शुक्रबार, चैत १६, २०८०

निषेधाज्ञा र खिचातानीको चपेटामा आगामी बजेट

किरण अधिकारी २०७८ वैशाख २९ गते १८:१७

काठमाडौँ । कोटेश्वरका अनिल लामा देशमा कोरोनाको महामारी चलिरहेको बेला कस्तो बजेट ल्याउने भन्नेमा सरकारको ध्यान नगएको बताउँछन् । कैलाली टीकापुरका सुभाष चौधरीले कोराना महामारीका बीच बजेटले स्वास्थ्यलाई ध्यान दिनु पर्ने भए पनि कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा राजनीतिक दल लागेको बताए । कृषि, रोजगार, जलविद्युत र स्वास्थ्यलाई अर्थ मन्त्रालयले ध्यान दिएर बजेट राम्रो बनाउनु पर्ने उदयपुरका रेवत कटवालको भनाई छ ।

उनीहरुको भनाइ त केही उदाहरण मात्र हुन् । वास्तवमा मुलुकको आर्थिक विकास योजना कार्यान्वयन गर्न बजेट मुख्य बिन्दु हो । तर, देशको अर्थतन्त्र बिग्रनुमा अर्थमन्त्रीको भूमिका कति हुन्छ ? यो आफैमा एक प्रश्न हो ।

बजेट कस्तो हुने भन्ने विषयमा देशका प्रमुख राजनीतिक दलका नेताहरू, अर्थविद्, विश्वविद्यालयका अर्थ विषयका शिक्षक र विद्यार्थीको पनि आफ्नै जिम्मेवारी हुन सक्छ । तर, उनीहरू यसबारेमा अनविज्ञ हुँदै आएको देखिन्छ । बजेट आएपछि बसह गर्न चाहन्छन् तर, यो ढिला भइसकेको अवस्था हुनेछ ।

देशमा जारी निशेधाज्ञा र राजनीतिक खिचातानीका बीच आगामी जेठ १५ गते यस वर्षको बजेट सार्वजनिक हुने भएको छ । बजेट सार्वजनिक हुने दिन नजिकिँदै गर्दा पहुँचवाला निकाय र व्यक्तिहरू आफ्नो दुनो सोझ्याउन व्यस्त रहेका छन् ।

देशमा कोरोना भाइरस (कोभिड–१९)का कारण यस वर्षको बजेटले स्वास्थ्य समस्या समाधान हुने गरी आउनु पर्नेमा विज्ञहरूले मत राख्दै आएका छन् । यसैबीच प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट अविश्वासको मत पाएसँगै अब बन्ने सरकार र आगामी बजेटबारे अन्योल बढ्दै गएको छ ।

Advertisement

नेपाली कांग्रेसका नेता एंव पूर्व अर्थमन्त्री महेश आचार्यले जीवन, राजनीति र अर्थ मिश्रण भएकाले बजेटलाई यसमा मिसाउन नहुने बताए । उनले भने, “सरकारको नेतृत्व गरेको दलका सम्बन्धित व्यक्ति बजेटमा सल्लाह सुझावसहित आवश्यकतामा जोड दिँदै बढेका छन् ।”
राणा शासनपछि विं.सं. २००८ सालमा आएको पहिलो बजेटदेखि अहिलेसम्म हामी कसरी आइपुग्यौँ भन्नेमा सबैले ध्यान दिनुपर्छ । होइन भने ७० वर्षपछिको २०७८ साल (आर्थिक वर्ष २०७८÷७९) को बजेटमा हामी कसरी अघि बढ्ने भन्ने थाहा पाउन तगारो नआउने होइन । यसका लागि अनुसन्धानसहित प्रयोगमा जोड दिनु पर्ने जानकारको दाबी छ ।

पूर्व अर्थमन्त्री एंव राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाशचन्द्र लोहनीले समृद्धि बढाउने, असमानता घटाउने लक्ष्य पहिलो बजेट भएको बताउँदै आफ्नो पालादेखि अहिलेसम्म समृद्धि बढाउने, असमानता घटाउनेमा केन्द्रीत हुने बजेटमा जोड दिए । उनले थपे, “एउटा निहुँमा बजेट जोड्नु, कुनै समस्या पर्दा कोभिड भन्नु जस्तै हो, यसमा अनुसन्धानको आवश्यकता पर्छ, सञ्चार माध्यमले कोभिड र राजनीति थपघटले बजेटमा असर देखाउनु हुँदैन ।”

त्यसो त २०७६ चैत्रमा नेपाल उद्योग वाणिज्य महासंघको पहलमा आर्थिक विकास र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका सरोकारवालासँग नियमित बहस चलाई आर्थिक विकासमा सार्थक योगदान पुर्याउने उद्देश्यले पूर्व अर्थमन्त्री विचार मञ्चको गठन भएको थियो । जसमा वर्तमान अर्थमन्त्री विष्णु पौडेल र जनता समाजवादी पार्र्टी (जसपा)का नेता बाबुराम भट्टराई उपस्थित थिएनन् ।

आगामी बजेटले कोभिड–१९ को उपस्थितिले सिर्जना गरेको विषम परिस्थितिलाई सम्बोधन गर्नु पर्नेमा दुई मत छैन । महामारी सिर्जित जटिल परिस्थितिमा नेपालले सबैभन्दा पहिले जन स्वास्थ्यका प्रतिकूलतालाई अन्त्य गर्दै आर्थिक क्रियाकलाप विस्तारमा दिनु पर्नेछ ।

कोरोनाबाट जनता स्वस्थ भएपछि मात्र सबै राम्रो हुने भएकाले स्वास्थ्य क्षेत्रको बजेट ठूलो मात्रामा बढाउन आवश्यक रहेको एमालेका नेता एंव पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको भनाई छ । उनी भन्छन्, “राजनीतिक पार्टीबीच हुने बाधाले बजेटमा अनौपचारिक असर पार्नेमा दुई मत छैन ।”

सबै बजेटको लक्ष्य मुलुक धनी बनाउने र असमानता नबढोस् भन्ने नै हो । तर, बजेटमा मुलुकको रुपान्तरणलाई सोचेर केही आयोजना बनाएका छैनन् । अहिलेको राजनीति, अर्थतन्त्र र बजेटलाई हेर्ने र देखिने अवस्था के हो बुझ्न आवश्यक छ ।

नेपालमा कोरोना सुरु भएको बेलामा प्रधानमन्त्री ओलीले आफ्नो जिन्दगीको झण्डै एउटा पाटोमा स्वास्थ्यसँग जोडिएको बताएका थिए । “सरकारले कोरोनाविरुद्ध अभियानका लागि बजेटबाट केही सहजकता ल्याउने छ,” प्रधानमन्त्रीले गत वर्ष नै सार्वजनिक रुपमा भनेका थिए । प्रधानमन्त्रीले गत वर्ष भनेको यही वाक्य यस वर्ष पनि लागू हुने पक्का छ ।

बजेट सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा राजनीतिक दलको अस्थिरताले कत्तिको असर पार्छ ? यो भने हेर्न बाँकी छ ।

याे पनि पढ्नुहोस्

बिहान ८ बजे सिंहदरबार छिरेपछि एकैपटक घर फर्कने अर्थमन्त्रीको समय हो, राति १० बजे

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया