शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँमा १० हजारको एन्टिजेन परीक्षण हुँदै

सञ्जिता खनाल २०७८ जेठ ४ गते १३:१६

काठमाडौँ । काठमाडौँका विभिन्न समुदायमा आजदेखि कोरोना संक्रमण (कोभिड-१९) को जोखिम उच्च रहेका स्थानमा एन्टिजेन परीक्षण सुरु गरेको छ । काठमाडौं महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा संक्रमण उच्च जोखिममा रहेका काठमाडौं विभिन्न समुदायमा एन्टिजेन परीक्षण सुरु गरेका हुन् ।

बढी भिडभाड हुने स्थान कालिमाटी तरकारी तथा फलफुल बजारबाट सुरुवात गरिएको महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेले बताए । पहिलो चरणमा संक्रमणको दर उच्च रहेका ठाउँहरु परीक्षण सुरु गरिएको उनले जानकारी दिए । उनले भने, ‘‘“संक्रमणको सक्रिय अवस्था थाहा पाउन यो एन्टिजेन उपयुक्त विधि हो ।” उनले परीक्षण गरिएका सबै व्यक्तिहरुलाई रिपोर्ट नआउञ्जेल आइसोलेसनमा बस्न समेत आग्रह गरे ।

उनले भने, ‘‘“परीक्षणबाट आएको नतिजाले लक्षणसहितका विरामीलाई अस्पताल पठाउन र लक्षण नभएका विरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ ।” महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीले मेरो न्युजसँग भने, “धेरै मानिसहरु भेला हुने ठाउँहरु जस्तै तरकारी बजार लगायत स्थानलाई पहिलो प्राथमितामा राखिएको छ ।” पहिलो चरणमा करिब १० हजार व्यक्तिको एन्टिजेन परीक्षण गरिनेछ । बुधबार वडा ३२ को तरकारी बजारमा परीक्षण गरिने महाशाखाले जनाएको छ ।

चिकित्सकहरुका अनुसार मानिसको शरीरमा कोरोना भाइरसको प्रवेश भइसकेपछि लक्षण देखिन ५ दिनसम्म लाग्न सक्छ । यसअघि लक्षण देखिनु अघि कसैसँग कोभिड छ कि छैन भनेर थाहा पाउन यो परीक्षण प्रभावकारी छ । परीक्षणका लागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया