शुक्रबार, वैशाख ७, २०८१

एनएसएल फुटबलको उपाधि भिडन्त आज, कसले मार्ला त बाजी ??

मेरोन्यूज २०७८ जेठ १ गते ८:१६

काठमाडौं । नेपाली फुटबल ईतिहासमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएलको उपाधि भिडन्त आज हुदैछ ।

पहिलो संस्करणको प्रतियोगीताको उपाधिका लागि धनगढी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धा गर्दैछन् । जारी प्रतियोगीताको शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायरमा भिडेका टोली अन्तत फाईनलमा पनि आमने सामने हुन लागेका हुन् ।

पहिलो क्वालिफायरमा धनगढीले काठमाडौंलाई २–१ गोल अन्तरले हराउँदै फाईनलमा स्थान बनाएको थियो । काठमाडौंले एलिमिनेटर खेलको विजेता ललितपुर सिटी एफसीलाई हराउँदै तेस्रो पटक धनगढीसंगको भेट पक्का गरेको हो ।

यसअघिका दुबै भेटमा धनगढीले काठमाडौंलाई हराएको थियो । सुदुरपश्चिमेली टोली काठमाडौंमाथी सोहि लय कायम राख्दै उपाधि हात पार्न चाहन्छ ।

धनगढीका प्रशिक्षक तोपे फुजाले काठमाडौंलाई लिग चरण र प्लेअफमा पनि पराजित गरिसकेकाले आफूहरु च्याम्पियन बन्नेमा कुनै द्विविधा नरहेको बताए । तर, विपक्षीलाई दिनुपर्ने सम्मानलाई लिएर आफूहरु सचेत रहेको उनले बताए ।

त्यस्तै कप्तान किरण चेम्जोङले फाइनल खेल लिग चरणभन्दा फरक हुने भएकाले आफूहरु सतर्क भएर खेल्ने सुनाए ।

काठमाडौंलाई भने अघिल्ला २ भेटमा भोगेको हारको बदला लिंदै उपाधि कब्जा गर्ने अवसर मिलेको छ । काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले हार्ने मानसिकताले नखेल्ने र यसअघिका कमजोरी सुधार्दै उपाधि जित्नका लागि मैदान ओर्लने प्रतिक्रिया दिए ।

फाइनलअघि पर्याप्त आरामको समय नपाए पनि बेञ्च सशक्त भएकाले कुनै दवाव नहुने महर्जनको भनाइ थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । काठमाडौं विकेश कुथु र धनगढी किरण चेम्जोङको कमानीमा रहेका टोली हुन् ।

लिगमा ७ वटा फ्रेन्चाईज टोली सहभागी छन् । उपाधी बिजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् ।

प्रतिक्रिया