । तर, ओली र देउवा दुवैले आ–आफ्नो हिसाबमा संख्या प्रस्तुत गदै दाबी पेश गरेपछि कसलाई प्रधानमन्त्री नियुक्त गर्ने भन्नेमा फेरि विवाद आउने देखिएको छ ।

ओलीले सिंगो एमालेको १२१ र जनता समाजवादीको पनि सिंगो ३२ सांसदसहित १५३ सांसदको दाबीसहित आफूलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकाहा दाबी पेश गरेका हुन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने, ‘नेकपा (एमाले) का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दाबी गर्नु भएको छ।’

उता देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, राष्ट्रिय जनमोर्चाका १, जसपाका १२ र माधव नेपाल समूहका २६ गरी कुल १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

दुवैतर्फ एमाले र जसपाका सांसदहरुको हस्ताक्षर प्रयोग भएको छ । ओलीले विपक्षी गठबन्धनमा लागेर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति निवास नै पुगेका माधव नेपालसम्मका नेता आफ्नोमा रहेको जिकिरसहित आफनो दाबी प्रस्तुत गरेका छन् । ओलीले नेपाल समूहमा रहेका सबै सांसद आफैसँग रहेको जिकिरसहित पेश गरेका छन् । त्यस्तै जनता समाजवादीका पनि उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसम्मको समर्थन पनि आफूलाई भएको ओलीले पेश गरेकोमा उल्लेख छ ।

तर, उपेन्द्र र बाबुरामसहित जसपाका १२ सांसदको हसताक्षर देउवाको दाबीमा पनि छ । उपेन्द्र यादव र महेन्द्र राय यादव देउवासँगै राष्ट्रपति निवास पुगेका छन् ।

उता देउवाको प्रधानमन्त्री बनाउने हसताक्षरमा नेपाल पक्षका योगेश भट्टराईले हस्ताक्षर गर्न नमानेपछि उनको नाम मेटिएको छ । सुरेन्द्र पाण्डे जयकुमार राई, गोकर्ण विष्टले देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले हस्ताक्षर नगरेको बताएका छन् । उनीहरुले पहिले नै गरेको हस्ताक्षर दुरुपयोग भएको हुन सक्ने जिकिर गरेका छन् ।

यसले एमाले र जनता समाजवादी पार्टीमा प्रष्ट विभाजन ल्याइदिएको छ । एमाले र जसपाका सांसदहरु दुवैतर्फ तानातानमा परेका छन् ।

अब राष्ट्रपतिले कसलाई प्रधानमन्त्री नियुक्त गर्छिन् ? या यो विवादको निरुपण कसरी लगाउँछिन सबैको चासो त्यता बढेको छ ।

प्रतिक्रिया