बिहीबार, वैशाख ६, २०८१

‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’

मेरोन्यूज २०७८ जेठ २ गते १८:०९

महोत्तरी । महोत्तरीको बर्दिबासमा नागरिकस्तरमा गठित कोभिड–१९ व्यवस्थापन समितिले भोकालाई खुवाउन ‘खाद्य बैंक’ सञ्चालनमा ल्याएका छन् । अहोरात्र सुरक्षामा खटिने सुरक्षाकर्मी, पैदलयात्री र महाव्याधीले रोजगारी गुमाएर भोकभोकै बस्नपर्ने अवस्थाका गरीबलाई खाजा, खाना खुवाउन ‘खाद्य बैंक’ सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।

बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ, बर्दिबास हेल्प फाउण्डेशन र रोटरी क्लब अफ बर्दिबाससहितका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको पहल कदमीमा ‘खाद्य बैंक’ सञ्चालन गरिएको हो । महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाको अध्यक्षतामा गठित कोभिड–१९ व्यवस्थापन समितिले ‘खाद्य बैंक’ सञ्चालनका लागि उपसमिति नै गठन गरेको छ । खाद्य बैंक’ मा आवश्यक खाजा, खाना व्यवस्थापनका लागि बर्दिबास उद्योग वाणिज्य सङ्घले महाव्याधीको असहज परिस्थिति रहुञ्जेल रासनको आपूर्तिको जिम्मेवारी लिएको छ ।

“हामीले समितिलाई सहयोग गर्न सबै उपकारी मनहरुसँग सार्वजनिक अपिल नै गरेका छौँ” ‘खाद्य बैंक’ व्यवस्थापन उपसमितिका संयोजक रेवन्त कार्कीले भने, “गर्नेले मन फुकाएर सहयोग गरिरहेका छन् ।” खाजा, खाना पूर्व­पश्चिम राजमार्ग, अस्पताल परिसरका अतिरिक्त भोका मान्छे वरपर कहीँ छन् भन्ने थाहा पाउनासाथ तयारी खाजा र खाना पु¥याइने गरिएको संयोजक कार्कीको भनाइ छ । समितिले आफ्नो व्यानरमा ‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’ भन्ने मुख्य नारा नै बनाएको छ । समितिले कोभिड–१८ प्रभावितलाई निःशुल्क एम्बुलेन्स सेवा, घरघर पुगेर प्रभावित परिवारलाई मास्क, सेनिटाइजरसहितका स्वास्थ्य सामग्री वितरण गर्नुको साथै र केही पर्दा ‘हामी छौँ’ भनेर ढाडस दिने गरेको समितिका अध्यक्ष थापाले बताए ।

“दुःख आपदका बेला ल, चिन्ता नगर्नुहोस् , हामी छौँ नि १ यति कुराले पनि प्रभावित परिवारलाई राहत हुँदो रहेछ” समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य थापाले भने, “निकै संक्रमण बढेको बर्दिबास–५ चेरुमा पुगेर संक्रमित र उहाँहरुका परिवारलाई भेट्याँै, उहाँहरुले राहत महसुस गर्नु भएको हाम्रो ठम्याइ छ ।” समितिले विभिन्न सामाजिक सङ्घ संस्थासँग समन्वय गरेर अक्सिजनको आवश्यकता रहेका बिरामीलाई सोको आपूर्ति पनि गर्दै आएको छ । हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’ अभियानमा रोटरी क्लब अफ बर्दिबासले दुई लाख, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी, बर्दिबास सहकारी सञ्जाल र बर्दिबास हेल्प फाउण्डेशनले एक लाख ५० हजार सहयोग गरेको समितिले जनाएको छ ।

यसैगरी हेल्थ फाउण्डेशन महोत्तरीले सङ्क्रमितहरुका लागि स्वास्थ्य सामग्री र आवश्यक औषधि उपलब्ध गराउँदै आएको अध्यक्ष थापाको भनाइ छ । समितिले एक दिनपूर्व जिल्लामा क्रियाशील पत्रकारहरुका लागि मास्क र सेनिटाइजरसहितका स्वास्थ्य सामग्री प्रदान गरेको थियो । त्यसैगरी समितिमा आवद्ध बर्दिबास हेल्प फाउण्डेशनले नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखालाई विपद् कोष सञ्चालनार्थ ५० हजार नगद उपलब्ध गराइसकेको छ ।

अप्ठ्यारो र असहज परिस्थितिबीच सामाजिक सङ्घसंस्थाले बढाएका सकारात्मक पहल कदमीको आम सर्वसाधारणले निकै सराहना गरेका छन् । “आपद्विपद् परेका बेला सम्झी घरघर पुगेर सकेको मद्दत गरेका छन्” बर्दिबास–२ बुद्धचोकका बासिन्दा स्थानीय गायत्री आचार्यले भने, “यिनीहरुको जय होस् ।” रासस

प्रतिक्रिया