मंगलबार, वैशाख ११, २०८१

हप्तामा ५५ घण्टाभन्दा बढी काम नगर : स्वास्थ्य र श्रम संगठन

मेरोन्यूज २०७८ जेठ ५ गते १६:०९

काठमाडौँ । दैनिकी काम गरिखाने मजदुरदेखि सम्पूर्ण व्यक्तिले हप्ताको ५५ घण्टाभन्दा बढी काम नगर्न विश्व स्वास्थ्य र अन्तर्राष्ट्रिय श्रम संगठनले सुझाव दिएका छन् ।

स्वास्थ्य संगठनले श्रम संगठनसँग संयुक्त रुपमा गरेको अध्ययनानुसार लामो समय काम गर्दा मृत्यु हुनेको संख्यामा वृद्धि भएकाले दैनिक ७ घण्टामात्र काम गर्ने, तर नसके बढीमा हप्ताको ५५ मात्र काम गर्नु पर्ने प्रतिवेदन सार्वजनिक भएको हो ।

बुधबार सार्वजनिक गरेको अध्ययन निष्कर्षअनुसार सन् २०१६ मा हप्ताको ५५ घण्टाभन्दा बढी काम गर्नेमध्ये ७ लाख ४५ हजारको मृत्यु भएको छ । स्वास्थ्य र श्रम संगठनले दिएको जानकारीअनुसार सन् २००० मा मृत्यु हुनेको संख्या ५ लाख ९० हजार रहेको थियो ।

यस्तै, सन् २०१६ मा ३ लाख ९० हजार विभिन्न रोग र ३ लाख ४७ हजार मुटुको समस्या कारण ज्यान गएको अध्ययनमा उल्लेख छ ।

मृत्युको मुख्य कारण मानसिक तथा शारीरिक तनावसँगै अस्वास्थ्य आहार, कम निन्द्रा र कम शारीरिक गतिविधिसँगै महत्वकांक्षा बढी भएकाले पनि मृत्युदरमा असर परेको हो । जसमा काम बढी मनोरञ्जन र घुमघाम कम भएकाले समस्या देखिएको अध्ययनले देखाएको छ ।

त्यसैले प्रति हप्ता बढीमा ५५ घण्टा निर्धारण नभए मृत्यु दरको उच्च जोखिम हुने देखाएको छ । मृत्यु हुनेमा जे रोग लागे पनि मुटुमा परेको असर प्रमुख कारण रहेको अध्ययनमा उल्लेख छ ।

विश्वव्यापी जनसंख्याको ९ प्रतिशत मानिसले लामो समय काम गर्ने गर्छन् । सन् २०१६ मा ८८ करोड ८० लाख मानिसहरूले प्रतिहप्ता ५५ घण्टाले लामो समय काम गरेकाले हृदय रोगको समस्यामा परेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विश्वभर आर्थिक मन्दीले पारेको असरले जिविको उपार्जन गर्न बढी काम गर्न बाध्य पारेको हो । जसका कारण कोभिडले मृत्यु हुनेसँगै लामो समय तनावमा काम गर्ने बाध्यताले मृत्युको बाटो रोज्नु पर्ने देखिन्छ ।

सन् २०१६ भन्दा अघि सन् २००० र सन् २०१० मा गरेको अनुसन्धानमा पनि बढी काम गर्दा देखिने समस्याका कारण मृत्यु भएको देखाएको थियो । कोभिडले पारेको समस्यामा बढी मानिसहरू ५५ घण्टाभन्दा बढी काम गरेको देखिएको छ । आगामी दिनमा ४२ प्रतिशत मुटु रोग र १९ प्रतिशत अन्य रोगबाट मानिसको मृत्यु हुने अनुसन्धानबाट खुलेको छ ।

प्रतिवेदनमा देखिएको तथ्यांक सत्य रहेको जानकारी दिँदै विश्व स्वास्थ्य संगठनका निर्देशक मारिया निराले भनिन्, “यो समय आयो कि, हामी सबै देशका सरकार, नियोग र कामदारहरूले थाहा पाउनुका साथै लागु गर्न जरुरी छ, कि लामो समयसम्म काम गर्दा अकालमा मृत्यु हुन्छ । सचेत रहौँ, स्वच्छ रहौँ ।”

विस्तृतमा यो पनि पढ्नुहोस्

Long working hours increasing deaths from heart disease and stroke: WHO, ILO

प्रतिक्रिया