शुक्रबार, वैशाख ७, २०८१

कता हराए आइसियू र भेन्टिलेटर

स्वास्थ्य मन्त्रालय भन्छ,– आइसीयू र भेन्टिलेटर खाली, अस्पताल भन्छन्,– छैन

वेडकाे खाेजीमा आउने फाेनले काेभिड फाेकल पर्सन हैरान

सञ्जिता खनाल २०७८ जेठ ४ गते २१:५२

कठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमा आइसोलेसन, आइसीयू र भेन्टिलेटर गरी ५२२ बेड खाली रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याकङ्ले देखाउँछ ।

तर बेड खाली भएका भनिएका अस्पतालमा मेरोन्यूज टिमले फोन गर्दा सम्बन्धित अस्पतालबाट जवाफ आउँछ,– बेड खाली छैन ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याकंमा निजामती अस्पतालमा ७० आइसोलेसन रहेकामा १२ वटा खाली, २४ आइसीयूमा ११ र ३ वटा भेन्टिलेटर खाली रहेको देखिन्छ ।

अस्पतालका कोभिड फोर्कल पर्सन डा सुमनबाबु मरहट्टालाई यसबारेमा जिज्ञाशा राख्दा उनले अहिले अस्पतालका सबै बेड भरिएर २४ बिरामी पालो कुरेर बसेको बताए । उनले भने, ‘हामीले नयाँ डाटा स्वास्थ्य मन्त्रालयमा पठाएका थियौं तर हिजोको डाटा नसच्याइ आज नि त्यही राखेछ, जसले गर्दा बिरामीलाई झुकाएको जस्तो भयो ।”

बिरामीका आफन्तले बेड खाली रहेछ भन्दै फोन गर्ने गरेका भएपनि बेड खाली छैन भनेर भन्दा झुकाएको जस्तो हुने उनले गुनासो गरे । ‘बेड खाली भएको भए २४ जना बिरामीलाई किन पालो कुराउनुपर्थ्याे ?’, उनले प्रतिप्रश्न गरे ।

यसैगरी हामीले पाटन अस्पतालमा फोन गर्यौैं । पाटन अस्पतालका कोभिड फोर्कल पर्सन डा आशिष श्रेष्ठले बेड खाली नरहेको जवाफ दिए । उनले भने, ‘अहिले आइसीयूका लागि ३ संक्रमित पालोमा रहेका छन्, अन्य बेड पनि भरिएका छन् ।’

यता मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पाटन अस्पतालमा आइसोलेसन ६४ वटा, आइसीयू ६ वटा र भेन्टिलेटर ४ वटा खाली रहेको देखिन्छ । पाटनमा १६१ वटा आइसोलेसनमध्ये ९७ संक्रमित उपचाररत छन् । २६ आइसीयूमा २० जना र १७ भेन्टिलेटरमा १३ संक्रमित उपचाररत रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

किष्ट अस्पतालले पनि संक्रमितले बेड भरिएको जनाएको छ । तर मन्त्रालयले ६० वेडमध्ये २४ आइसोलेसन र ४ वटा भेन्टिलेटर गरी २८ वेड खाली रहेको जनाएको छ । अस्पतालका फोर्कल पर्सन डा सुरज वैद्यले अहिले अस्पतालमा बेड खाली नरहेको बताउँछन् ।

अस्पतालले अक्सिजन अभाव हुँदा थप बिरामी पनि भर्ना नलिएको उनले बताए । किष्टको आइसीयू र भेन्टिलेटरमा ३० संक्रमित उपचाररत छन् ।

स्राेत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नेपाल मेडीसिटी अस्पतालमा पनि सबै बेड भरिएको छ । तर मन्त्रालयको तथ्यांकले भने मेडिसिटीमा २४ भेन्टिलेटर खाली रहेको देखाउँछ । मन्त्रालयका अनुसार उपत्यकामा सरकारी र निजी अस्पतालमा कोरोना संक्रमितका लागि २ हजार २८६ बेड छुट्याएको छ ।

जसमध्ये हाल १ हजार ८८५ जना मात्रै बिरामी आइसोलेसनमा छन् । अझै उपत्यकाका अस्पतालमा ४०१ वटा आइसोलेसन बेड खाली छन् । भेन्टिलेटर भनेको आइसियू बाहेक हुँदैन । तर मन्त्रालयले भेन्टिलेटर र आइसियूलाई छुट्टाछुट्टै देखाएको छ।

उपत्यकाका अस्पतालमा कुल ४४२ वटा आइसीयू बेड रहेकामा जम्मा ३९१ संक्रमित आईसीयूमा छन् । मन्त्रालयका अनुसार ५१ वटा आइसीयू बेड खाली छ । उपत्यकामा रहेको २१२ भेन्टिलेटरमध्ये हाल १४७ वटामा मात्रै संक्रमितको उपचार भइरहेको छ । अझै ६५ वटा भेन्टिलेटर खाली रहेको मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।

बेड खाली भएको मन्त्रालयको तथ्यांक देखेर पटकपटक बिरामीका आफ्न्तले फोन गर्ने गरेको भए पनि बेड छैन भन्नुपर्दा झुक्याएको जस्तो हुने भन्दै कोभिड अस्पातालका फोकल पर्सनको गुनासो छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया