शनिबार, वैशाख ८, २०८१

देउवा निवास किन धाईरहेछन् माधव नेपाल ?

सामूहिक राजीनामा गर्ने/नगर्नेमा नेपाल समूहभित्रै दुई धार, अझै अलमलमा छन् माधव नेपाल

रामकृष्ण अधिकारी २०७८ वैशाख २९ गते २१:२६

काठमाडौं । मंगलवार दिनभर आफ्नो समूहका नेतासँग लामै संवाद गरेका नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल बेलुकी कांग्रेस सभापति शेरवहादुर देउवा भेट्न उनकै निवास बूढानीलकण्ठ पुगे । उनले साथै लिएर गएका थिए,- आफ्नै समूहभित्रका पनि ‘हार्डलाइनर’ नेता भीम रावल ।

कांग्रेस सभापति देउवा यतिबेला आफ्नै नेतृत्वमा सरकार बनाउन कस्सिएका छन् । तर उनका लागि बहुमत जुटाउन जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले साथ दिनैपर्छ या एमालेभित्रकै माधव नेपाल र झलनाथ खनाल पक्षले ।

बूढानीलकण्ठ मै देउवाले पार्टीका प्रभावशाली नेताहरुलाई राखेर ‘बहुमत जुटाउन गाह्रो भयो, तपाईहरु पनि जुटिदिनुपर्याे’ भन्दै साथ मागेकै साँझ नेपाल-रावल देउवा निवास पुगेका थिए ।

दुवै पक्षका भेटघाट ‘गोप्य’ राखियो । भेटघाट नै गोप्य राखिएपछि छलफलका विषय त झन खुल्ने कुरै भएनन् । तर निकट नेताहरुको भनाइ अनुसार, बहुमत जुटाउन विपक्षी गठबन्धनलाई परिरहेको मुश्किलका विषयमा दुई पक्षबीच खुलेर कुराकानी भयो ।

जसपाको महन्थ–राजेन्द्र पक्षले साथ नदिँदा माधव नेपाल पक्षले संसदबाट राजीनामा दिन सक्छन् की सक्दैनन ? देउवाले भेटमा निक्कै बेर नाडी छाम्ने प्रयास गरे । नेपालले भने आफ्नो पक्षको बाध्यता देउवालाई सुनाए ।

हुन त नेपालले राजीनामा दिने बचन देउवालाई केही दिन अगाडि नै दिइसकेका हुन् । तर ‘विद्रोह या आत्मसमर्पण’ ? भन्ने पछिल्लो तीन दिन यता चर्किएको बहसले नेपाल आफ्नै समूहभित्र अप्ठ्यारोमा पर्न थालेका छन् ।

जसपाभित्र भन्दा पनि देउवाको आश नेपाल समूहसँगै देखिन्छ । सोही कारण कांग्रेस पदाधिकारीहरु माधव नेपाल पक्षको रणनीतिक ‘मुभ’लाई नजिकबाट नियाल्न खोजीरहेका छन् । पछिल्लो एक सातामा देउवाको नेपालसँग हिमचिम पनि बाक्लिँदो छ । २० वैशाख यता मात्रै उनले माधव नेपालसँग कहिले सामूहिक त कहिले एक्लै गरी ४ पटक देखिने गरी नै संवाद गरिसकेका छन् ।

नदेखिने संवाद अझ बढी भएको हुनसक्ने घटनाक्रमले देखाउँछन् ।

यस्तो छ देउवा – नेपाल भेटतालिका

  • २८ वैशाख : माधव नेपाल, भीम रावल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच देउवा निवासमा भेटवार्ता ।
  • २४ वैशाख : शेरबहादुर देउवा र माधव नेपालको दूतका रुपमा भीम रावलबीच देउवा निवासमा दिनभर भेटवार्ता ।
  • २३ वैशाख : शेरबहादुर देउवा, माधव नेपाल र भीम रावलबीच देउवा निवासमा भेटवार्ता ।
  • २० वैशाख : शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाल र उपेन्द्र यादवका बीचमा देउवाका आफन्त प्रमोद राणाको निवासमा भेटवार्ता ।

माधव नेपाल पक्षभित्रको उकुसमुकुस

असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधामन्त्री केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूती दृष्टिले धेरै उचित छ । – भीम रावल

हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकी रहेको नेकपा (एमाले)लाई विभाजित गरिँदैछ । आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन । विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ । – घनश्याम भुसाल

एमालेको माधव नेपाल पक्षभित्र कतिसम्म राजनीतिक उकुसमुकुस छ भन्ने कुरा प्रभावशाली यी दुई नेताका सामाजिक सञ्जालमा बुधबारै व्यक्त धारणाले पुष्टि गर्छ ।

विद्रोह या आत्मसमपर्ण ? नेपाल क्याम्पमा चलेको सबैभन्दा ठूलो बहस यही हो । झण्डै दुई तिहाई अर्थात् २०८ सांसदको विश्वासको मत लिएर ४० महिना सिंहदरबारको डाडुपन्यू चलाएका ओली सोमबार ९३ मात्रै सांसदको साथमा झरेपछि पदमुक्त बने ।

तर ओलीको फेरि आगमन हुने/नहुने ? जसपा दुई कित्तामा विभाजित भएपछि अब नेपाल समूहले लिने रणनीतिमै निर्भर हुँदैछ ।

नेपाल समूहले भोलिको दिन कुन स्टेप उठाउँछन् ? यसैमा ओलीको सत्ता पुनरागमनको निधो लाग्दैछ । ओलीलाई रोक्न र विपक्षी गठबन्धनको बहुमत जुटाइदिन माधव नेपाल पक्षका सांसदहरुको राजीनामा अनिवार्य छ ।

तर के माधव नेपाल पक्षका सांसदहरुले बुधबार भीम रावलले सामाजिक सञ्जालमै प्रष्ट लेखेझै राजीनामा दिदैछन् ? अवस्था के त्यस्तो छ त ?

‘त्यस्तो नहुन सक्छ,’ नेपाल पक्षका एक नेताले मेरोन्यूजसँग भने । त्यसो भए किन नेपाल सरकारको नेतृत्व दाबी गरिरहेका देउवा निवासमा कुदिरहेका छन् त ? ‘इन्ग्रेज गराउनका लागि मात्रै हो, धेरै आश नगरे हुन्छ ।’ ती नेताले भने ।

नेपाल समूहमा अहिले दुई धार प्रष्ट देखिएको छ । जसको असरले नेपाल निर्णय लिन सकिरहेका छैनन । एउटा खेमा अहिले पार्टी ब्रेक (फुटाउनु ) गर्नुहुँदैन । यो समय आइसकेको छैन भन्ने पक्षमा छ । सार्वजनिक जीवनमा भिजेका र प्रभावशाली जनसम्पर्कमा रहेका नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेता यो समूहमा छन् ।

तर अर्काे खेमा अब विद्रोह बोल्न ढिला गर्नुहुन्न । बेला भइसक्यो । अब यही बाटोबाट जान सकिदैन भन्ने अन्तिम निष्कर्षमा पुगिसकेको देखिन्छ । यसमा भीम रावल, माधव नेपाल, झलनाथ खनालसम्म पनि छन् ।

घनश्याम भुसाल भने अझै बीचमा देखिन्छन् । उनी विद्रोह गर्न एकातिर खुट्टा उचालिरहेका देखिन्छन भने अर्काेतिर ओली पक्षसँगको संवादमा पनि । योगेशको ओलीसँगै अझै मिल्न प्रयास जारी राख्नुपर्ने मतमा भुसाल पनि सँगै देखिन खोजेका छन् ।

तर माधव नेपाल प्रष्ट देखिन्छन, अबको विकल्प सामूहिक राजीनामा नै हो भन्नेमा । राजीनामा कै पक्षमा रहेको संख्या प्रत्यक्षतर्फ निर्वाचित २२ मध्ये ९ देखि १३ को बीचमा रहेको नेपाल पक्षका नेताहरुको भनाइ छ । त्यो भन्दा बाँकी नेताहरु राजीनामाको विपक्षमा छन् ।

तर, अनिर्णित बनिरहँदा नेपाल पक्ष न मरी जाने, न गरी खाने स्थितिमा छ । यही स्थितिमा अल्झिरहनु भनेको नेपाल समूहलाई नै क्षयीकरण गराउँदै लैजानु हुनेछ ।

आफूहरुले राजीनामा दिएपछि देउवाको नेतृत्वमा सरकार बन्छ । त्यो राजनीतिक कदम हुन सक्दैन । यो कुराको जनताका बीचमा पुष्टि हुने गरी प्रमाणित गरेर जान सकिँदैन भन्नेमा योगेश, गोकर्ण विष्ट लगायतका नेता छन् ।

वामपन्थी नेतृत्वको अर्काे कसैको नेतृत्वमा सरकार बनेको भए एउटा कुरा तर कांग्रेसको नेतृत्वमा बन्ने सरकारको पुष्टि गरेर जान नसकिने तर्क उनीहरुको देखिन्छ ।

अहिलेको ओली सरकारले भन्दा राम्रो देउवाको नेतृत्वको सरकारले गर्छ के ? नेपाल समूहमा यो पनि ठूलै बहस बनेको छ । ‘राजीनामा दिइसकेपछि नयाँ पार्टी बनाइहाल्नुपर्याे । पार्टी बनाइहाल्ने स्थितिमा पुगेको छैन । ग्राउन्ड अझै बनिसकेको छैन’ राजीनामा दिइहाल्न नहुने समूहका नेताहरुको यस्तै तर्क छ ।

तर प्रधानमन्त्री ओलीमा शक्तिमा रहेर अहंकार बढेकोले आफूहरु माथि पेलेरै मात्र जाने स्थिति देखापरेकोले सत्ता बाहिर निकालेर वास्तविकता देखाइदिनुपर्ने रावल पक्षहरुको मत देखिन्छ ।

नेपाल भने समूहभित्र विभाजन भन्दा पनि सामूहिक निर्णय सबैका लागि मान्य हुने निर्णयमा अल्झिँदा अनिर्णित बनिरहेका हुन् ।

‘विना सम्झौता समर्पण गर्ने भनेकै होइन, तर सामूहिक राजीनामा दिएर अर्काे सरकार बनाउने कुराको सहयोगी बन्नु हुँदैन ।’ नेपाल समूहकै एक नेताले भने, -‘अब ओली मान्दैनन , त्यसैले नयाँ पार्टी बनाउनै पर्छ । पार्टी बनाउनु भनेको माओवादीसँगको एकताका लागि पनि होइन भन्ने निष्कर्ष धेरै साथीहरुमा छ ।’

नेपाल समूहले भोलि मध्यान्हसम्म कुनै निर्णय लिएन भने ओलीको विकल्प अर्काे खोज्न सक्ने वातावरण बन्दैन । त्यसकारण पनि नेपाल समूह दबाबमा छ । उसले समूहभित्रै बहसमा रहेको आत्मसमर्पणको नीति लिनै पर्छ कि विद्रोह बोल्नैपर्छ । तर कुन बाटो लिन्छन् ? अझै खुल्न सकेको छैन ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया