शुक्रबार, वैशाख ७, २०८१

गर्लान् ओलीले बहुमतको सरकारको दाबी ?

जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँगको छलफलका लागि बालुवाटारमा

शित्तल शर्मा २०७८ वैशाख ३० गते १९:१६

काठमाडौं । संसद्मा विश्वासको मत गुमाएका प्रधानमन्त्री केपी ओलीले के तीन दिनमै फेरि बहुमत सांसदहरुको संख्या जुटाएर बहुमतको सरकारको दाबी गर्दैछन् ? एकाएक राजनीतिमा फेरि यो वहस शुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले बेलुकी ९ बजेसम्म संविधानको धारा ७६(२) अनुसार दुई वा दुई भन्दा बढी दललाई बहुमत जुटाएर सरकारको नेतृत्वका लागि आह्रवान गरेकी छिन् । तर विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) काे उपेन्द्र-बाबुराम पक्ष)ले अहिलेसम्म बहुमत जुटाउन सकेका छैनन् ।

मुख्य दल कांग्रेस र माओवादी केन्द्रले नै अब ओली नै प्रधानमन्त्री बन्ने आ आफ्नो दलको बैठकमा बिफ्रिङ गरिसकेका छन् ।

ओलीका लागि यतिबेला दुई तरिकाबाटै सरकारको दाबी गर्ने अवसर मिलेको छ । उनी धारा ७६ (२) र धारा ७६ (३) दुवै प्रक्रियाबाट प्रधानमन्त्री नियुक्त हुनसक्ने आधार देखिएको छ ।

एमालेको माधव नेपाल पक्ष प्रधानमन्त्री ओलीसँग टाढिएको थियो । तर ओलीले आज बिहानदेखि गरेको प्रयासमा नेपाल पक्षलाई पनि करिब सहमति नजिक पुर्याएका छन् ।

कार्यदलमार्फत विवाद मिलाउने विषयमा दुई नेता सहमति नजिक पुगेका छन् । नेपाल पक्षका ४ नेतामाथि पार्टी सदस्यसमेत नरहने गरी गरेको निलम्बनकाे कारवाही फुकुवा गरिएको छ । यसले एमालेभित्रको विवाद मिलापमा परिणत हुँदैछ ।

यस्तो हुँदा एमालेसँग सिंगै १२१ सिट सांसदहरुको संख्या छ । तटस्थ बस्ने र वैकल्पिक सरकार निर्माणमा सहभागी नहुने बताइरहेका जसपाभित्रकै महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरु ओलीसँग नजिक छन् ।

ओलीलाई १२१ कायम रहँदा बहुमतका लागि थप १५ सांसदहरुको आवश्यक पर्छ । बहुमतका लागि १३६ सांसद भए पुग्छ । ओलीले विश्वासको मत लिँदा जसपकाको महन्थ राजेन्द्र पक्षका १५ सांसद तटस्थमा मतदान गरेका थिए । थप २ जना अनुपस्थित भएका थिए ।

अहिले ओली लाई समर्थन गर्ने जसपाका सांसदहरु दिनभर भक्तपुरको डोलेश्वर रिसोर्टमा एकत्रित भएर बसेका छन् । उनीहरुको साथ रहे ओलीले बहुमतको सरकारको समेत दाबी गर्न सक्ने अवस्था छ ।

यो सुविधा पनि ओलीका लागि छ । तर उनले यो भएन भने पनि विपक्षी गठबन्धनले बहुमत पुर्याएर सरकारको दाबी गर्न नसक्ने भएपछि धारा ७६(३) अनुसार ठूलो दलको हैसियतमा पनि प्रधानमन्त्री नियुक्त हुन पाउनेछन् ।

उनले अब कुन प्रक्रियाअनुसार प्रधानमन्त्री दाबी गर्लान् ? अहिले चासो छ ।

कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री ओलीले बहुमतको सरकारको दाबी पनि गर्न सक्ने सम्भावनाबारे पार्टी नेताहरुलाई बिफ्रिङ गरेको एक नेताले बताए ।

महन्थ ठाकुर र राजेन्द्र महतोसमेत यतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् । उनले आफू पक्षका सांसदहरुको हस्ताक्षरसहितको सहमति दिएमा उनी बहुमतका आधारमा पनि प्रधानमन्त्री दाबी गर्न सक्ने हैसियतमा रहन सक्ने देखिन्छ ।

माधव नेपालसँग व्यवसायी रामेश्वर थापाको निवासमा चार घण्टा लामो संवाद गरेर फर्केपछि ओलीले महन्थ र राजेन्द्रलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका हुन् ।

ओली विपक्षीहरुले बहुमत जुटाउन असफल भएपछि प्रधानमन्त्रीमा सुनिश्चित बनेका छन् । तर उनले कुन धारा अुनसार कुन प्रक्रिया अवलम्बन गरेर प्रधानमन्त्री बन्छन् भन्ने मात्र अहिले प्रतिक्षाको विषय बन्न पुगेको छ ।

ओली निकट एक नेताले भने,–‘बहुमतकै आधारमा दाबी गरेपनि संख्या हामीलाई अब पुगेको छ, त्यसो नभई अर्काे ठूलो दलको हैसियतमा पनि प्रधानमन्त्री हाम्रो दल नेता प्रधानमन्त्री ओलीकै पोल्टामा आएका छ । अब परिस्थिति मूल्यांकन गरेर प्रधानमन्त्रीले निर्णय लिनुहोला ।’

प्रतिक्रिया