बिहीबार, वैशाख ६, २०८१

कोरोना महामारीबीच गंगा नदी किनारामा थुप्रियो शव

मेरोन्यूज २०७८ जेठ २ गते १६:२६

काठमाडाैँ । भारतको उत्तर प्रदेशका प्रहरीहरू अहिले गंगा नदी किनारामा बालुवाले छोपिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गंगाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरू पोस्ट भएपछि प्रहरीले सक्रियता बढाएको हो ।

जिप र डुंगाबाट गस्ती गरिरहेका प्रहरीले लाउडस्पिकरको सहायताले नदीमा जथाभावी शव नफाल्न र नदी किनारामा अव्यवस्थित रुपमा शव नछाड्न आममानिसहरुलाई अनुरोध गर्न थालेका छन् । प्रहरीले लाउडस्पिकरबाट भनिरहेको थियो, “हामी तपाइँलाई अन्तिम संस्कारका लागि मद्दत गर्न यहाँ आएका हौँ ।”

शुक्रबार वर्षाले उत्तर प्रदेश राज्यको प्रयागराज शहरको गंगा नदी किनारमा बालुवाले छोपछाप पारेका शव बेरिएका कपडा निकालिदिएको थियो । उत्तर प्रदेश राज्य सरकारका प्रवक्ता नवनीत सेहगलले आइतबार स्थानीय सञ्चार माध्यममा छापिएका समाचारको खण्डन गरेका थिए । समाचारमा कोभिड–१९ का कारण मृत्यु भएका हजारभन्दा बढी शव विगत दुई सातामा गंगा नदी किनारामा बेवारिसे अवस्थामा भेटिएको उल्लेख थियो । तर सेहगलले भने, “यी शव कोभिड–१९ बाट पीडित व्यक्तिका होइनन् ।”

उनले केही मानिसले हिन्दु परम्पराअनुसार गर्नुपर्ने आफ्ना मृतक परिवारजनको दाहसंस्कार यसपटक विभिन्न कारणले विधिपूर्वक नगरेको बताए । एक जना वरिष्ट प्रहरी अधिकृत केपी सिंहले कोभिड–१९ का कारण मृत्यु भएकाको दाहसंस्कारका लागि प्रयागराजको नदी किनारामा अलग्ग ठाउँको व्यवस्था गरिएको बताए । ‘कसैलाई पनि नदीको सामुन्ने दाहसंस्कार गर्नबाट रोकिएको छ,’ उनले भने ।

दाहसंस्कारका कार्यमा मद्दत गरिरहेको समाजसेवी संस्था बोन्धु महल समितिका सदस्य रमेश कुमार सिंहले ग्रामीण इलाकामा मृत्यु भएका व्यक्तिको संख्या निकै ठूलो रहेको बताए । उनले दाहसंस्कारको काममा बढी खर्च र काठको अभावका कारण गरिब परिवारले आफ्ना आफन्तजनलाई नदी किनारामा त्यतिकै गाडिदिने गरेको जानकारी दिए । हालका दिनमा दाहसंस्कारका लागि तीन गुणा मूल्य बढेको छ । अर्थात् एक शवको व्यवस्थापनका लागि भारु १५ हजारसम्म पर्न थालेको छ ।

राज्यका स्वास्थ्य अधिकारीहरुले गत साता गंगा नदीले छेउ लगाएका ७१ शव फेला पारेका थिए । अधिकारीहरुले ती शवको पोस्टमर्टम गरेका थिए । तर, शवहरु सडिसकेकाले मृत्युको ठोस कारण ठम्याउन सकेका थिएनन् ।

भारतका दुई ठूला राज्यहरु उत्तर प्रदेश र बिहारमा झण्डै ३५ करोड ८० लाख मानिसको बसोबास छ । यी दुई राज्यहरु अहिले कोभिड–१९ बाट सर्वाधिक प्रभावित देखिएका छन् । तुलनात्मक रुपमा गरिब मानिएका यी दुई प्रदेशका मानिसले आफ्ना आफन्तको उपचारका लागि नजिकका शहर, बजारमा लैजाने गरेका छन् । तर धेरैको बाटोमै मृत्यु भइरहेका खबर निरन्तर आइरहेका छन् । रासस/एपी

प्रतिक्रिया