बिहीबार, चैत १५, २०८०

बागमतीमा राष्ट्रिय सभा निर्वाचन

डा. देवकोटालाई मतदान गर्न कांग्रेसकोे ‘एसएमएस’ ह्वीप

प्रदेश सांसदलाई प्रदेश सभा प्रमुख समेतक र स्थानीय तहका जनप्रतिनिधिलाई केन्द्रीय कार्यालयबाट एसएमएस ह्वीप जारी

मेरोन्यूज २०७८ जेठ ५ गते १०:५४

काठमाडौं / राष्ट्रिय सभाको बागमती प्रदेशको अन्य तर्फको रिक्त एक सिटका लागि बिहीबार हुन लागेको निर्वाचनमा प्रतिपक्षी दल दल नेपाली कांग्रेसले डा. खिमलाल देवकोटालाई मतदान गर्ने भएको छ । पार्टीका जनप्रतिनिधिलाई कांग्रेसले ‘एसएमएस ह्वीप’ लगाएर डा. देवकोटालाई मतदान गर्न निर्देशन गरेको हो ।


प्रदेश सभा सदस्यलाई पार्टीका बागमती प्रदेश सभामा संसदीय दलका नेता इन्द्र बानियाँले र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी केन्द्रीय कार्यालयले व्यक्तिगत रूपमै टेलिफोनमा म्यासेज वा फोन गरेर डा. देवकोटालाई मत दिन निर्देशन दिन सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।


कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले गठबन्धनका बाहेकका उम्मेदवारलाई मतदान गरे कारबाही गर्ने चेतावनीसहित निर्देशन दिन सभापतिले आफूलाई भनेको जानकारी दिए ।


‘सभापतिज्यूबाट प्रदेश सभा सदस्यलाई प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँमार्फत र स्थानीय तहका जनप्रतिनिधिलाई केन्द्रीय कार्यालयबाट व्यक्तिगत रूपमा ह्वीप हो भन्दै गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटालाई मतदान गर्न निदेशन दिन आदेश भएको छ,’ मुख्य सचिव पौडेलले भने, ‘केन्द्रीय कार्यालयले स्थानीय तहका पार्टीका जनप्रतिनिधिलाई आजै निर्देशन दिन्छ । प्रदेश सभा दलका नेतालाई सभापतिबाट निर्देशन भइसकेको छ ।’


बागमती प्रदेशसभामा कांग्रेस दलका नेता इन्द्र बानियाँले दलकी प्रमुख सचेतक राधा घलेलाई पार्टीका सांसदलाई ह्वीप लगाउन निर्देशन दिइसकेका छन् । प्रमुख समेतक घलेले आफूले एसएमएसमार्फत निर्देशन दिने तयारीमा रहेको बताइन् । ‘पार्टीबाट गठबन्धनका उम्मेदवारलाई मतदानल गर्न ह्वीपबारे जानकारी गराउन निर्देशन आएको छ । मैले दिउँसोसम्म एसएमएसमार्फत ह्वीपबारे जानकारी गराउँछु,’ घलेले भनिन् ।

Advertisement

बागमतीमा कांग्रेसका महानगर÷नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी ६७ जनप्रतिनिधि छन् । प्रदेशसभाका २२ सदस्य छन् ।
निर्वाचनमा गृहमन्त्री रामबहादुर थापाका सत्तारुढ एमालेबाट र डा. खिमलाल देवकोटा माओवादी र कांग्रेसको समर्थनमा उम्मेदवार बनेका छन् ।
बागमती प्रदेश सभाकी प्रमुख सचेतक घलेले लुम्बिनी र बागमतीमा गठबन्धन गरिएकाले आफूहरू प्रतिबद्ध भएर गठबन्धनका उम्मेदवारलाई मत दिन व्यक्तिगत ह्वीप गर्ने र कार्यान्वयन नभए कारबाही गर्ने बताइन् ।

निर्वाचनका लागि एमाले र माओवादी केन्द्रले पनि आफ्ना जनप्रतिनिधीलाई पार्टी ह्वीप लगाएको छ । एमाले महासचिव इश्वर पोखरेलले पार्टीका जनप्रतिनिधीलाई सर्कुलर जारी गरेर पार्टीका उम्मेदवारलाई मतदान गर्न ह्वीप लगाएका हुन् ।


‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रामबहादुर थापा भएको जानकारी गराईन्छ,’ सर्कुलरमा भनिएको छ, ‘ पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९.०० बजे देखि १५.०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’

माओवादी केन्द्रले पनि जनप्रतिनिधीलाई ह्वीप लगाउँदै आफना जनप्रतिनधीलाई डा खिमलाल लाई मतदान गर्न भनेको छ । माओवादीको बाग्मति प्रदेश कमिटिले त्यस्तो ह्वीप लगाएको थियो । माओवादीको बाग्मति प्रदेश सहइन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायाण दाहाल र प्रदेश सभा दलको नेता शाकिलराम जम्मकटटेलले संयुक्त रुपमा जनप्रतिनिधीलाई ह्वीप लगाएका हुन् ।

प्रतिक्रिया