शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री ओलीको सपथ ग्रहण दिउँसो साढे २ बजे

मेरोन्यूज २०७८ वैशाख ३१ गते ८:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ लिंदै छन् । तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष ओलीले आज दिउँसो साढे २ बजे पद तथा गोपनियताको सपथ लिने तयारी भएको हो ।

राष्ट्रपति कार्यालयमा दिउँसो साढे २ बजे सपथ ग्रहणको तयारी भएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । सपथका लागि प्रधानमन्त्री ओलीको मात्रै नाम प्राप्त भएको उनले जानकारी दिए । यद्धपी मन्त्रीलाई पनि राष्ट्रपतिले नै सपथ गराउने भएकाले केही मन्त्रीले आजै सपथ लिने सम्भावना छ ।

यसअघि बिहीबार राति राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को ३ अनुसार संसदमा प्रतिनिधित्व गर्ने ठू्रलो दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन दाबी नपरेपछि राष्ट्रपति भण्डारीले संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले अबको तीस दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ। प्रतिनिधि सभामा विश्वासको मत नपाए उनी पदमुक्त हुनेछन् ।

यसअघि वैशाख २७ गते संसदमा विश्वास गुमाएपछि उनी पदमुक्त भएका थिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा एमालेका ९३ सांसदले पक्षमा मत दिएका थिए ।

कांग्रेस, माओवादी केनद्र, र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षका १२४ सांसदले विपक्षमा मत दिएका थिए । जसपा कै महन्थ ठाकुर राजेन्द्र महतो समूह भने तटस्थ बसेको थियो ।

२०७४ साल फागुन ३ गते प्रधानमन्त्री भएका ओली निरङ्कुश भएको भन्दै विपक्षी दलहरुले विरोध गरेका हुन् ।

ओलीले संसदमा विश्वास गुमाएसँगै विपक्षी दलहरु कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूहले नयाँ सरकार गठनका लागि पहल गरेका थिए । यद्धपी बहुमत पुर्‍याउन नसक्दा पछि हटेका हुन् ।

प्रतिक्रिया