बुधबार, वैशाख १२, २०८१

गाउँको केटो टेलिफोनसँग हुर्कदा

किरण अधिकारी २०७८ जेठ ३ गते ७:३६

काठमाडौं । ०९१—……मेरी मम्मी विष्णा अधिकारीलाई पाम् न ! मम्मी गाविसको सिलाई कटाई कार्यालयमा हुनुहुन्छ ।

मेरो आवाज सुन्ने वित्तिकै कैलालीको सत्तिको दुरसञ्चार कार्यालय कर्मचारीले १० मिनेटमा फेरी फोन गर्नुुस् । नजिकै छ, विष्णा म्यामलाई बोलाईदिन्छु, म खुसि भए । १२ मिनेट पछि फोन गरे, मम्मीको आवाज सुनें खुसी भएँ ।

मम्मीको आवाज सुन्दा मैले उत्तर दिन सकिन ३ पटक मम्मीको हेलो हेलो पछि मैले फोन राखे ।

टिकापुरको फोन लगाईदिने कर्मचारीलाई आवाज बुझेन भन्दै ठगेर हिँडे । साँझ हामी स्कूलबाट फर्किदा मम्मी भर्खरै घर पुग्नुभाको रैछ । ड्रेस चेञ्जसँगै हातमुख थोएर ठिक्क पर्दा मम्मीले खाजा बनाईसक्नुभयो । सबै बसेर खान थाल्यौं ।

मम्मीले भन्नुभो, “हाँस्दै आज कसले फोन गरेछ, मेरी मम्मी भन्दै म पुग्दा केही बोलेन, हत्तारिदै गाको कामै लागेन, को रैछ मम्मी भन्ने ?”
मैले डराई डराई भने, “मम्मी सरी, म थिँए, फोनमा कस्तो आवाज आउँछ भन्ने था पाउन, स्कुलको टिफिनमा टेलिफोनको अफिस गँए, फोन गरें, आवाज सुने राखेँ ।”

मम्मी फेरी हाँस्दै भन्नुभो, “था पाइस् नी, तर बोलेको भए म पनि बोल्थे मलाई पनि फोनको अनुुभव थिएन, ठिकै छ अब नगर्नु तँलाई मलाई डिस्र्टब हुन्छ, था भो पुग्यो ।”

यो अनुभव हो २०४८ सालको, म दुई कक्षामा पढ्दा टिकापुरमा पहिलो पटक टेलिफोन कार्यालय हुँदा फ्रिमा फोन गर्न पाइने भएकाले अनुभव लिन फोन गरेको ।

टिकापुरमा पहिलो पटक दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम (एनटिसी) को कार्यालय खुलेको बेला म बाट बोलेको अनुभवले मजस्ता कैंयन व्यक्तिमा दुरसञ्चारसँगको प्रयोगबारे विभिन्न कथा हुन्छ ।

त्यसपछि शनिबारको दिन एकफेर एक फोन गर्न पालो कुरेर बस्ने, मान्छे बोलाउन पर्ने जवाना थियो ।

महिनौ लगाएर डाँकसेवा मार्फत, हुलाक मार्फत चिठी पठाएका, आकाशवाणी मार्फत सन्देश पठाउने र पाउनेमध्ये एक जना म पनि हुँ ।
प्रिपेड मोबाईलको सिम लिन भद्रकालिस्थित नेपाल टेलिकमको कार्यालयममा विहान ४ बजे लाइन लागेर १२ बजे पालो आउने व्यक्तिमा म पनि पर्छु ।

अहिले साना बच्चालाई खाना खुवाउँदा, फकाउँदा मोबाईलमा युट्युब प्रयोगद्धारा रमाइलो गरी सहजतापन ल्याउँछौं । यो विकास हो दुरसञ्चारको । मोबाईलमा इन्टरनेटको विकास हुनुभन्दा अघि ल्याण्डलाईनबाट दुरसञ्चारको उत्पत्ति भएको हो । त्यसैले लागौं दुरसञ्चारको पृष्ठभूमीतर्फ
……………………
सूचना र प्रविधिका बारेमा सुसूचित गराउने उद्देश्यले हरेक वर्ष मे १७ तारिखका दिन विश्व दुरसञ्चार दिवस मनाइन्छ ।

आइटियू, १८६५ को सम्मेलन अनुसार फोनका जन्मदाता वैज्ञानिक ग्राहम बेल हुन् (आइटियू, १८६५) । हेल्लो शब्दको आविष्कार वैज्ञानिक थोमस एडिसनसँगै लाई जान्छ । उनले ग्राहमबेल की प्रेमीकाको नाम हेल्लोलाई दुरसञ्चार प्रयोग हुँदा पहिलो वाक्य हेल्लो भनेर सम्वोधन गर्ने भएकाले संसारभर यही शब्द प्रयोग गरियो । कारण नामद्धारा व्यक्तिलाई अमर तुलाउन टेलिफोनमा हेलो प्रयोग गरियो ।

सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाईन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाईन जडान गरिएको थियो ।

सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो । सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्ने गरी १०० लाईन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो । यी फोनहरु शाषक वर्गका लागि मात्र उपलब्ध थियो ।

सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाईन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान भएको थियो । त्यसलाई सन् १९६५ मा एकहजार लाइन क्षमताको बनाइयो । सन् १९७४ मा माइक्रोवेभ लिंकलाई विस्तार गरियो ।

सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरियो । १९९५ मा आएर सञ्चार प्रविधिको नविनतम् उपलब्धि अप्टिकल फाइबर नेटवर्क जडान भयो । १९९७ मा विरगंज–रक्सौल अप्टिकल फाइबरको माध्यमबाट भारतीय दूरसञ्चार निगमसँग सिधा सम्पर्क जोडियो ।

अमेरिकी सहयोग नियोग युएस एड नेपालको सहयोगमा वि.सं २०२६ सालमा काठमाडौंको न्यूरोड (जुद्ध शालिक नजिक) १ हजार थान स्वचालित टेलिफोन तार बिच्छ्याउने कार्य हुँदा टेलिफोनको स्थापना नेपालमा भएको देखिन्छ ।

सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको शुरुवात भयो । सन् २००० मा इन्टरनेटको व्यवसायिक शुरुवात भयो । २००३ मा आएर प्रिपेड मोबाइललाई विस्तार गरियो । २००५ मा सिडिएमए फोन सेवाको थालनी भयो ।

विकास
नेपालभर विस्तारित मोबाइल नेटवर्कमा सन् २००७ मा आएर जिपिआरएस र थ्रिजी सेवाको थालनी भयो । अहिले फाइभ जीमा नेपाली युग पुगिसकेको छ । त्यसैले अघि भनेझैं बच्चाको हातमा इन्टरनेट छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकम, निजी क्षेत्रको एनसेल, युटिएल, स्मार्ट टेलिकम, हेलो नेपाल लगायतले दूरसञ्चार सेवा प्रदान गरिरहेका छन् ।

नेपाल दुरसञ्चार प्राधिकरणले सम्पूर्ण गाउँपालिकामा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन लागिपरेको छ । देशका ७७ वटै जिल्ला सदरमुकाममा इन्टरनेट सेवा पुगेपछि सबै स्थानीय तहमा पुगेको प्राधिकरणको दाबी छ ।

९० प्रतिशतभन्दा बढी सर्वसाधारणमा मोबाइल फोन पुगेको उल्लेख गरिएको छ । यस्तै देशको कुल जनसंख्याको ६० प्रतिशतमा इन्टरनेटको पहुँच विस्तार भएको प्राधिकरणको तथ्याङ्क रहेको छ । मुलुकको भौगोलिक अवस्था सहित खर्चका हिसाबले पनि सहज पर्ने तार रहित इन्टरनेट सेवाको विस्तार बढाइनेछ ।

दुरसञ्चार प्राधिकरणका अनुसार सिम प्रयोगका आधारमा १ सय ६० प्रतिशत जनताले मोबाइलको प्रयोग गरिरहे पनि दुई भन्दा बढि सिमको प्रयोग एकै जनाले गर्ने भएकाले जनसंख्या भन्दा सिम प्रयोग संख्या बढि भएको छ ।

निश्कर्ष
दुरसञ्चारले निकट सम्बन्धहरुको अवहेलना र आत्मियताको हत्या गर्न छोडेको छैन । यसको लागि आत्मनुशासनको सही प्रयोगमा जोड दिनुपर्छ ।

दिनभरिमा हाम्रा फोनहरु, म्यासेज, इन्टरनेटका सामाजिक सञ्जालमा कैयन पटक बज्नेछन्, हरेक पल्ट सुखद खबर पाईयोस्, आशाको सञ्चार होस् । नयाँ पुस्ताले मोवाईल र कम्प्यूटर स्क्रीन बाहिरका संसार देखुन र बुझुन् ।

चित्राङ्कन भित्रका गहन सन्देशका साथै खेतका नाडिदेखि वास्तविक खेल, दौड, समाज अनि मान्छेको सञ्चारमा सबै रमाउनुपर्छ ।

तर गाह्रो कुरा कोभिड–१९ को समस्याले सरकारले गरेको निशेधाज्ञाले सबैलाई मारमा पारेको छ । तर पनि दुरसञ्चार दिवसको उपलक्ष्यमा सबैले सुरक्षित रही शुभकामना दिदै अनुशासनको पालना गरी आफू पनि बचौं अरुलाई पनि बचाऔं ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया