शुक्रबार, वैशाख १४, २०८१

बागलुङमा विवाहले फैलियो कोरोना

मेरोन्यूज २०७८ जेठ २ गते ६:३९


बागलुङ । तपाई विवाह, चौरासी पूजा तथा अन्य सामाजिक संस्कारजन्य काम मान्छेहरुको भीडभाड जम्मा गरेर भोजभतेर गरेर गराउँदै हुनुहुन्छ ? सेचत रह्नुहोला । कतै यसैबाट त तपाई, तपाईको परिवार र सिंगो समाज नै कोभिड १९ को संक्रमणमा त परिरहनुभएको छैन ?

बागलुङमा त्यस्तै भएको छ ।

साता दिन अगाडीसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । तर अहिले सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । यसरी संक्रमितको संख्या बढ्नुमा सरकारको निर्देशनविपरीत भिडभाड र जमघट बढ्नु मुख्य कारण रहेको स्वास्थ्यकर्मीको भनाई छ ।

वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा सङ्क्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो ।


वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका–४ मा भोजसहितको विवाह सम्पन्न भएको थियो । संयोग या लेखान्त, त्यसको केही दिनमै कोरोना सङ्क्रमण पुष्टि भएर धौलागिरि अस्पतालमा उपचारकै क्रममा रहेका बेला वैशाख २३ गते विवाह भोज गर्ने परिवारका मुख्य अभिभावकको मृत्यु भयो । परिवारका अन्य सदस्य पनि सङ्क्रमित भएका छन् । थप सहभागीको पिसिआर गर्दा ३१ जनाको स्वाब लिइएकोमा २५ जनामा सङ्क्रमण पुष्टि भयो । यसले सङ्क्रमण बढाउने कारण विवाह रहेको पुष्टि गरेको छ ।

अन्ततः कोरोनाकै कारण बडिगाडका एकै परिवारका चार जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट बाबाको मृत्यु भएको एक सातापछि दुई छोराको सङ्क्रमणकै कारण मृत्यु भयो । वैशाखको दोस्रो साता आयोजना गरिएको विवाह भोजका कारण नै यस्तो घटना भएको स्थानीयवासीसमेत बताउँछन् ।

धौलागिरी अस्पतालमा उपचाररत बडिगाड–४ का ४० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भयो । मृतकका ८७ वर्षीय बुबाको यसअघि सोही अस्पतालमा वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो । उहाँकै परिवारको अर्को ५२ वर्षीय छोराको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा बिहीबार रातिनै मृत्यु भएको छ । यस्तै शनिबार परिवारकै सदस्य ५३ वर्षीया महिलाको समेत धौलागिरि अस्पतालमा मृत्यु भएको छ ।

अधिकांश सङ्क्रमित भिडभाडमा गएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएका काराण बडिगाड–४ मा अत्यधिक मात्रामा सङ्क्रमण दर बढेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले जानकारी दिए ।

विवाहमा धेरै जन्ती लगेपछि बागलुङ नगरपालिका–८ सिगानाबाट वैशाख २२ गते बेहुलाका बुबासहित जिल्ला प्रहरी कार्यालयले जन्ती गएको तीन सवारी नियन्त्रणमा लिएको थियो । सात जनामात्रै विवाहमा सहभागी गराउन पाइने व्यवस्था सरकारले गरेको छ तर दुलाहा पक्षले झण्डै ३०० जन्ती लगेको थियो ।

त्यसपछि सिगानामा केही मानिसमा कोरोना भाइरसको लक्षण देखिएकाले स्वाब सङ्कलन गर्दा ९० प्रतिशत विवाह, भोजभतेर तथा पूजाआजामा सहभागी भएकामा कोरोना देखिएको बागलुङ–८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए ।

सिगानामा शनिबार आएको रिपोर्टअनुसार २६ जनाको परीक्षणमा १५ जनामा सङ्क्रमण फैलिएको छ ।

जिल्लाको ताराखोलामा समेत विवाह भोजकै कारण कोरोना बढी फैलिएको पाइएको छ ।

प्रतिक्रिया