शुक्रबार, वैशाख ७, २०८१

अक्सिजनको अभावमा नगरवासीको मृत्यु नहोस् भन्दै मिनी प्लान्ट निर्माण तयारी

मेरोन्यूज २०७८ जेठ ३ गते १४:०३

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिएसँगै अक्सिजन अभाव भई ज्यान गुमाउनेको संख्या बढ्न थालेपछि कैलालीको लम्कीचुहा नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । नगरपालिकाले लम्कीचुहा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।

महामारीका रूपमा फैलिएको भाइरसले अक्सिजन नपाएर नगरवासीको अकालमा ज्यान नजाओस् भन्ने हेतुका साथ नगरपालिकाको पहल र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा अक्सिजन प्लान्ट निर्माण गरिन लागिएको नगरप्रमुख महादेव बजगाईंले जानकारी दिए ।

नगरपालिकाले सामाजिक विकास मन्त्रालयलाई अक्सिजन प्लान्ट जडान गर्न आवश्यक बजेट विनियोजनको माग गर्दै यही जेठ २ गते सामाजिक विकास मन्त्रालयमा पत्राचार गर्दै आवश्यक पर्ने थप रकम ५० लाख रुपैयाँ बजेट माग गरिएकामा तत्काल गर्न १५ लाख निकासा हुने नगरप्रमुख बजगाईंले जानकारी दिए ।

३० देखि ५० लाख रुपैयाँसम्मको मिनी अक्सिजन प्लान्ट निर्माण गर्ने लक्ष्य राखेको जनाउँदै नगरप्रमुख बजगाईंले त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउने बताए । काम शुरु गर्न अक्सिजन मेसिन खरिद गर्न बोलपत्रलगायतको प्रक्रिया शुरु गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया