बुधबार, वैशाख १२, २०८१

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध

मेरोन्यूज २०७८ जेठ ६ गते १७:१६

गाजा सिटी । इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भिषण हवाई हमला शुरु गरेको छ । आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन् । गाजाका विद्रोही हमास समूह विरुद्धको प्रत्याक्रमण रोक्न अमेरिकी दबाबलाई बेवास्ता गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सैनिक कारबाहीलाई निरन्तरता दिएका छन् । पछिल्लो युद्ध शुरु भएयता गाजामा सरकार चलाइरहेको हमासका लडाकूले इजरायलमाथि हजारौं क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।

बिहीबार सबेरै गाजा शहरलाई बिस्फोटनका आवाजले हल्लाइदिएको थियो भने आकाशमा आगोका लप्का माथिसम्म देखिएका थिए । इजरायली आक्रमणहरु मध्य शहर डायर अल–बलाह र दक्षिणतर्फको खान युनिस शहरमा पनि भएका थिए ।

बिहान हेर्दा खान युनिस शहरका पाँच स्थानीयवासीका घर बम आक्रमणबाट ध्वस्त भएका पाइएका थिए । गाजा शहरको व्यापारिक केन्द्रका रुपमा रहेको अल–सफ्तावी स्ट्रिटमा पनि भिषण आक्रमण भएको थियो ।

इजरायली सेनाले हमासका कमान्डरका कम्तीमा चार वटा घर ध्वस्त पारिएको जनाएको छ । खान युनिसमा खवाल्डी परिवारको दुई तले भवन क्षतिग्रस्त भएको छ । डरका कारण आफ्नो घर छाडेर ११ सदस्यीय खवाल्डी परिवार नजिकैको अर्को घरमा बस्न थालेको थियो । तर आक्रमणबाट उनीहरु पनि घाइते भएका र अस्पताल भर्ना गरिएको छिमेकी शाकेर अल–खोजोनदारले बताए ।

हालको सैनिक कारबाहीबाट सयौं व्यक्तिको ज्यान गइसकेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कारबाही रोक्न इजरायली प्रधानमन्त्री नेतन्याहूलाई आग्रह गर्दा पनि उनले इजरायली प्रधानमन्त्रीले बेवास्ता गरेका छन् । गत साता लडाईं शुरु भएयता दुई मुलुकबीचको तिक्तता पहिलोपटक सतहमा देखा परेको छ ।
नेतन्याहूले आफ्ना नागरिकको सुरक्षाको प्रत्याभूति हुने अवस्था सिर्जना नहुँदासम्म सैनिक कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थियो ।

अमेरिकी राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नेतन्याहूलाई फोन गरी युद्धबिराम गर्ने गरी आफ्ना आक्रामक कारबाही स्थगन गर्न आग्रह गर्नु भएको थियो ।

इजिप्टका मध्यस्थकर्ताले पनि युद्ध रोक्नेतर्फ कार्य गरिरहेका छन् । उनीहरुले इजरायलको जवाफको प्रतिक्षा गरिरहेको बताएका छन् ।

हमासका एक जना वरिष्ट अधिकारी मौसा अबु मार्जोकले लेबनानी टेलिभिजनसँग कुरा गर्दै एक दुईदिन भित्रै युद्धबिराम हुने अपेक्षा गरिएको बताए ।
इजरायलको विदेश मन्त्रालयले इजरायलको कारबाहीप्रति समर्थन जनाउन स्लोभाकिया र चेक गणतन्त्रका विदेश मन्त्रीहरुले इजरायल भ्रमण गर्न लागेको जनाएको छ ।

इजरायल र हमासबीचको पछिल्लो युद्ध गत मे १० तारिखदेखि शुरु भएको हो । पूर्वी जेरुसेलमस्थित अल अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच निकै दिनदेखि जारी भिडन्त पश्चात हमास लडाकूले जेरुसेलमलाई लक्षित गरी लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले हमास विरुद्ध कारबाही थालेको थियो ।

अल अक्सा मस्जिद परिसरमा प्रहरीको दमनका साथै यहूदीहरुले दर्जनौं प्यालेस्टिनी परिवारलाई विस्थापित गर्न खोजेपछि परिस्थिति अझ जटिल बनेको थियो ।

त्यसयता, इजरायलले सयौं हवाई हमला गरिसकेको छ । इजरायलको भनाईमा यी आक्रमणहरु हमासका सबै किसिमका पूर्वाधार ध्वस्त बनाउन केन्द्रित रहेको छ । हमासले पनि चार हजारभन्दा बढी क्षेप्यास्त्रहरु इजरायलतर्फ प्रहार गरेको जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट कम्तीमा २२७ जनाको मृत्यु भएको छ जसमा ६४ जना बालबालिका र ३८ जना महिला छन् । आक्रमणबाट एक हजार ६२० जनाभन्दा बढी घाइते भएका छन् । हमास र इस्लामिक जिहादले आफ्ना कम्तीमा २० जना लडाकू मारिएको जनाएका छन् तर इजरायलले १३० जना हमास लडाकू मारिएको दाबी गरेको छ ।

इजरायली आक्रमणको त्रासका कारण झण्डै ५८ हजार प्यालेस्टिनी बिस्थापित भएका छन् ।

इजरायलतर्फ पाँच वर्षका एक बालक सहित १२ जनाको मृत्यु भएको छ ।

इजरायली आक्रमणबाट कम्तमिा १८ वटा अस्पताल र क्लिनिकमा क्षति पुगेको छ भने एउटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सन् २०१४ यताको सबैभन्दा डरलाग्दो हमला मानिएको यस पटकको युद्धलाई लिएर विश्वका विभिन्न स्थानमा इजरायल विरुद्ध प्रदर्शनहरु भएका छन् ।
––

प्रतिक्रिया