शनिबार, वैशाख ८, २०८१

देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षको साथ

मेरोन्यूज २०७८ जेठ ७ गते १५:४७

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले साथ दिने भएको छ । आजै प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन आह्वान गर्दै गर्दा विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन कसरत गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका गर्न २१ घण्टेको समयावधि दिँदै आह्वान गरेपछि विपक्षी गठबन्धन छलफलमा जुटेका हो । नेपाली कांग्रेस सभापति देउवाको निवासमा बिहान भएको छलफलमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का नेताहरूसहित एमाले पक्षका नेपाल समूहसमेत सहभागी भएका थिए ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई समूह र एमालेको माधव नेपाल समूहका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेका हुन् ।

माधव समूहका २७ जना सांसदले हस्ताक्षर गरेको कांग्रेस नेता गगन थापाले जानकारी दिए । जसमा एमालेका नेपाल पक्षबाट रामकुमारी झाँक्रीले हस्ताक्षर संकलन गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया