बिहीबार, वैशाख १३, २०८१

सिंहदरबारमा विपक्षी गठबन्धनको बैठक

देउवाको नेतृत्वमा बहुमत सरकारको दावीसहित शितल निवास जाने

१४९ सांसदको हस्ताक्षर लिएर विपक्षीहरु शितल निवास जाने तयारीमा, सिंहदरबारमा हस्ताक्षर जारी

मेरोन्यूज २०७८ जेठ ७ गते १५:२९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझ ५ बजेसम्म संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका गर्न आह्वान गरेपछि विपक्षी गठबन्धन सिंहदरबारमा छलफलमा जुटेका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बिहान छलफल गरेका विपक्षी दलले अहिले सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा छलफल गरिरहेका हुन् ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीकै दलका वरिष्ठ नेता माधव नेपालसमेत सहभागी छन् ।

कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्षका अतिरिक्त नेपाल पनि सहभागी बैठकपछि विपक्षीका तर्फबाट विकल्पसहित वैकल्पिक सरकारको दाबी गरेर शितल निवास जाने तयारी भएको छ । कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर शितल निवास जाने गरी उनीहरु छलफलमा जुटेका हुन् ।

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार, जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायत उपस्थित छन् ।

त्यहाँ देउवाको नेतृत्वमा सरकार बनाउन सांसदहरूको हस्ताक्षरसमेत लिइएको छ । १४९ सांसदको हस्ताक्षर लिएर विपक्षीहरू शितल निवास जान लागेका हुन् ।

प्रतिक्रिया