बुधबार, वैशाख १२, २०८१

बढ्दैछ कोरोनाबाट हुने मृत्युको ग्राफ

हरेक साढे ५ मिनेटमा १ संक्रमितले ज्यान गुमाउँदै

२१ दिनमा २ हजार ४४६ जनाले ज्यान गुमाए

सञ्जिता खनाल २०७८ जेठ ५ गते २२:५१

काठमाडौं । हरेक साढे ५ मिनेटमा एक जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाउने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्याले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । जुन अहिलेसम्मकै उच्च हो ।

कोरोनाबाट बुधबारसम्ममा ५ हजार ६५७ जनाले ज्यान गुमाएका छन् । नेपालमा कुल संक्रमित मध्ये १.१८ प्रतिशतले ज्यान गुमाएका छन् । भारतमा मृत्युदर १ दशमलव १ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारी संक्रमण दर बढेसँगै मृत्युदर पनि बढ्ने बताउँछन् ।

बुधबार देशभरी २१ हजार १३९ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ६४ अर्थात ३८.१५ प्रतिशतमा कोरोना पुष्टि भएको छ । ७०५ एन्टिजेन परीक्षण गर्दा १५.४ प्रतिशत अर्थात १०९ जनामा संक्रमण देखिएको छ । सोही अवधिमा ७ हजार ९८९ जना कोरोनामुक्त भएका छन् ।

इपिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् इपिडिमियोलोजिष्ट डा वासुदेव पाण्डे भन्छन्, ‘कोरोना संक्रमण अबको दुई साता यही अवस्थामा रहनेछ ।’

उनका अनुसार अहिले कोरोना पिकमा पुगेको छ । त्यस कारण अबको दुई साता संक्रमित संख्या पनि यही गतिमा रहन्छ भने मृत्युदरमा उतारचढाव आउन सक्छ । यसपछि विस्तारै घट्ने उनको ठम्याइ छ । अहिले देशैभर कोरोनाको सक्रिय संक्रमित १ लाख १४ हजार ३५८ छन् ।

२१ दिनमा २ हजार ४४६ को ज्यान गयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको तथ्यांकअनुसार पछिल्लो २१ दिनमा कोरोना संक्रमणबाट दुई हजार ४४६ जनाले ज्यान गुमाएका छन् । गत वैशाख १६ देखि यही जेठ ५ गतेको अवधिमा दुई हजार ४४६ जनाले ज्यान गुमाएका हुन् । वैशाख १५ गतेसम्म कोरोना संक्रमणबाट तीन हजार २११ जनाले ज्यान गुमाएका थिए ।

वैशाख १६ गते ३५, १७ गते ३३, १८ गते १९, १९ गते २७, २० गते ३७, २१ गते ५५, २२ गते ५८, २३ गते ५४, २४ गते ५०, २५ गते ५३, २६ गते ८८ र २७ गते १३९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

२८ गते २२५, २९ १६८, ३० गते २१४ र ३१ गते २०३ जनाले कोरोनाकै कारण ज्यान गुमाएको मन्त्रालयको तथ्यांकले देखाउँछ । यसैगरी जेठ १ गते १८७, २ गते १४५, ३ गते २१४, ४ गते १९६ र जेठ ५ गते २४६ संक्रमितको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

कोरोना संक्रमण तीव्ररुपमा फैलिएका जिल्लामा संक्रमण रोकथाम र नियन्त्रणका निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा लगाइएको तीन साता कटेपनि अझै संक्रमण दरमा उल्लेख्य कमी आउन सकेको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीका अनुसार कोरोनाका बिरामी जटिल अवस्थामा मात्रै अस्पताल पुग्ने र उचित उपचार नपाउँदा ज्यान जाने गरेको छ ।

त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा सन्तकुमार दास अक्सिजनको लेबल ८० भन्दा कम भएपछि मात्र अस्पताल आउने गरेको हुँदा संक्रमितलाई बचाउन नसकिएको अनुभव सुनाउँछन् । उनी भन्छन्, ‘संक्रमित भएर घरमै बस्ने र थलिएर मात्रै अस्पतालमा जाने हुँदा समस्या भएको छ ।’

मन्त्रालयका अनुसार ९० प्रतिशत संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् । उनीहरुले उचित स्वास्थ्य सावधानी र उचित उपचार पाउन सकेका छैनन् । श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल दौडदा गम्भीर अवस्थाका ती बिरामीले अक्सिजन र बेड पाउन नसक्दा मृत्युदर निरन्तर उकालो लागिरहेको छ ।

किष्ट अस्पतालका कोभिड फोकल पर्सन डा सुरज वैद्य अक्सिजन अभाव हुँदा संक्रमितलाई उपचार नगरी फर्काउनुपरेको गुनासो गर्छन् । उनी भन्छन्, ‘अक्सिजन नहुँदा नयाँ बिरामी भर्ना लिन सकिएको छैन्, गम्भीर अवस्थाका संक्रमितले समयमै उपचार नपाउँदा मृत्युदर बढिरहेको छ ।’

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया