बिहीबार, वैशाख ६, २०८१

माओवादी केन्द्र कपिलवस्तुका नेतामाथि गोली प्रहार

मेरोन्यूज २०७८ जेठ ६ गते ९:५१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ ।

बुधबार राति मोटरसाईकलमा सवार पाण्डे र भारतीय नागरिक ईयाज अख्तार मुसलमानमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ ।

तौलिहवा जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । गोली किन र कसले हान्यो भन्ने अझै खुल्न सकेको छैन ।

प्रहरीका अनुसार नेता पाण्डेको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुई वटा गोली लागेको र पाण्डेसँगै मोटरसाइकलमा सवार मुलसमानको पाखुरामा गोली लागेको छ ।

तौलिहवातर्फ जाँदै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोकेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका उनीहरुको कपिलवस्तुमा उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया