बिहीबार, वैशाख १३, २०८१

कोरोना संक्रमण सर्वसाधारणले गर्दा फैलिएको हो : गौतम

किरण अधिकारी २०७८ जेठ ४ गते १०:२४

काठमाडौं । पछिल्लो समयमा काठमाडौं उपत्यकामा ५० हजारभन्दा बढी कोरोना संक्रमित भएका छन् । नेपालमा शुन्य दशमलव ६ प्रतिशत कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।

लगातार तीन दिन कोभिड–१९ संक्रमण घटेको नेपाल सरकारले जनाए पनि मृत्युको संख्यामा बढोत्तरी भएको छ । अक्सिजन, बेड लगायतका समस्या अस्पतालमा दिनानुदिन बढ्दै गएको छ । अब सरकारको योजना सहितको रणनीति के छ ? यसैबारे स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमसँग मेरोन्युज डटकमका किरण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश:

देशमा कोरोना संक्रमितसँगै मृत्युदरमा बढोत्तरी भएको छ । अक्सिजन लगायतका समस्या न्युनीकरण गर्न सरकारको योजना के छ ?

जब संक्रमण हुन्छ, तब समस्या पर्छ । समस्या सबैलाई हुँदैन । कसैकसैलाई हुन्छ । समस्या परेकालाई अक्सिजन लगाउँछन् । यसमा पनि समस्यामा परेकालाई आइसियुमा राखिन्छ । अझ जटिल स्वास्थ्य समस्यामा परेकालाई भेन्टिलेटरमा राखिन्छ । भेन्टिलेटरमा परेकामध्ये ७५ प्रतिशत फर्किदैनन् । संक्रमित सबै मर्दैनन् । संक्रमणबाट बच्न अक्सिजनका लागि विदेशबाट सिलिन्डर ल्याउने हो । अक्सिजन कन्सन्ट्रेटर ल्याउने हो । लिक्युट अक्सिजनका प्लान्टहरू ल्याउने हो । त्यसरी हामीले व्यवस्थापन गरिरहेका छौँ । दुई चार दिनअघिको तुलनामा अहिले सजिलो भइरहेको छ । काठमाडौंमा अक्सिजन प्लान्टहरु कम छन् । अक्सिजन उद्योग काठमाडौंमा ८ वटा छन् । काठमाडौं बाहिर १७ वटा छन् । प्रदेश १ मा ५ वटा छन् । त्यहाँ अक्सिजन खपत भएको छैन । त्यहाँ ८ घण्टा प्लान्ट चलाइरहेका छन् । अहिले हामीले काठमाडौंलगायत लुम्बिनी प्रदेशमा त्यहाँबाट अक्सिजन खपत गरिरहेका छौँ । कोभिड–१९ नियन्त्रणका लागि अक्सिजन लगायत समस्या न्युनीकरण गर्न सरकारले योजनासहित काम गरेका यिनै हुन् ।

अक्सिजनका लागि चाहिने सामाग्री लिन अन्य मुलुक जाने एउटा जहाजको खर्चले यही प्लान्ट कम्पनी खोल्न सकिदैन ?

अक्सिजन प्लान्ट कम्पनी बनाउन सकिदैन भन्ने त नेपालमा जहाज बनाउन सकिँदैन भने जस्तै हो । सपना ठूलो देखेर हुँदैन । जहाज बनाउन सकेको भए, गाडी बनाउन सकेको भए, प्लान्ट बनाउन सकेको भए किन विदेश जानुपथ्र्यो ?

त्यसो भए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सय बेड क्षमता भएका निजी तथा सामुदायिक अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन किन दिएको त ?

हो, सबै कुरा हतारमा हुन्न । कहाँ के कसरी गर्नुपर्छ ? भन्ने तयारी आवश्यक छ । अस्पतालमा अक्सिजन आवश्यक भएकाले व्यवस्थापकले केही सोच्नुपर्छ । सकिन्छ भने, अक्सिजन प्लान्ट पनि आवश्यक पो भनेको । मिडियामा यतिलाई कोरोना लाग्यो । यति मरे भन्नेबाहेक कोरोना के हो ? कसरी बच्ने ? भन्ने बारेमा समाचार राख्दैनन्, जस्तो लाग्छ मलाई । मैले एक वर्षदेखि नियमित साबुन पानीले हात धौँ । जमघट नगरौँ । दुरी कायम गरौँ । सेनिटाइजर प्रयोग गरौँ भनिराछु । तर कसैले पनि जागेश्वरले यसो गर भन्यो भनेर समाचार राख्दैनन् । सबैले मरे, समस्या यो भो भनेर तर्साउँछन् ।

सामाजिक उत्तरदायित्वमा हुनुपर्छ सञ्चार माध्यम पनि । संक्रमणको जानकारीसँगै सचेतना पनि गराउनु पर्छ मिडियाले । यी सञ्चार माध्यमले कुरा नबुझी हल्लाको प्रवित्तिमा लागेकाले पनि कोरोना संक्रमणमा समस्या थपिँदै गएको भन्नेमा दुई मत छैन । अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयले सहजीकरण गर्ने हो । धेरै निजी अस्पतालमा अक्सिजन प्लान्ट छैन । सरकारले अस्पताललाई अक्सिजनको कोटा तोकेपछि अस्पतालहरूले नयाँ बिरामी भर्ना नलिने घोषणा गरिरहेका छन् । सहजकताका लागि सरकार छ ।

ए, सरकारले अहिले के गरिरहेको छ त समस्या न्युनीकरण गर्न ?

सरकारले काठमाडौँका सबै सरकारी र केही निजी अस्पताललाई ‘कोभिड ओपिडी’ भनेर सञ्चालनमा ल्याएको छ । वीर अस्पताल, सैनिक अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पतालमा कोभिड ओपिडीको सेवा सुरू गरेको छ । यस्तै नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, नोबेल अस्पताल तथा किष्ट अस्पताल ग्वार्को र धुलिखेल अस्पतालमा कोभिड ओपिडीको व्यवस्थापन गरेको सबैलाई भन्न चाहन्छु ।

कसैलाई गाह्रो छ भने तुरुन्त जानुस् । यी अस्पतालहरूमा कोभिड ओपिडी सञ्चालन भइरहेको र अस्पतालहरूमा कोभिडका बिरामी जाँचेर सामान्य भएमा घर पठाउने, अक्सिजन चाहिए ओपिडीमै दिने र हेर्ने, सिरियस भए भर्ना गर्ने गरिएको छ । यसले न्युनीकरण हुँदैन भनेर कसले भन्छ ।

हो सबै सचेत हुनुपर्छ, संक्रमण हुन नदिन निषेधाज्ञा हुनुपर्छ, बढाउनुपर्छ भनेर स्वास्थ्य मन्त्रालयले भनेको छ । यो समयमा पनि संक्रमित र मर्नेको संख्याले नसताएको त छैन नी ?

सचेत हुनुपर्छ भने सर्वसाधारणले किन भिडभाड गर्नुभयो । केही समयअघि खुलेको लकडाउनमा सबैले भेला गरे । माइतिघरमा भिड बनाए । तर, कोरोना सकिएको छैन । सुरक्षित बनौँ भनेर मिडियाले पनि भनेन । सर्वसाधारणले पनि थाहा पाएर पचाए । समस्या बढ्यो आरोप हामीलाई । हामी सचेत होऔँ । रोगबाट बचौँ भनेर अघि बढ्न जानेनौँ । निषेधाज्ञा खुलेको केही समयमै हात मिलाउने, अंगालो हाल्ने गर्न थाल्यौँ । एक जनालाई लागेको थियो । त्यसैबाट सर्‍यो । समस्या बढ्नबाट बच्न निषेधाज्ञाको आवश्यकता परेको हो । जानेर बुझ पचाउने सर्वसाधारणले गर्दा अहिले समस्या देखिएको हो । सर्वसाधारणले गर्दा नै कोरोना समस्या बढ्दै गएको हो ।

सरकारको इच्छा जनतालाई दुःख दिने होइन । केही अप्ठारो पर्दा सचेत रहनभन्दा सबै जान्ने आरोप हामीलाई । लकडाउन भएको बेला संक्रमित बढेका होइनन् । खुला समयमा लागेको १० दिनपछि २० दिनपछि परेको समस्याले अहिले तथ्यांकमा वृद्धि देखिएको हो । सचेत बन, स्वास्थ्यमा ध्यान राख कति भन्नु । जानेर नजानेको जस्तै गर्ने निषेधाज्ञा गरेर संक्रमित घटेको, मर्ने घटेको भनेको होइन । यो समयमा सर्दैन निस्कन नपाएकाले भनेको हो । हामीले बुझाउन सकेनौँ भने फेरि भन्छु, “ज्यान जोगाउन केही दिन कष्टकर भएरै सुरक्षित रहौँ, अघि भनेको झै बुझौँ स्वास्थ्यको उपाय जानौँ ।”

निजी अस्पतालले देश संकटमा परेको अवस्थामा उपचार गर्न सक्दैनौँ भनेर जिम्मेवारीबाट भागेका छन्, सरकारले निजी क्षेत्रलाई आफ्नो मातहतमा लिन सक्दैन ?

कस्तो कुरा गर्नु भएको ? निजी अस्पतालमा पनि उत्तरदायित्व छ । अहिले समस्यामा परेको बेला निजीले गरेन भन्नु गलत हो । मौका सबैको आउँछ । नाफा कमाउने निजी अस्पताल आफै समस्या पर्दा गरेन भन्नु हुँदैन । हामी मिलेर गरौँ भनेर प्रस्ताव गरेका छौँ । निजी क्षेत्रका विभिन्न व्यक्ति, संस्थाहरू कोरोना समस्या न्युनीकरण गर्न, समाधान गर्न अगाडि बढेका छन् । तर सरकारको निर्देशनमा केही विवाद आउनुलाई भुइचालो बनाउनु हुँदैन ।

अहिले निजीभन्दा सरकारी अस्पताल अगाडि बढेको छ । गर्नेको दिन सधै आउँछ । जिम्मेवारी नलिने फेरि अफ्ठ्यारोमा नपर्लान भन्न सकिँदैन । आरोप प्रत्यारोपको कुरा होइन । निजी मात्र होइन सरकारी पनि सक्षम छ । छुट्टयाउने र छनोट गर्ने काम जनताको हो । यस्तो बेला मसँग धेरै पैसा छ भनेर निजी ठूलामा पनि त जान सक्दैनन् । कारण समस्या हो । त्यसैले म के भन्छु भने देशमा अफ्ठ्यारो पर्दा सबै सचेतसँगै सहयोगी हुनुपर्छ । निजी अस्पताल छैनन् भन्ने होइन, सबैले हेरेका छन् । परिणाम आउँछ । मैले यत्ति भने अब त बुझियो होला नी ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया