बुधबार, कार्तिक १०, २०७८

सङ्क्रमित र तिनका परिवारलाई अपहेलना नगरौं

मेरोन्यूज २०७८ वैशाख ३० गते ६:५७

टीकापुर । कैलालीमा कोरोना सङ्क्रमितले भोग्ने स्वास्थ्य समस्याभन्दा सङ्क्रमितका परिवारले भोग्ने सामाजिक अपहेलना झन डरलाग्दो छ ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको बेला छरछिमेकमा सद्भाव कायम राख्न आग्रह गरेको छ तर समुदायमा सङ्क्रमितका परिवारले अपहेलना भोगिरहेको गुनासो गर्न थालेका छन् ।

टीकापुरको ब्लक नं ‘सी’ का एक युवक सङ्क्रमित भए । युवक सङ्क्रमित भएपछि उनको परिवारले सामाजिक अपहेलना भोगेको बताए ।

“बाहिर निस्कियो कि छिमेकीले नै कोरोना सार्न निस्किएको हो भन्न थाले, खाद्यान्न तरकारी पनि किन्न पाइएन, पसलेले पनि सामान दिन मानेनन्”, युवककी श्रीमतीले भनिन्, “रातिको समयमा टाढाका पसलमा मुख छोपेर अत्यावश्यक सामान खरिद गरेर ल्याएँ ।”

श्रीमान् बिरामी भएको पीडा हुँदाहुँदै छिमेकीले गरेको व्यवहारले थप पीडा दिएको उनले बताइन् । “अपराधीलाई जस्तै व्यवहार गरे, करिब २० दिन निकै गाह्रो भयो”, उनले भनिन्, “मनोबल उच्च बनाउने समयमा दुर्व्यवहार सहनुपर्दा पीडा हुनेरहेछ ।”

Advertisement

जानकी गाउँपालिकाका ४३ वर्षीय अर्का युवक भारतमा रोजगारी गुमेपछि स्वदेश फर्किए । स्वदेश फर्केको तीन दिनपछि उनलाई स्वास्थ्य समस्या शुरु भयो । उनले पीसीआर परीक्षण गर्दा नतिजा पोजिटिभ आयो ।

“मसँगै परिवारका अन्य सदस्यसमेत बिरामी भए । सबैलाई स्वास्थ्य समस्या शुरु भयो । सङ्क्रमित छौं भनेपछि अरुलाई जोखिम नहोला भनेर छिमेकीलाई भन्यौं”, युवकले भने, “म त समुदायबाटै एक्लो भएँ, मेरो घरमा छिमेकीले हेर्न पनि छोडे । अहिले हामी सबै निको भइसक्यौं तर हाम्रो घरतिर न कोही हेर्छन्, न बोल्छन् ।”

समाजमा होम आइसोलेशनमा बसेका मानिसलाई असल छिमेकीले आवश्यक खाद्यान्न, अन्य सामग्री र औषधि किनेर ल्याइदिनु पर्ने हो तर सङ्क्रमित वा सङ्क्रमणको शङ्का लागेका परिवारलाई समाजमा दुर्व्यवहार गर्न थालिएको छ ।

अझ बजार क्षेत्रमा कोठा भाडामा बस्नेलाई बढी कठिनाइ छ । कोठा भाडामा बस्नेहरु सङ्क्रमित भइहाले कोठा छोड्नुपर्ने डरले परीक्षणमा समेत जान सकेका छैनन् । टीकापुर १ ब्लक ‘बी’ मा स्थानीय सहकारीमा कार्यरत एक महिलाको परिवार बस्छ । श्रीमान् भारतमा रोजगारी गर्छन । एक सातादेखि महिला र महिलाका दुई बच्चा बिरामी छन् ।

“छिमेकीले शङ्का गरेका छन् तर बिसञ्चो हुँदा पनि समस्या छैन भन्नुपरेको छ”, महिलाले भनिन्, “धारा र शौचालय एउटै छ । बिरामी भए कोठा खाली गर्नु भन्लान् भन्ने डरले लुकेर औषधि गर्न गयौं ।”

सङ्क्रमण फैलिनबाट बच्नु आफैंमा बुद्धिमानी हो तर सङ्क्रमण भइहालेमा सङ्क्रमित बचाउन सबैको सहयोग आवश्यक हुन्छ । सङ्क्रमित र तिनका परिवारका लागि आवश्यक सहयोग सबै क्षेत्रबाट हुनुपर्ने समाजशास्त्री शिवचरण चौधरी बताउँछन् ।

“सङ्क्रमितलाई परीक्षण र उपचारका लागि अस्पतालसम्म जाने वातावरण समुदायले बनाइदिनुपर्छ । उनीहरुले आवश्यक सामानमात्र होइन, औषधि, एम्बुलेन्स आदिका लागि तड्पिनुपरेको छ”, उनी भन्छन्, “यस्तो कठिनाइ भोग्नुपर्दा उनीहरुको मनोबल कमजोर हुन्छ । मनोबल बढाउने काममा सबै सहयोगी बन्नुपर्छ । दूरी कायम गरेर सहयोग गर्दा सबैलाई सहज हुन्छ ।”

टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स तथा मनोसामाजिक परामर्शकर्ता कल्पना खड्का कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले यसबाट बच्नका लागि दुर्व्यवहार गर्न आवश्यक नभएको बताउँछिन् ।

“अप्ठ्यारो तथा समस्यामा चाहिने भनेकै छिमेकी हो । छिमेकी बिरामी भएर छटपटाइरहेका बेला उसलाई आवश्यक सहयोग गर्न कञ्जुस्याईं गर्नु गलत हो”, खड्का भन्छिन्, “चिकित्सक तथा स्वास्थ्यकर्मीले कसरी सेवा गरिरहेका छन् ? उनीहरुलाई पनि त मृत्युको डर होला ? चिकित्सकले यो समयमा गरेको सेवाबाट केही सिकौं ।”

स्टाफ नर्स खड्का समाजमा सद्भाव बचाइराख्न अप्ठेरोमा रहेकालाई सहयोग गरे अस्पतालमा पनि बिरामीको भीड कम हुने बताउँछिन् ।

“अस्पतालहरुमा धान्नै नसकिने भीड छ, दूरी कायम गरेर सुरक्षित तवरले एक अर्कालाई सहयोग गरौं”, उनले भनिन्, “यो बेला धेरै मानिस आत्तिएर मरिरहेका छन् । मानिसलाई शान्त रहन प्रोत्साहन गरौं ।”

प्रतिक्रिया