शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रिय सभाको उपनिर्वाचन

वाग्मतीमा गठबन्धनका मतदाता अन्योलमा

माधव नेपाल पक्ष पनि बादलकै पक्षमा

हरि भट्ट २०७८ जेठ ४ गते १८:३१

काठमाडौं । राष्ट्रिय सभाको वाग्मती प्रदेशतर्फको उपनिर्वाचनमा कसलाई मत दिने भन्नेमा विपक्षी गठबन्धनभित्रै अन्याेलता सिर्जना भएको छ । नेकपा (एमाले) बाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनबाट समेत एमाले धारकै डा खिमलाल देवकोटा उम्मेदवार रहेका कारण विपक्षी गठबन्धनका मतदातामा अन्याेलता देखिएको हो ।

एमालेकै माधव नेपाल समूहले पार्टीभित्रको विवाद समाधानतिर नजाँदै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) काे गठबन्धनसँग मिलेर माओवादीको कोटामा देवकाेटालाई उम्मेदवार बनाएका थिए । तर, एमालेभित्र ओली र नेपाल मिल्न पुगेपछि अब देवकाेटालाई आफ्नो तर्फका उम्मेदवार मान्ने/नमाननेमा विपक्षी गठबन्धनमा दुविधा देखिएको हो ।

जसकाकारण मत दिन जाने/नजानेमै विपक्षी गठबन्धनका मतदातामा अन्याेलता छाएकाे छ । राष्ट्रिय सभा उपनिर्वाचनमा सम्बन्धित प्रदेशसभाका सांसद र प्रदेशभित्रका स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख मतदाता हुने व्यवस्था छ । कांग्रेस/माओवादीले देवकाेटालाई आफ्नो तर्फबाट उठाएपनि उनको उम्मेदवारीको प्रस्तावक रहेका एमालेको माधव नेपाल पक्षले समेत अहिले एमालेकै उम्मेदवार गृहमन्त्री थापालाई मत दिने बताएपछि विपक्षी गठबन्धन अब के गर्ने भन्ने दुविधामा परेको हो ।

गृहमन्त्री थापाले मंगलबार मात्रै पनि नेता नेपाललाई उनकै निवास कोटेश्वर पुगेर सहयोग गर्न आग्रह गरेका थिए । नेपालले सकारात्मक जवाफ दिएपछि उनी जित्नेमा आशावादी देखिन्छन् । जेठ ६ गते उपचुनाव हुँदैछ । जसलाई मत दिएपनि एमालेकै उम्मेदवार देखिएपछि कांग्रेस र माओवादीका मतदाता के गर्ने भन्नेमा अन्याेल । यद्यपि माओवादीले आफ्ना जनप्रतिनिधिलाई देवकोटालाई मतदान गर्न ह्वीप लगाएको छ । एमालेले भने गृहमन्त्री थापालाई मतदान गर्न ह्वीप लगाएको छ । राप्रपाले गृहमन्त्री थापालाई मत दिने निर्णय लिएको छ ।

एमालेभित्रको अन्तरविरोधका कारण देवकोटा विपक्षी गठबन्धनका उम्मेदवार भए पनि अब एमालेभित्रको विवाद समाधानउन्मुख भएकाले एमालेकै नेपालको प्रस्तावमा उम्मेदवार बनाइएका देवकोटालाई मतदान गर्नु वा नगर्नुको अर्थ नरहने विश्लेषण छ । ‘यस्तो कोरोना महामारीको समयमा अर्को पार्टीको उम्मेद्धारलाई किन मतदान गर्न हेटौंडा पुगिरहने’ नुवाकोटको एक स्थानीय तहका अध्यक्षले भने, -‘आफ्नो पार्टीको उम्मेद्धार नभएकाले अरुको लागि टाढाबाट गएर एकातर्फ खर्च हुने, अर्कोतर्फ कोरोनाको जोखिम बढी हुने भएपछि मतदान गर्न जाने नजाने अन्याेल छ ।’

गृहमन्त्री थापाले माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेपछि वाग्मती प्रदेशको एक सिट रिक्त रहेको थियो । सर्वोञ्च अदालतले एमाले र माआवादीलाई पहिलेको अवस्थामा फर्काएपछि बादलले माओवादीको साथ छोडेर एमाले तिर लागेपछि माओवादीले थापको पद रिक्त गराएको थियो ।

नेपाली कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार कांग्रेसका वाग्मती प्रदेशका पालिकाका जनप्रतिनिधि र प्रदेशका सांसदले देवकोटालाई मतदान दिने छन् । उनले कांग्रेसको आफ्नो उम्मेद्धार नभएकाले देवकोटालाई नै मतदान गर्ने बताए । यस्तै माओवादीले पनि देवकोटालाई मत दिने निर्णय भएकाले उनलाई नै मतदान गर्ने बताएको छ । माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले माओवादीका जनप्रतिनिधि र प्रदेशका सांसदले देवकोटालाई मत दिने पार्टी नीति रहेको बताए ।

राष्ट्रिय सभाको उप निर्वाचनको आधिकारीक उम्मेद्धार कसलाई मन्ने भन्ने विषयमा नेपाल पक्ष पनि बिस्तारै बादलकै पक्षमा खुल्न थालेको छ । राष्ट्रिय सभा निर्वाचनमा मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ । बागमती प्रदेशसभामा एक सय १० सांसद छन् । यसको मतभार ५२ सय ८० हुन्छ । एक सय १९ स्थानीय तहका दुई सय ३८ प्रतिनिधिको ४२ सय ८४ गरी मतभार हुन्छ । प्रदेश र पालिकाको गरी जम्मा ९५ सय ६४ मतभार छ ।

यसमध्ये सबैभन्दा बढी एमालेका प्रदेश सभामा ५६ जना र स्थानीय तहमा एक सय ३३ जना मतदाताको पाँच हजार ८२ मतभार हुन्छ । कांग्रेसका प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना मतदाताको मतभार २२ सय ८० हुन्छ । त्यस्तै, माओवादीको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना मतदाताको १६ सय ९८ मतभार हुन्छ । कांग्रेस र माओवादीको जोड्दा ३९ सय ७८ मतभार हन्छ । एमाले एकभएमा थापाको जित हुनेछ । एक सय ३२ मतभार रहेको राप्रपाले पनि थापालाई सहयोग गर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस्

यस कारण नेपाल समूहमाथि हुँदैन कारवाही

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया