शुक्रबार, वैशाख ७, २०८१

जसपाभित्रको विवाद

बालकुमारीमा निकट नेतासँग उपेन्द्रले भने,-‘एकलौटी दलको नेता घोषणा गर्नेलाई उपचार खोजिन्छ’

महन्थ ठाकुर भन्छन् : कुनै बैठक डाकिएकै छैन

मेरोन्यूज २०७८ जेठ १ गते १५:५९

तस्विर : फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव कुनै एक व्यक्तिले आफू दलको नेता हुँ भन्दैमा नेता नभइने बताएका छन् । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर समूहले नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएपछि आक्रोसित अध्यक्ष यादवले आफै-आफै नेता हुँ भन्न थालेपछि उपचार खोज्ने क्रम आफूहरुले सुरु गरेको बताए ।

बालकुमारीमा यादव पक्षले आज आफु निकटका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुसँग छलफल गरेका थिए । छलफल अहिले पनि जारी छ । छलफलमा सहभागी एक नेताले यादवको भनाई उदधृत गदैं भने, ‘कसैले आफैँ संसदीय दलको नेता हुँ भनेर भन्दैमा हुन्छ । त्यसको पनि विधि प्रक्रिया होला । निर्वाचन हुनुपर्ला ।’

शुक्रवार मात्रै जसपाको बहुमत सांसदको उपस्थितीमा महन्थ राजेन्द्र पक्षले राजेन्द्र महतोलाई दलको नेता चयन गरेको घोषणा गरेका थिए । राजपा र समाजवादी पार्टी एकतापछि जसपाले अहिलेसम्म दलको नेता चयन गर्न सकेको थिएन । महन्थ पक्षले राजेन्द्रलाई दलको नेता चयन गरेपछि जसपाभित्रको विवादले उग्र रुप लिएको छ । महन्थ पक्षले दल नेता चयन गरेपछि उपेन्द्रले कार्यकारीणि समितिको बैठक आकस्मिक रुपमा पार्टी कार्यालय बालकुमारीमा बोलाएका हुन् ।

केन्द्रीय कार्याकारिणी मा उपेन्द्र बहुमतमा र दलमा महन्थ राजेन्द्र पक्ष बहुमतमा देखिएको अवस्था जसपाभित्र छ ।

दलको नेता हुन दलका सदस्यहरूको बैठक हुनु पर्ने र आधिकारिक माइन्यूट हुनु पर्ने यादवको भनाइ छ । अनाधिकृत काम गर्ने नेताहरूलाई पार्टी विधान अनुरुप कारबाही गर्ने प्रस्ताव पनि यादवले छलफलमा राखेको ती नेताले बताए ।

५१ सदस्यीय कार्यकारिणी समितिमा बहुमत सदस्य छलफलमा रहेको नेताहरू बताउँछन् । कार्यकारिणी सदस्य एवं कार्यालय प्रमुख प्रकाश अधिकारीले आफूहरू अहिले अनौपचारिक छलफलमा बालकुमारीस्थित पार्टी कार्यालयमा रहेको जानकारी दिए । यादवले औपचारिक रूपमा कुनै बैठक नराखेको तर अनौपचारिक रूपमा छलफल भइरहेको बताए ।


माओवादी र कांग्रेससँग सहकार्य गर्ने प्रस्ताव पनि उनले छलफलमा राखेका छन् । उनले भने, ‘कांग्रेस, माओवादीसँग अझै निकटमा रहेर काम गर्ने हाम्रो अधिकारिक धारणा हो । त्यसमा अडेर नै अघि बढ्ने हो ।’ यो जानकारी कांग्रेस र माओवादीलाई दिइसकेको उनले बताए ।

महन्थ भन्छन् : कुनै बैठक छैन

बालकुमारीस्थित केन्द्रीय कार्यालयमा उपेन्द्र यादव पक्षले पार्टी कार्यकारीणि समितिको अनौपचारिक छलफल डाकेपनि महन्थ ठाकुरपक्षले भने कुनै पनि बैठक नडाकिएको बताए । उनले वक्तब्य नै दिएर कुनै बैठक नवोलाईएको र त्स्तो जानकारी हामीलाई नभएको जनाएका छन् ।

जसपाभित्र एउटा पक्षले अर्काे पक्षलाई थाहौ नदिई बैठक बोलाउने, निर्णय लिने क्रम तिव्र हुन थालेको छ । प्रधानमन्त्री केपी ओलीलाई साथ दिने या नदिने भन्नेमा देखिएको विवादले जसपालाई कानुनी रुपमा संग्लो देखाएपनि ब्यवहारिक रुपमा विभाजित अवस्थामा पुराएको छ ।

प्रतिक्रिया