बिहीबार, वैशाख २०, २०८१

ओली र नेपाल पक्षबीच सिंहदरबारमा वार्ता शुरू

विवाद समाधानका लागि कार्यदल बनाउने विषयमा छलफल

मेरोन्यूज २०७८ वैशाख ३१ गते १९:२५

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का दुई पक्ष बीचको वार्ता सिंहदरवारमा शुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुकाे बीच वार्ता शुरु भएको हो ।

ओली र नेपालका बीचमा हिजो भएको वान टु वान वार्ता सकारात्मक दिशामा गएपछि आज दुवै पक्षका शीर्ष नेतासहित दोस्रो तहका नेताहरुका बीचको वार्ता शुरु भएको हो ।

आज दुवै पक्षको वार्ताले पार्टीभित्र देखिएकाे विवाद समाधान गर्न कार्यदल बनाउने विषयमा सहमति जुटाउने र कार्यदल सदस्यहरुको नामको छिनोफानो लाग्ने बताइएको छ । वार्तामा ओली पक्षबाट ओलीसहित संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल) र अर्थमन्त्री विष्णु पौडेल छन् ।

नेपाल पक्षबाट नेता नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी छन् । एमालेमा लामो समयदेखि ओली र नेपाल पक्षका बीचमा अन्तरसंर्घष चर्किदै आएको थियो । विवाद उत्कर्षमा जाँदै गर्दा नेपाल पक्षले संसद्बाट राजीनामा दिने तयारी र ओलीले पनि नेपाल सहितका नेतालाई कारबाही गर्नेसम्मको काम भएको थियो ।

तर विवाद मिलाउने दिशामा राजनीति अगाडि बढेपछि नेपालसहित नेपाल पक्षका ४ नेतालाई ओली पक्षले गरेको कारवाही फुकुवा गर्ने निर्णय भएको थियो । नेपाल पक्षका सांसदहरुको राजीनामा पनि तत्काललाई टरेको छ ।

अब विवाद समाधान उन्मुख भएपछि कार्यादल बन्ने र त्यसले दिएको सुझावका आधारमा पार्टी अगाडि बढ्ने समझदारी ओली र नेपालका बीचमा भएको छ । त्यही छलफलको मोडालिटीका विषयमा छलफल आज दिपक्षीय वार्तामा हुने छ ।

वार्ता अगाडि नेपालले आफू पक्षका स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग जुम बैठकमार्फत ओलीसँग भएको छलफलको नेपालले जानकारी दिएका थिए । त्यस्तै थप सुझाव समेत बोकेर नेपाल पक्ष सिंहदरवारमा ओली पक्षसँग वार्तामा पुगेको हो ।

प्रतिक्रिया