शुक्रबार, वैशाख ७, २०८१

एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान

मेरोन्यूज २०७८ वैशाख ३० गते १२:०६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भगवान महावीर जैन–निकेतन र आरम्भ फाउण्डेशनको सहयोग र सहकार्यमा कोभिड संक्रमितका लागि आज बिहिबारबाट सेवा दिने भएको छ ।

काठमाडौंको कमलपोखरीस्थित जैन निकेतनमा ड्राई (अक्सिजन र आपतकालिन उपचार विनाको) आइशोलेसन सेन्टर संचालनमा ल्याएको हो ।

आइशोलेसन सेन्टरमा अहिले जम्मा २६ बेड रहेका छन् । आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्ने योजना रहेको उद्योग वाणिज्य महासंघले जनाएको छ । कोरोना संक्रमणका कारण आइशोलेसनमा बस्न समस्या परेका निम्न आय भएकालाई लक्षित गरी उक्त सेन्टर संचालनमा ल्याएको हो । निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमित कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितलाई उचित वातावरणमा एकै ठाउँमा राखी संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्य महासंघको छ ।

आइशोलेसनका लागि स्थान भगवान महावीर जैन–निकेतनले उपलव्ध गराएको छ भने आरम्भ फाउण्डेशनले आइशोलेसनको दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी सहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरी आइशोलेसनमा रहेका संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सहित औषधि उपचारको प्रवन्ध गर्नेछ । स्थानीय तहमा संक्रमितहरूसंग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गर्ने छ ।

आइशोलेसनमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउसोको खाजाको प्रवन्ध गरिने छ । केन्द्रमा अक्सिजन बाहेक कोरोना संक्रमितका लागि दिइने खाने औषधि उपलव्ध गराइने छ ।

आइशोलेसनमा रहंदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा विरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गरिदिने छ भने तत्पश्चातको सम्पूर्ण व्यवस्थापन विरामी आफैले गर्नुपर्नेछ । केही व्यवहारिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रारम्भमा कोभिड संक्रमित एकल महिलालाई सेन्टरमा सेवा दिन असमर्थ हुने महासंघले स्पष्ट पारेको छ ।

यस्तै सामूहिक आइशोलेसन भएको कारण जेष्ठ नागरिक, दीर्घ रोगीहरू लगायत १५ वर्षमुनिका बालबालिकालाई पनि यस केन्द्रमा हाललाई सेवा दिन असमर्थ रहेको महासंघले जनाएको छ । तर निकट भविष्यमा केहि थप व्यवस्था गर्दै जाने महासंघको दाबी छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले कतिपय संक्रमितहरू संक्रमणका बखत उचित खानपिन र क्वारेन्टाइनको अभावमा ठूलो समस्यामा पर्ने भएकाले दैनिक कमाएर गुजारा गर्नुपर्ने निम्न आय भएका वर्गहरूलाई लक्षित गरी उनीहरूलाई सहयोग गर्न महासंघले आइशोलेसन सेन्टर संचालनमा ल्याएको जानकारी दिए । उनले भने,“यस्ता आइशोलेसन सेन्टरको संचालनबाट कोरोना संक्रमण नियन्त्रणमा समेत सघाउ पुग्ने मेरो विश्वास छ ।”

आइशोलेसन सेन्टर स्थापनामा भूमिका निर्वाह गरेका महासंघका कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यले विभिन्न संघ संस्थाहरूको सहयोग र समन्वयमा यस्ता सेन्टरहरू अन्य ठाउँमा पनि विस्तार गर्दै जाने योजना रहेको र जैन ज्ञान भवनमा संचालनमा ल्याउन लागेको आइशोलेसन सेन्टर स्थापनामा सहयोग गर्ने सवै संघ÷संस्थालाई हार्दिक धन्यवाद दिए ।

महावीर जैन–निकेतनका अध्यक्ष विजय दुगडले आफ्नो संस्थाबाट सधै समाज सेवा र यस्ता कार्यक्रम आयोजना गर्दै आएकाले आफ्नो स्थान उपलव्ध गराई यो महामारीमा केहि गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

आरम्भ फाउण्डेशनका अध्यक्ष सिमा अधिकारीले यो सत्कार्यमा स्वास्थ्य उपचार र दैनिक व्यवस्थापनका लागि सहभागी हुने अवसर दिएकोमा महासंघलाई धन्यवाद दिदै यूवाहरूले देशलाई परेको यो संकटमा केहि गर्ने मौका पाएका छौं, त्यसैले योगदान गर्न अघि सर्ने विश्वास व्यक्त गरिन् ।

स्मरणीय छ, महासंघले कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको र सोही अभियान अन्तरगत उक्त आइशोलेसन सेन्टर संचालनमा ल्याएको हो । महासघले यसअघि कोभिड संक्रमितलाई उचित स्वास्थ्य परामर्शका लागि हेल्लो डाक्टर संचालनमा ल्याई सकेको छ ।

प्रतिक्रिया