शुक्रबार, वैशाख १४, २०८१

चौलागाईका निधनमा एमालले ३ दिन आधा झण्डा झुकाउने

मेरोन्यूज २०७८ वैशाख २९ गते १५:५५

काठमाडौँ । नेकपा एमालेले प्रदेशसभा सदस्य पशुपति चौलागाईका निधनमा तीन दिन पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । उनको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोक पुस्तिका पनि राखिने छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागाईको तस्वीरमा माल्यार्पण गरी नेताहरूले आज अन्तिम श्रद्धाञ्जलि दिएका थिए । साथै कार्यालयमा शोक पुस्तिकासमेत राखिएको छ ।

पार्टी केन्द्रीय सदस्य चौलागाईको मंगलबार कोरोना संक्रमणबाट निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चौलागाई दोलखा ‘ख’बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद भएका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको निधनबाट शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताएका थिए । पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मिएका उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

प्रतिक्रिया