शुक्रबार, वैशाख १४, २०८१

तेस्रो पटक पदभार सम्हालेसँगै गृहमन्त्री बादलको तीन महत्वपूर्ण निर्णय

मेरोन्यूज २०७८ वैशाख ३१ गते २१:०३

काठमाडौँ । गृहमन्त्रीका रुपमा तेस्रो पटक पदभार सम्हालेका गृहमन्त्री रामबहादुर थापा बादलले आज तीन महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन् ।

पदभारपछि गृहमन्त्री थापाले कोरोनाको महामारीसँगै नजिकिँदै गरेको मनसुनजन्य विपद्को समेत जोखिम न्यूनीकरण, पूर्वतयारी र व्यवस्थापनगरी मानवीय र आर्थिक क्षति न्यूनीकरण गर्न थप स्रोतसाधन परिचालन तथा व्यवस्थापन गर्ने, मानवीय सहायता र क्लस्टर एक्टिभेसनसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरे ।

रष्ट्रिय विपद प्रतिकार्य कार्यढाँचामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय ढाँचाको तथा कार्यढाँचा र नेपालमा कार्यरत विषयगत क्षेत्रका सरकारी निकाय र सहयोगी निकायको व्यवस्था रहेको छ । सोहीबमोजिम विषयगत क्षेत्र र सहयोगी निकायलाई वर्तमान महामारीको प्रतिकार्य र आसन्न मनसुनजन्य विपदको जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि सोसम्बन्धी प्रस्ताव पारित गरीएको हो ।

यससँगै संयुक्त राष्ट्रसंघीय आवासीय मानवीय संयोजकको कार्यालयमा सहयोगका लागि पत्र लेख्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बाटो खुलेको छ ।

यसैगरी गृहमन्त्री थापाले कोरोनाको महामारीसँगै नजिकिँदै गरेको मनसुनजन्य विपदको समयलाई मध्यनजरगर्दै अन्तराष्ट्रिय सहायता आह्वन गर्ने निर्णयमासमेत हस्ताक्षर गरेका छन् । सो प्रस्ताव अर्थ मन्त्रालयमा पठाइनेछ ।

कोरोना नियन्त्रणलाई थप सुदृढ र प्रभावकारी बनाउन, मनसुनजन्य विपदको पूर्वतयारी प्रभावकारी बनाउन सरकारी सन्यन्त्रका अलावा गैरसरकारी तथा अन्तराष्ट्रिय सहयोगको परिचालन आवश्यक देखिएको ठहर गर्दै सोसम्बन्धी प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको हो ।

यसैगरी गृहमन्त्रीले अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । यसअघि यससम्बन्धमा जारी आदेशको समयावधि जेठ २१ मा सकिन लागेकाले सोसम्बन्धी नयाँ प्रस्तावमा उनले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया