बिहीबार, वैशाख १३, २०८१

कोरोना संक्रमितलाई दिने रेम्डेसिभिरको मूल्यमा विवाद, औषधि बिक्री गर्न अवरोध

मेरोन्यूज २०७८ जेठ ५ गते १४:४३

काठमाडौँ । दाङमा केही दिनदेखि कोरोना भाइरस संक्रमितलाई दिइने रेम्डेसिभिर औषधि बिक्रीको विषयमा विवाद भएको छ । निजी क्षेत्रबाट थोक औषधि व्यवसायी संघको मातहतमा रही रेम्डेसिभिर बिक्री गर्न थालिएको थियो ।

औषधि व्यवस्था विभाग नेपालगञ्जमा पुगेपछि त्यहाँबाट आएको टोलीले घोराहीस्थित कालिका मेडिकल हलमा छापा हान्यो र रेम्डेसिभिर बिक्री वितरण गरेको पाइएपछि रोक लगाएको हो । निजीस्तरबाट घोराहीमा कालिका मेडिकल हलले रेम्डेसिभिर बिक्री वितरण गर्दै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि’ प्रदान गर्ने भनी गरेको परिपत्रलाई आधार बनाएर औषधि व्यवस्था विभागले निजी मेडिकललाई रेम्डेसिभिर बिक्रीमा रोक लगाएको हो ।

जिल्लामा सरकारी स्तरबाट तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल, घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा निजीस्तरबाट तुलसीपुरको राप्ती लाइफ केयर हस्पिटलले रेम्डेसिभिर बिक्री गर्दै आएका थिए भने थोक औषधि व्यवसायी संघले कालिका मेडिकलमार्फत बिक्री गर्दै आएको थियो । तर कालिका मेडिकललाई रोक लगाएपछि विवाद सिर्जना भएको हो ।

अहिले प्रादेशिक अस्पतालले ४ हजार ९ सयमा बिक्री गर्दै आएको छ । जुन सरकारले तोकेको मूल्य हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने त्यही औषधिलाई ४ हजार ७५० मा बिक्री गर्दै आएको छ । औषधि व्यवसायी संघले भने ४ हजार ८ सयमा वितरण गर्दै आएको थियो ।

उक्त औषधि काठमाडौँबाट ल्याउनुपर्ने संघका लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्यले बताए । सकेसम्म कोरोना संक्रमित भएकै अस्पतालबाट वितरण गर्दा सहज हुन्छ भनी सरकारले दिएको निर्देशनअनुसार आफूहरुले काम गरेको नेपाल फार्मेसी संघ दाङका अध्यक्ष सुलभ अधिकारीले बताए ।

यसैबीच मंगलबार माओवादी केन्द्र, नेपाली कांग्रेस, जनमोर्चालगायत राजनीतिक दलहरूले दाङका प्रजिअमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया