मंगलबार, जेठ ८, २०८१

पूर्वमाओवादी एकता वहस

के सोच्दैछन् प्रचण्ड ?

अबको पार्टी विचार, संगठनात्मक संरचना, घाइते अपांग, शहिद परिवार, नेता कार्यकताको व्यवस्थापन र जिम्मेवारीका बारेमा नयाँ ‘फर्मूला’ बनाउने तयारीमा प्रचण्ड लागेका छन् ।

रामकृष्ण अधिकारी २०७८ जेठ ३ गते २०:३८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राजनीतिक ‘स्टेप’मा बेलाबेला क्रमभंग गरिरहन रुचाउने नेता हुन् । तीन वर्ष अगाडि उनले नेकपा (एमाले)सँग त्यसरी एकता गर्छन् भन्ने सायदै कसैले सोचेका थिए । एमालेको राजनीतिक विचार, संगठन प्रचण्डले नेतृत्व गरेको माओवादीको भन्दा आङताङको फरक छ भन्ने बुझाइ माओवादीमा थियो ।

Advertisement

तर उनले माओवादी पङक्तिलाई एकढिक्का बनाउँदै एमालेसँग एकता गरे । १० वर्षे युद्धको नेतृत्व गरेर शान्तिपूर्ण राजनीतिमा आउँदा उनको राजनीतिक ‘स्केच’ धेरै माथि थियो । बेला-बेला उनी ‘बोल्ड डिसिजन’ लिन्थे । प्रचण्डले यस्तो डिसिजन लिए होलान् र ? यति भावुक निर्णयमा उनी कसरी पुग्लान् र ? उनले नेतृत्व गरेको युद्ध सम्झेकाहरुका लागि प्रश्न हुन्थे ।

तर उनका कतिपय स्टेप यस्ता हुन्थ्थे, – जसले उनकै पार्टीको विघटन हुने गर्दथ्यो । २०४६ सालदेखि निरन्तर उनी आफ्नो पार्टीको मूल नेतृत्वमा छन् । तर उनकै शब्दमा भन्दा उनले आफ्नै पार्टी लाई बेलाबेला विघटन गर्ने र नयाँ शिराबाट पुनःगठन गर्ने गदै आइरहेका छन् । ०४६ सालमा उनले नेकपा मशालको विघटन गरे, नेकपा एकताकेन्द्रको रुपमा पुनःगठन गरे । २०५१ मा उनले एकताकेन्द्रलाई नै विघटन गरिदिए, माओवादीको जन्म दिए । माओवादीलाई पनि उनले एमाओवादी, माओवादी केन्द्र, नेकपा हुँदै फेरि अहिले माओवादी केन्द्रकै रुपमा पुनःसंगठित गर्ने प्रयास गरिरहेका छन् ।

संगठनात्मक रुपमा मात्र होइन, राजनीतिक रुपमा पनि प्रचण्डले लिने गरेका स्टेप क्रमभंगतामा छन् । प्रचण्डको यस्तो शैलीलाई कतिपयले अस्थिर भनेर टिप्पणी गर्ने गर्छन् । तर उनले यसलाई गतिशीलताका रुपमा अर्थ्याउने गर्छन् । परिस्थितिमा क्रमभंगता गर्न खोजिरहेका देखिन्छन् । ‘परिस्थिति कस्तो बनेको छ, त्यसको माग कस्तो छ , जनताका भावना, मनोविज्ञान कस्तो छ भन्नेमा मेरो ध्यान जान्छ । त्यसैमा आफूलाई ढाल्न खोज्दा कतिपयले अस्थिर भनेको पाउँछु, कतिपयले गतिशील । तर म आफू आफूलाई परिस्थिति बुझेर निर्णय लिन सक्ने गतिशील नेताको रुपमा पाउँछु,’ प्रचण्डले एक सार्वजनिक कार्यक्रममा भनेका थिए ।

उनले माओवादी र एमाले दुवै कम्युनिष्ट पार्टीलाई विघटन गराएर एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा आफूलाई होमे । अन्ततः एमाले र माओवादी एक भयो । १० ओटा माओवादी घटकबीच एकता गरेर माओवादी पुनःगठन आन्दोलन अगाडि बढाउने प्रयास गर्दा गर्दै उनले एमालेसँग चुनावी गठबन्धन मात्रै होइन, पार्टीकै एकता थाले । तीन वर्ष अगाडि एमाले-माओवादी एकता भएको थियो । तर त्यो एकता धेरै टिक्न सकेन । एउटै जेट विमानको दुई पाइलट घोषणा गरेका प्रचण्ड र केपी ओलीकै बीचमा फाटो पर्यो । एमाले एमालेतिर र माओवादी माओवादीतिरै हुने अवस्था आयो ।

यसमा घाटा प्रचण्डलाई नै भयो । अन्ततः छुटिँदा माओवादी धारका केही नेतालाई उनले एमालेमै छोडेर माओवादी केन्द्रमा फर्किए । प्रचण्डका सहयात्री यो बीचमा धेरै छुट्टिए । मोहन वैद्य (किरण), डा बाबुराम भट्टराई मात्रै होइन, सिपी गजुरेल, नेत्रविक्रम चन्द त यस अगाडि छोडिएकै थिए । तर पछिल्लो चरण चार वर्ष अलग भएर फेरि एकीकृत हुन आएका रामबहादुर थापा (बादल) उनीबाट छुट्टिए । लेखराज भट्ट, टोपबहादुर रायमाझीसम्मका नेतापनि पछिल्लो चरण छोडिए ।

प्रचण्डलाई अहिले नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, वर्षमान पुन, पम्फा भुसाल, जर्नादन शर्मा जस्ता नेताहरुको साथ देखिन्छ । तर यो समूहलाई प्रचण्डले अब कसरी परिचालन् गर्लान् ? उनले पार्टीलाई कुन रुपमा अगाडि बढाउलान् ? अहिले सवैको ध्यान प्रचण्डतिर छ ।

प्रधानमन्त्री ओलीको प्रचण्डलाई जसरी पनि सिध्याउने चाहना/योजना र आफ्नै सहयात्रीले छाड्दै जान थालेका प्रचण्डले चाल्ने ‘मूभ’ अब कस्तो होला ? के उनले नयाँ ढंगले माओवादी आन्दोलनलाई पुनःगठन गर्न सक्लान् ? यतिबेला प्रचण्ड सोचमग्न देखिन्छन् ।

प्रचण्डले यसपटक पार्टी नेता मात्र होइन, सर्वसाधारण, नेता-कार्यकर्तासँग पनि अब कस्तो पार्टी, कस्तो संगठन, कस्तो विचार बनाउने भन्नेमा आफूले मात्रै निर्णय लिन चाहेका छैनन् । सबैका सुझाव लिने, त्यसबाट आएका सुझावलाई घालमेल गर्दै अर्काे क्रमभंग गर्ने सूत्र खोजी गर्न थालेको देखिन्छन् ।

उनले यसपटक पार्टीको अबको विचार, राजनीति, संगठनात्मक संरचना, घाइते अपंग, शहिद परिवार र नेता कार्यकताको व्यवस्थापन र जिम्मेवारीका बारेमा नयाँ फर्मुला निकाल्न खोजिरहेका छन् । पार्टी पंक्तिसँग प्रचण्डले मुख्यतः ४ ओटा विषय केन्द्रित सुझाव अहिले मागेका छन् । पार्टी प्रमुखको कार्यकारी पदमा रहनका लागि उमेरको हद राख्ने वा नराख्ने ? राख्ने भए कति राख्ने ? कार्यकालको सीमा राख्ने वा नराख्ने ? राख्ने भए कति राख्ने ? केन्द्रदेखि सबै समितिहरूको कार्यकारी प्रमुखका लागि यस्तो सीमा राख्ने कि नराख्ने ? वा फरक–फरक राख्ने ? के गर्दा उपयुक्त हुन्छ प्रचण्डले सुझाव मागेका छन् ।

त्यस्तै उनले पार्टीलाई उत्पादनसँग जोड्न के गर्नुपर्छ ? सहकारी र सामूहिक उत्पादन प्रक्रियालाई कुन रुपमा अघि बढाउन उपयुक्त हुन्छ वा सकिन्छ ? भन्ने सम्मको सुझाव पनि माग गरेका छन् । सर्वसधारणसँग पनि उनले सायदै पहिलो पटक होला सार्जजनिक रुपमा नै सुझाव मागेका छन् । माओवादी केन्द्रद्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपांग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयं ढंगले अगाडि बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको भन्दै उनले र उनको सचिवालयले सार्वजनिक अह्रवान गरिएको छ।

यसले पनि देखाउँछ, – प्रचण्ड यो पटक क्षतविक्षत माओवादी संगठनलाई नयाँ ढंगबाट पुनःगठनको अभियानमा छन् । एमालेसँगको एकता नसोचिएको पारामा भंग हुन पुगेपछि त्यसको घाटा सांगठनिक रुपमा उनको राजनीतिक जीवनमा सबैभन्दा बढी परेको छ । राजनीतिको सधैँभर केन्द्रमा रहिरहेका प्रचण्डलाई यसले एउटा ‘कर्नर’मा धकेल्न खोजेको छ ।

तर राजनीतिक रुपमा उनको एजेण्डा, उनले बोकेको राजनीतिक नारा अझै केन्द्रीय रुपमा छ । यसलाई उनले आफनो पार्टीको संगठनात्मक संरचनासँग कसरी जोड्लान् ? अहिले अबको उनको कदमका बारेमा मान्छेहरुको चासो देखिन्छ । माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङको भनाइमा, अब नयाँ ढंगले पार्टी र आन्दोलन उठान गर्ने विषयमै अहिले प्रचण्डसहित माओवादी नेताहरुको ध्यान केन्द्रित छ ।

संगठनमा माओवादीले केन्द्रीय समिति बढीमा २९९ सदस्यीय, प्रदेश समिति १७५, जिल्ला समिति १२५, विशेष जिल्ला समिति ७५, महानगर समिति ९९ सदस्यीय बनाउन चाहेको छ । त्यसका लागि स्थायी समितिले विद्यान संशाेधन गरेर आगामी केन्द्रीय समितिबाट पारित गर्ने योजना बनाएको छ । उपमहानगर समिति ८१, नगरपालिका समिति ६५, गाउँपालिका समिति ५५, महानगर वडा समिति ४१, उपमहानगरपालिका वडा समिति ३१, नगर र गाउँका वडा र शाखा समिति २१, नगर र गाउँका टोल समिति १५ र पार्टी सेल कमिटी बढीमा ११ सदस्यीयसम्म बनाउने गरी विद्यानमा व्यवस्था गर्न खोजेको छ ।

तर यसैलाई मात्र उसले संगठनात्मक संरचनाको अन्तिम फेरो बनाउन चाहेको छैन । अब प्रचण्डले संगठनमा सबै तहका कमिटीमा महिलाको प्रतिनिधित्व ३५ प्रतिशत, दलितको केन्द्रीय समितिमा १५ प्रतिशत र भूगोलमा रहेको दलितको जनसंख्या प्रतिशतमा २ प्रतिशतले थप गरी संगठन बनाउने तयारी गरेको छ । वृद्ध, वयस्क र युवाको प्रतिनिधित्व हुने गरी संगठन बनाउने प्रचण्डको तयारी छ ।

’तर यसैमा मात्र अबको संगठन हुने भन्ने छैन, केन्द्रीय नेताका सुझाव, सर्वसाधारणदेखि पार्टी नेता कार्यकर्तासँग सार्वजनिक रुपमा अध्यक्षले माग्नुभएको सुझाव समेतलाई आधार बनाएर अव नयाँ खालको योजना अध्यक्षले प्रस्तुत गर्न सक्नुहुनेछ,‘ माओवादी केन्द्रका अर्का एक नेताले भने ।

प्रचण्डले अब विचार, राजनीति मिल्नेहरुसँगको संवाद, सहकार्य र सम्भव भएसम्मको पार्टी एकता, पूर्वमाओवादी धारका नेताहरु बीचको एकतामा जोड दिन सक्ने देखिन्छ । त्यसैका लागि उनी अहिले समग्र विषयको समीक्षा गर्न तयार भएका देखिन्छन् । पार्टीको विचार, अबको नेतृत्व, अबको काम यी तीन विषयमा प्रष्ट मत बनाएर मात्रै अगाडि बढन् सक्ने धेरै माओवादी नेता-कार्यकर्ताको बुझाइ देखिन्छ ।

नेता कार्यकर्ता, घाइते, अपांग, बेपत्ता र सहिद परिवारसम्मको प्रेसरमा यतिबेला प्रचण्ड छन् । उनले यी सबैका बीचबाट क्रमभंग गर्ने के नयाँ फर्मुला प्रस्तुत गर्लान् ? अहिलेको जकडिएको राजनीतिबाट पार्टीलाई कसरी उर्तालान् ? प्रचण्डको अबको स्टेपमा धेरैको ध्यान छ ।

स्वंम् प्रचण्ड पनि यसमा गहिरो गरी सोचमग्न भएको उनका केही समययताको गतिविधिले देखाएको छ ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया