शुक्रबार, वैशाख १४, २०८१

सम्झनामा मदन भण्डारी

मदनकालको त्यो एमाले, अहिलेको यो एमाले

मदन भण्डारी जीवित रहनुभएको भए आज एमाले कस्तो पार्टी बन्थ्यो होला, अनुमान लगाउने विषय मात्रै बन्न पुगेको छ

सुरेन्द्र पाण्डे, नेता, नेकपा एमाले २०७८ जेठ ३ गते १७:२०
सुरेन्द्र पाण्डे, नेता नेकपा एमाले

आज जेष्ठ ३ गते, सबै वर्षहरुमा झै आज पनि स्व कमरेडहरु मदन भण्डारी र जीवराज आश्रीत प्रति श्रद्धान्जलीको लागि पार्टी अफिस बल्खु पुगेँ । उहाँहरूको सालिकमा फूल, माला चढाइरहँदा ममा उहाँहरूसँग सम्बन्धित राजनीतिक, सैद्धान्तिक, वैचारिक र पार्टी निर्माणमा सँगै हिँडेका धेरै कुराहरू मेरो मनमा ताजा बन्यो । केही हरफ कोरुँ जस्तो लाग्यो । आजै त राजनीतिक कुराहरू धेरै भन्न सम्भव छैन । मनमा उठेका टुक्राटुक्री घटनाहरूको बारेमा मात्र उल्लेख गर्न गइरहेको छु ।

मदन भण्डारी पार्टीको महासचिव मात्रै होइन, सिर्जनशील नेता हुनुहुन्थ्यो । हरेक विषय वस्तुलाई फरक कोणबाट हेर्नु हुन्थ्यो । उहाँको योगदान २०४६ सालपछिको आन्दोलनलाई निष्कर्षमा पुर्याउने सर्न्दभमा महत्वपूर्ण रह्यो । नेकपा मालेको चौथो महाधिवेशन ०४६ भदौमा भएको थियो , त्यही महाधिवेशनबाट उहाँ महासचिव हुनु भयो । त्योभन्दा अगाडि हामी एक्लै आन्दोलनमा थियौँ । नेपाली कांग्रेसले आफ्नो ढंगले आन्दोलन गरिरहेको थियो । मदन भण्डारीले हामी पञ्चायत ढाल्ने उद्देश्यका साथ हिँडेकाले कांग्रेससँग मिलेर जानु पर्ने प्रस्ताव राख्नु भयो ।

संसदीय लोकतन्त्रभन्दा पञ्चायत फालेपछि मात्रै नयाँ जनवादी क्रान्ति पूरा हुने थियो । कांग्रेससँग उहाँले फाल्ने कुरामा सहमति हुन्छ, ल्याउने कुरामा विमति छ भने पनि फाल्ने ठाउँसम्म सँगै जाऊ, फालिसकेपछि मिल्यो भने परसम्म जाउँला नभए अलग अलग बाटो लागौँला भन्नु भयो ।

हामी एक्लै, कांग्रेस एक्लै लडेर पञ्चायत ढाल्न नसकिने भएपछि कांग्रेससँगै जाने पार्टी टुंगोमा पुग्यो । योभन्दा अगाडि नेपालमा कांग्रेसले आफूलाई लोकन्त्रतवादी ठान्ने, कम्युनिष्टलाई अधिनायकवादी ठान्ने । कम्युनिष्टहरु कांग्रेसलाई भारतीय दलाल अथवा राष्ट्रियताको मामिलामा भारतपरस्त ठान्ने गर्थे । विगतमा राजाले कांग्रेसका नेतालाई भेटेर तिमीहरू त महान प्रजातन्त्रवादी भन्ने अनि कम्युनिष्ट जस्तो अधिनायकवादीसँग मिल्छौ, तिमीहरुको छवि बिग्रन्छ– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भन्थे ।

यसैगरी राजाले कम्युनिष्टका नेतालाई बोलाएर तिमीहरू त महान राष्ट्रवादी हौ, देशभक्त छौ, कांग्रेस जस्तो भारतपरस्त राष्ट्रियताको मामिलामा कमजोर, प्रतिबद्धता नभएको शक्तिसँग मिले तिमीहरुको राष्ट्रवाद सकिन्छ, खतम हुन्छ भन्थे । यसरी राजाले बिगार्दै आएका थिए, हामीले त्यो कुरालाई बुझेर संयुक्त आन्दोलनको प्रस्ताव गरेका थियौँ । संयुक्त आन्दोलना जाने मदन भण्डारीको ठूलो सपना थियो । त्यसपछि हामीले कांग्रेससँग वार्ता गर्न पठायौँ – झलनाथ खनाल र राधाकृष्ण मैनालीलाई । त्यसपछि हामी संयुक्त आन्दोलनको निष्कर्षमा पुग्यौँ । सुरुमा कांग्रेसले मानेको थिएन । कांग्रेसका नेता गणेशमानसँग भेटेपछि सहमति भयो । त्यसबेला देशमा तीनवटा शक्ति थिए । राजा, कम्युनिष्ट र कांग्रेस ।

कम्युनिष्ट र कांग्रेस मिलेपछि राजतन्त्र ढल्यो । अलग हुँदा राज बलियो भइरहेको थियो । कांग्रेस प्रजातान्त्रिक शक्ति हो । कांग्रेसमा पुँजीवादी वर्गको एउटा ठूलो हिस्सा छ । वर्गीय हिसाबले पनि, लोकतन्त्र चाहने हिसाबले पनि तिनीहरु परिवर्तन चाहन्छन् । हामी तिनीहरूसँग मिल्नु पर्छ । परिवर्तन गर्नुपर्छ । परिवर्तन चाहने शक्ति र परिवर्तन नचाहने शक्ति छुट्याउनु पर्छ । परिवर्तन चाहने शक्तिलाई बल दिनुपर्छ भन्ने मदन भण्डारीको जोड थियो । हाम्रो आन्दोलनले साकार रुप लिएको थिएन । नेपालको लोकतन्त्र र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन हामी पहिला पहिला संसारभरिका कम्युनिष्ट हाम्रा मित्र हुन्, संसारभरिका मजदुर हाम्रा मित्र हुन् भन्थ्यौँ ।

मदन भण्डारीले के भन्नु हुन्थ्यो भने, संसारभरिका मजुदरको आन्दोलनबाट हाम्रो आन्दोलनलाई के मतलब, हामी आफ्नै शक्तिमा उभिएका छौँ । हामीले आफ्नो क्रान्ति पूरा गर्न आफैं सिर्जनशील भएर अगाडी बढ्नुपर्छ । क्रान्ति पूरा गर्नलाई मद्दत गर्ने शक्तिहरुसँग मिल्नु पर्छ । तिनीहरूको सहयोग लिनुपर्छ ।

नेपालमा भारतको भूमिका भिन्न रहँदै आयो । अहिलेको स्थितिमा भारतका लोकतन्त्रवादी वा कम्युनिष्ट, वा त्यहाँका हामीले हिजोका रुपमा हेर्दा प्रतिगामी शक्ति भने पनि यदि नेपालको लोकतन्त्रका लागि सहयोग हुन्छ भने त्यो सहयोगलाई पनि हामीले लिन सक्नुपर्छ । उपयोग गर्न सक्नु पर्छ भन्ने दृष्टिकोण थियो ।

नेपालको वस्तुस्थितिमा उभिएर नेपालको लोकतान्त्रिक आन्दोलनलाई निष्कर्षमा पुर्याउनु पर्छ भन्ने उहाँको निष्कर्ष थियो । यहाँको परिवेशअनुसारको शक्तिले सहयोग दिन सक्छन् । पछि कांग्रेस आयो । पहिला पहिला चन्द्रशेखर आउँदा कम्युनिष्टले भारतले हस्तक्षेप गर्न आयो भनेर बोल्थे । पहिला त यस्तै भन्ने चलन थियो । कम्युनिष्टले कालो झण्डा लिएर जान्थे । तर पछि नेपालको लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउन सहयोग आवश्यक हुन्छ भन्ने भयो । त्यसपछि नेपालमा एउटा खालको परिवर्तन आयो ।

नेपालको यो आन्दोलनलाई सफल पार्नका लागि सिर्जनशील भएर काम गर्नु पर्छ भन्ने कुरा उहाँको थियो । तेस्रो संसारभरि र हामी आफैँ पनि कसरी आउँदै थियौँ भने हामी लोकतन्त्रका लागि लड्ने । पार्टीका लागि लड्ने । क्रान्ति भएको भोलिपल्ट हामी कम्युनिष्ट पार्टी मात्रै चलाउन दिन्छौँ । अरु पार्टीलाई बन्द गर्नुपर्छ भन्ने मान्यता राख्नु हुँदैन । हामी त्यो आन्दोलनमा जनवादी क्रान्तिपछि पनि अरु पार्टीलाई पनि पार्टी खोल्न दिने स्वतन्त्रता दिनुपर्छ । त्यसो भयो भने मात्र हामी अरु पार्टीलाई सँगै लिएर हाम्रो देश, हाम्रो समाजलाई रुपान्तरणको बाटोमा लैजान सक्छौँ । र, अहिले पनि कांग्रेसलाई त्यो कुरा नगर्ने हो भने पनि हामीसँग आन्दोलनमा कांग्रेस आउदैन ।

हामीले ०४६ सालको चौथो महाधिवेशनमा नयाँ जनवादभित्र दलको पनि स्वतन्त्रता हुनुपर्छ भन्ने नीति पास गरिसकेका थियौँ । त्यो अगाडि बढ्दै गएर हामीले जनताको बहुदलिय जनवाद पार्टीको पाँचौ महाधिवेशनमा राखौँ । जनवादी व्यवस्थामा पनि समाजवादी व्यवस्थामा पनि बहुदलिय प्रतिस्पर्धामा हामी पुग्नु पर्छ र एक दलीय शासन व्यवस्थाको बाटो विगतमा जुन थियो । योभन्दा पृथक बाटो हामीले अगाल्नु पर्छ ।

सारमा हामी सामाजिक, आर्थिक रुपान्तरणको बाटोमा हिड्नुपर्छ । राजनीतिक हिसाबमा प्रतिस्पर्धा गर्ने, सारमा चाहिँ परिवर्तन दिने रुपमा लोकतान्त्रिक रुपान्तरण गर्ने । अहिले हामी यो विश्वासको कम्युनिष्ट आन्दोलनको गुर्जिदो अवस्था बचाएर जान सक्छौँ । हाम्रो उद्देश्य चाहिँ सामाजिक रुपन्तरण नै हो । सामाजिक कुरा छाडेर केवल बहुदलीय प्रतिस्पर्धा मात्र होइन । उहाँले सिद्धान्त, विचारलाई परिभाषित गर्नुपर्छ । त्यसैले सिद्धान्तका लागि जीवन होइन जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्नु हुन्थ्यो । यसै हिसाबले मैले उहाँलाई सम्झेको छु ।

मदन भण्डारी र जीवराज आश्रित

मदन भण्डारीसँगको स्मरण
कमरेड मदन भण्डारीसँग मेरो पहिलो भेट २०३७ को कार्तिक मंसिर तिर मोरंग जिल्लाको हरैंचा भन्ने गाउँमा एउटा भूमिगत भेलामा भएको थियो । त्यो भेला मजदूर फाँटका केन्द्रिय कमिटिमा रहेका अगुवा नेताहरु र मजदूर फाँटबाट पार्टीको तर्फबाट नेतृत्व प्रदान गर्ने कमरेडहरुको भेला थियो । त्यतिखेर मेरो काठमाडौंको मजदूर फाँटको पनि जिम्मा भएकोले त्यो भेलामा पुग्न पाएको थिएँ ।

उक्त भेलामा तत्कालिन नेकपा (माले) का महासचिव सिपि मैनाली, कोशीको पार्टी प्रमुख मदन भण्डारी, मजदूर फाँटका प्रमुख मुकुन्द न्यौपाने सहितको उपस्थिति थियो । सो भेलामा पार्टीको महासचिव उपस्थित भएको कारणले क। मदन भण्डारीले खासै भूमिका निभाउनु पर्ने अवस्था भएन । त्यसपछिका समयमा मेरो मदन कमरेडसँग भेटघाट हुन थाल्यो ।

कमरेड मदन भण्डारी ०४१ सालमा पोलिटव्यूरोमा समाविष्ट भए पछि पोलिटव्यूरोका बैठक लगातार काठमाडौंमा हुन थाल्यो । त्यसक्रममा म काठमाडौंको सचिव भएको कारण ती बैठकका लागि वा काठमाडौं आउने नेताहरुको लागि बसोबास र सेल्टरको व्यवस्था मिलाउनु पर्ने जिम्मेवारी नियमित रुपमा ममा हुने गर्दथ्यो । त्यस किसिमको जिम्मा जो कोहिलाई दिनु वा बताउनु धेरै जोखिमपूर्ण पनि थियो त्यो बेला र त्यसपछिका समयमा कमरेड मदन भण्डारीसंग महिना वा दुई महिनामा लगातार भेट हुन थाल्यो । वहाँले मेरो काम गर्ने तरिका र क्षमतालाई नजिकबाट नियाल्न थाल्नु भयो र उहाँको भूमिका र क्षमता बारेमा पनि मलाई थप जानकारी हुँदै गयो ।

कमरेड मदनसंग जोडिएको एउटा ज्यादै गम्भिर घटना मलाई सम्झना छ । २०४३-०४४ सालतिरको कुरा हो अमृत साईन्स क्याम्पसमा पढ्ने तेह्रथुम अनेरास्ववियू प्रारम्भिक कमिटीका एकजना विद्यार्थी नेता तथा पार्टी कार्यकर्ताले पार्टी च्यानल मार्फत ‘पार्टीका जिम्मेवार कमरेडसंग तुरुन्त भेट्न पर्ने भयो’ भनेर खवर पठाउनु भएको मैले थाहा पाएँ । त्यसपछि म उहाँहलाई भेट्न अस्कल छात्रावासको गेटमा पुगें । उहाँले मलाई हतार हतार दुई पन्नाको कागज थमाई दिनु भयो ।

त्यस कागतमा लेख्ने र उहाँको कोठामा छोड्ने व्यक्ति मदन कमरेडको घर भएको मोरंग कै ईटहरा घर भएको पदम चुडाल भन्ने व्यक्ति रहेछन् र उनी त्यस अगाडी नेकपा मालेको मोरंगको सचिव रहेछन् । ती व्यक्ति मित भाईको नाताले उनको डेरामा आएर बसेका रहेछन् र शायद उनले खेस्रा गरेको कागज नष्ट गर्न विर्सेछन् र उनको हातमा परेछ । त्यो कागज दिंदै ‘मेरो पार्टीलाई घात गर्ने काममा मेरो मीतदाई लागेका रहेछन् मलाई सह्य भएन’ भनेर गम्भीर भए । त्यो कागज भयंकर षडयन्त्रको कागज थियो । त्यसमा पदम चुडालले लेखेका थिए, “मदन भण्डारी भन्ने झट्ट हेर्दा पन्जावी जस्तो लाग्ने, सागर, एसएसआर, स्वेत सार्दुल, वर्वरिक जस्ता नामबाट पार्टीभित्र चिनिने व्यक्ति मालेको केन्द्रिय सदस्य हुन् ।” सो कागजमा मोरंगका विभिन्न व्यक्तिका नाम र ठेगाना लेखिएको थियो र उल्लेखित नाम भएका व्यक्तिहरु पार्टीका कार्यकर्ता र सेल्टरदाताहरु हुन भन्ने कुरा उल्लेख गरिएको थियो ।

त्यसै गरी कोशी अन्चलका विभिन्न जिल्ला पार्टी सचिवको नामहरु पनि उल्लेख गरेका थिए । केहि सेल्टरहरुमा संवेदनशील सामानहरु रहेको र हतियारहरु पनि रहेका हुन सक्ने भनि लेखेका थिए । मैले त्यो पत्र तत्कालिन महासचिव झलनाथ खनाल (पंकज) र पार्टीका उपत्यका प्रमुख माधव नेपाल (रंजन)लाई देखाएँ । वहाँहरुसFग ती कार्यकर्ताले बताएको सवै कुरा सुनाएँ । वहाँहरु धेरै गम्भीर हुनु भयो र एक जना कर्मचारी कार्यकर्तालाई ल्पेनव्दारा विराटनगर पठाउने निधो भयो र मदन कमरेडलाई भेटी सोको जानकारी गराउने, सवै सामाग्री र सेल्टरहरु सुरक्षित राख्ने र वहाँलाई काठमाडौं आउने सल्लाह दिएर पठाईयो । त्यस सुचना पश्चात सवै सेल्टरहरु र कार्यकर्ताहरुलाई सतर्क पार्ने काम भयो र सम्भावित नोक्सानीबाट पार्टी जोगियो ।

त्यस्तै अरु केहि घटनाहरु कमरेड मदन भण्डारीसंग सम्वन्धित रहेकाछन् र मेरा मानसपटलमा नाचिरहेकाछन् । घटना के हो भने २०३८ सालमा महेन्द्र मोरंग क्याम्पस विराटनगरमा अनेरास्ववियू पाँचौं र नेविसंघ विच झडप हुँदा नेविसंघका विद्यार्थी नेताले हानेको गोलीबाट अखिलका विद्यार्थी नेता फणिन्द्र तिमिल्सिनाको हत्या भयो । फणिन्द्र गोली लागि ढलेपछि नेविसंघका विद्यार्थीहरुबाट दुईथान पेस्तोल र दुईवटा गोली अखिलका विद्यार्थीहरुले खोसे र त्यो पेस्तोल र गोली कमरेड मदन भण्डारीलाई बुझाई दिए । पछि मदन कमरेडले त्यसलाई सुरक्षित राख्न मलाई जिम्मा दिनु भयो र मैले त्यसलाई पार्टीमा बुझाइ दिए । पार्टीले कहाँ राख्यो थाहा भएन ।

एक दिन काठमाडौं पाँगाका रामकृष्ण दुवाल कमरेडले पार्टीका जिम्मेवार कमरेडलाई भेट्न जरुरी छ भनेर खबर पठाउनु भयो । यो सम्भवत ०४१-०४२ साल तिरको कुरा हो । वहाँको पसल थानकोट प्रहरी चौकी नजिकै थियो । मैले ठाउँ पत्ता लगाउँदै वहाँको पसलमा पुगें । वहाँले एउटा ठूलो फाइल मेरो हातमा थमाई दिनु भयो । त्यसभित्र एउटा पन्ना आधा गरी पट्याएको थियो । त्यो पन्नामा लेखिएको थियो, “झापालीहरुका नक्सलाईट गुटका निम्न लिखित व्यक्तिहरु केन्द्रीय सदस्य भएको र निम्न स्थानमा आवत जावत गर्ने बुझिएकोले नीजहरुलाई तुरन्त गिरप्mतार गर्नु” भनी लेखिएको थियो । जसमा कमरेड मदनभण्डारी, सिपि मैनाली, माधव नेपाल, जिवराज आश्रीत, अमृत बोहरा, ईस्वर पोखरेल सहितको नाम उल्लेख थियो । मैले सो फाइल र पत्र कमरेड माधव नेपाललाई हस्तान्तरण गरें ।

सुरक्षालाई ध्यानमा राखी त्यो पत्रमा उल्लेखित सेल्टरहरु प्रयोग नगर्ने सल्लाह गरी निर्देशन जारि गरियो र सवै सेल्टरहरु र पार्टीका नेताहरुलाई बचाईयो । पछि मैले रामकृष्ण कमरेडसँग त्यो कसरी हात लाग्यो भनेर सोधेँ । थानकोट चौकी अगाडी सानो कुर्चि र टुल राखी प्रहरी बसेका रहेछन् । गाडीबाट आवत जावत गर्ने मान्छेलाई उनीहरु निगरानी गर्दा रहेछन् । त्यसै बखत दुवालजीका करीब तीन बर्षको बच्चाले खेल्दै गएर टेवलमा रहेको फाईल बोकेर आएको रहेछ । पार्टीको, नेता तथा सेल्टरहरुको सुरक्षाको निम्ति त्यो अवोध बालकबाट पनि ठूलो सहयोग भएको थियो ।

यस्तै प्रशंग कमरेड जीवराज आश्रीतसँग पनि रहेकोछ । २०३३ साल चैत्र १२ गते ललितपुरको नख्खुजेल तोडेर पन्ध्रजना कमरेडहरु जेलबाट उम्किनु भयो । त्यसमध्ये कमरेड प्रदिप नेपाल सुरक्षित तवरले बनारस पुग्नु भयो । कमरेड जीवराज आश्रीत सहितका कमरेडहरुले पुष्पलाल समूहबाट विद्रोह गरी मुक्तिमोर्चा समूह बनाउनु भएको थियो । बनारसमा प्रदिप कमरेड र जीवराज आश्रीत बिच सम्पर्क भएपछि २०३४ सालको बैशाख तिर सम्पर्क सूत्रको आधारमा कमरेड जीवराज आश्रीत नरदेवी स्थित हामी बसेको डेरामा आई पुग्नु भयो ।

कमरेड राजेन्द्र पाण्डेले वहाँलाई कमरेड सिपि मैनाली (जय) सँग भेटाउने व्यवस्था गर्नु भयो । केहि चरणको छलफल पछि २०३४ भाद्रमा जीवराज आश्रीतको नेतृत्वमा मुक्तिमोर्चा समूह कोअर्डिनेशन कमिटी (कोके) मा सामेल भयो । मुक्तिमोर्चाको तर्फबाट कोकेमा सामेल हुनेमा कमरेड मदन भण्डारी, मोदनाथ प्रश्रीत र बामदेव गौतम लगायतका कमरेडहरू हुनु हुन्थ्यो । कमरेड जीवराज आश्रीतसँग धेरै लामो काल सम्म राजनीतिक सहकार्य मात्र होइन एउटै सेल्टरमा बर्षौ संगै बसी एउटै भान्सामा खाना खाने गर्दथ्यौं ।

त्यो बेलाको एमाले र अहिलेको एमाले

मदन भण्डारीको बेलाको एमाले र अहिलेको एमालेमा धेरै फरक छ । २०४६/०४७ तिर एमाले बनाएको हो । माले र माक्र्सवादी मिलाएर ०४७ को पुसमा एमाले बनायौँ । उहाँले त्यो पार्टीलाई लामो समयसम्म सम्हाल्न पाउनु भएन । दुःखको कुरा कमरेड मदन भण्डारी र जीवराज आश्रीत रहस्यमय दुर्घटनामा परी २०५० साल जेठ ३ मा सहादत हुनु भयो ।

भर्खर भर्खर क्रान्तिबाट आएकोले हामी त्यतिबेला एउटै थालको भात दश जना मिलेर खान्थ्यौँ । एउटै कोठामा सुत्थ्यौँ । त्यही खालको जिन्दगीबाट हामी आएको हुनाले क्रान्तिका नाममा मान्छेसँगै हिड्दा सँगै मर्न पनि सकिन्छ, सँगै जे पनि गर्न सकिन्छ भन्ने परिस्थितिबाट आएका थियौँ । त्यस्तो अहिले छैन । अहिले विस्तारै हामीमा पनि पुँजीवादी प्रवृति झाँगिएको छ ।

हामीमा ब्यक्तिगत स्वार्थ मौलाउन थाल्यो । व्यक्तिगत प्रतिस्पर्धा, व्यक्तिगत झगडा, यो साथीलाई सँगै लिएर हिँड्दा कतै मेरो अवसर कटौती पो गरिदिन्छ कि, खौदिन्छ कि । यसलाई पन्छाउन पाएदेखि म सुरक्षित हुन्थ्थे भन्ने जस्ता प्रवृति प्रसस्त देखिन थाले । यसको हामीले छुट्टै समीक्षा गर्नु पर्छ । अब मदन कमरेड नै बाँकी रहनु भएको छैन । बाँकी भएको भए कस्तो हुन्थ्यो भन्ने त अनुमान गर्ने कुरा मात्र हो । उहाँले यसलाई कसरी समाल्नु हुन्थ्यो । कसरी किनारा लगाउन सक्नु हुन्थ्यो । त्यो त अहिले भन्ने कुरा भएन । मदन भण्डारी जीवित रहनुभएको भए आज एमाले कस्तो पार्टी बन्थ्यो होला, अनुमान लगाउने विषय मात्रै बन्न पुगेको छ ।

आज मदन र आश्रितको २८ औं स्मृति दिवस हो । दिवंगत कमरेडहरूप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।

(हरि भट्टसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया