बुधबार, वैशाख १२, २०८१

दासढुङ्गा दुर्घटनाको २८ वर्ष: घटना अझैपनि रहस्यमयी, छानविन गर्न एमाले नै उदासीन

मेरोन्यूज २०७८ जेठ ३ गते ८:४४

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवस, जनताको बहुदलीय जनवादका प्रवर्द्धक भण्डारी र नेता आश्रितलाई आफ्नो आदर्श नेता मान्ने नेकपा एमाले र उसका भ्रातृ संगठनले स्मरण गर्दैछन् ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते दासढुङ्गामा जीप दुर्घटनामा मृत्यु भएको थियो । मदन पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र मदनका समकालीन नेताले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् ।

२७ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो घटना थप रहस्मय बन्न पुगेको छ । विचारक तथा बोल्न सिपालु भएका कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद जबज विकास गरेका थिए ।

मदन आश्रित स्मृति दिवसको अवसर पारेर २०७५ साल आजकै दिन तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भइ नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको थियो ।

तर सर्वोच्चको आदेशपछि हाल नेकपा विघटन भइ नेकपा एमाले र माओवादी केन्द्र साविककै अवस्थामा पुगेपनि मदनले प्रतिपादन गरेको सिद्धान्तलाई आदर्श मान्ने एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा छ ।

पार्टी विवाद समाधानका लागि हिजो मात्रै १० सदस्यीय कार्यदल गठन भएको छ । यस्तोमा मदनको सिद्धान्त अनुसार अघि बढ्न सके मात्र एमाले एक ढिक्का रहन सक्ने नेता कार्यकर्ताले बताउने गरेका छन् ।

राजनीतिक उचारचढाव भएका बेला शीर्ष नेताहरुले सो घटनाको सत्य तथ्य छानविन हुने बताउँदै आएका छन् । तर अहिलेसम्म छानविन हुन सकेको छैन । एमाले कै नेता कार्यकर्ताले समेत पटक/पटक सो घटनाको छानविन गर्न माग गर्दै आएका छन् ।

२०५० पछि कयौं पटक एमालेकै सरकार बनेपछि घटनाको छानविन गर्न भने एमाले कै नेता उदासीन बनेका छन् । जसले गर्दा दासढुङ्गा घटना थप रहस्यमयी बनेको हो ।

प्रतिक्रिया