शुक्रबार, चैत १६, २०८०

यी हुन् निषेधाज्ञा नभएका ३ जिल्ला, संक्रमित दर कति ?

दया दुदराज २०७८ जेठ ३ गते १४:५३

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा बढेसँगै देशका ७४ जिल्लाहरुूमा निषेधाज्ञा लागु गरिएको छ । देशभरका ६९ जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा लागु हुँदै आएको छ । यसैबीच सरकारले तोकेको भन्दा न्युन संक्रमित भएकाले खोटाङ, मनाङ र तेह्रथुममा निषेधाज्ञा लागु भएको छैन ।

देशभर कोरोना संक्रमितको दरको अवस्था जटिल बन्दै गए पनि यी ३ जिल्लाहरूमा भने कोरोनाको खासै प्रभाव खासै देखिएको छैन ।

संक्रमित दर कति ?

हालसम्म मनाङ जिल्लाभर ३६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । यस्तै, खोटाङमा ११९ जना र तेह्रथुममा ५९ सक्रिय संक्रमित रहेका छन् ।

सबैभन्दा कम संक्रिय कोरोना संक्रमित भएको मनाङमा जिल्ला प्रवेश गर्ने नाकाहरूमा हेल्थ डेस्क र उच्च सुरक्षाको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

Advertisement

यस्तै, जिल्ला प्रशासन कार्यालय खोटाङका अनुसार हालसम्म ११९ जनामा कोरोना पुष्टि भए पनि ९ जना निको भएर घर फर्किसकेका छन् । सम्बन्धित स्थानीय निकायसँग १५ दिन अनिवार्य क्वारेन्टाइन बस्ने सहमति भए मात्र जिल्ला प्रवेश गर्ने प्रावधान बनाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठले जानकारी दिए ।

तेह्रथुमको जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभर ५९ जनामा मात्रै सक्रिय संक्रमितहरू छन् । जिल्ला प्रशासन कार्यालयले सरकारले तोकेको २ सय सक्रिय संक्रमित नपुगेकाले निषेधाज्ञा नगरिएको जनाएको छ ।

गृह मन्त्रालयका अनुसार आंशिक निषेधाज्ञा रहेको जिल्लाहरू काभ्रे, ताप्लेजुङ, सप्तरी र मुस्ताङ रहेका छन् ।

मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिय कोरोनाका संक्रमित पुगेपछि निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो । सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाउँदै आएका छन् ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया