शुक्रबार, वैशाख १४, २०८१

दोस्रो लहरको कोरोनाबाट सबैभन्दा बढी युवा संक्रमित

मेरोन्यूज २०७८ जेठ २ गते १०:५८

इनरुवा । दोस्रो चरणको कोरोना भाइरस संक्रमण बढेसँगै यसको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको पाइएको छ ।संक्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

अहिलेसम्मको संक्रमित सङ्ख्याको २८ दशमलव नौ प्रतिशत सङ्क्रमण यस उमेर समूहमा देखिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका २३ दशमलव छ प्रतिशत संक्रमित रहेका छन् । संक्रमित हुनेमा ४१ देखि ५० वर्ष उमेर समूहका १६ दशमलव एक प्रतिशत रहेको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईँले बताए ।

५१ देखि ६० वर्षसम्मका व्यक्ति १२.२ प्रतिशत संक्रमित रहेको उनले जानकारी दिए । ६१ देखि ७० वर्षका ज्येष्ठ नागरिक ६.४ प्रतिशतमा कोरोना पोजिटिभ भएको पाइएको छ । त्यसैगरी ज्येष्ठ नागरिकतर्फकै ७१ देखि ८० वर्षको उमेर समूह ३.१ प्रतिशत संक्रमित रहँदा ८१ देखि ९० वर्ष उमेर समूह १ प्रतिशत र सोभन्दा माथिका उमेर समूह शून्य दशमलव एक प्रतिशत संक्रमित पाइएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईँले जानकारी दिए ।

त्यसैगरी कोरोना संक्रमित १० वर्षमुनिका बालबालिकाको सङ्ख्या ३ प्रतिशत रहेको उनले बताए । ११ देखि २० वर्ष उमेर समूहका ५.६ प्रतिशत संक्रमित पाइएको छ । अहिलेसम्म जिल्लामा सक्रिय संक्रमित दुई हजारभन्दा बढी रहेको छ भने मृतकको सङ्ख्या ४० पुगेको छ ।

जिल्लामा संक्रमणको दर दैनिकरूपमा बढ्दै गएका कारणले यसबाट बच्नका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गर्नका लागि सबै जिल्लावासीमा स्वास्थ्य कार्यालय सुनसरीले आग्रहसमेत गरेको छ ।रासस

प्रतिक्रिया