शुक्रबार, वैशाख १४, २०८१

इजरायल र हमासबीच शत्रुता चर्किंयाे, ४० जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २९ गते १३:१०

एजेन्सी । जरायल र हमासबीचको शत्रुता बुधवार चर्किंदा गाजामा कम्तीमा ३५ जना मारिएका छन् भने इजरायलमा पाँचजनाले ज्यान गुमाएका छन् ।

इजरायलको निरन्तर हवाई आक्रमणका कारण गाजामा रहेको अग्लो आवासीय भवन आक्रमणमा परी भत्केको थियो भने अर्कोमा गम्भीर क्षति पुगेको थियो ।

सन् २०१४ मा इजरायल र हमासबीच भएको युद्धपछि यो सबभन्दा भीषण भिडन्त हो । परिस्थिति काबुबाहिर जाने हो कि अन्तर्राष्ट्रिय रूपमा चिन्ता व्यक्त गरिएको छ ।

इजरायलको आक्रमणका कारण गाजामा घरहरू हल्लेका थिए र रातिको आकाश चम्केको थियो । हमासले प्रहार गरेको रकेटलाई इजरायलको हवाई प्रतिरक्षा प्रणाली आइरन डोमले रोकेको थियो ।

प्यालेस्टाइनी समूहहरूको आक्रमणपछि इजरायलीहरू आश्रयस्थल खोज्दै दौडिएका थिए र सडकपेटीमा घोप्टो परेर पल्टिएका थिए ।

हमासको सशस्त्र इकाइले बीरशेबा र तेल अभिभतर्फ २१० वटा रकेट प्रहार गरेको जनाएको छ । इजरायली सेनाका अनुसार, एक तिहाइ रकेटहरू गाजमै खसेका छन् ।

मुसलमानहरूको पवित्र महिना रमजानका बेलामा जेरुसेलममा रहेको अल–अक्सा मस्जिदमा इजरायली प्रहरी र प्यालेस्टाइनी विद्रोहीहरूबीच झडप भएपछि युद्धको माहोल बनेको थियो । त्यसअघि हप्तौंसम्म तनावको स्थिति थियो ।

पूर्वी जेरुसेलमबाट प्यालेस्टाइनी परिवारहरूलाई घरबाट निकाल्न सकिने गरी अदालतमा सुनुवाइ भइरहेको अवस्थामा यो तनाव चर्किएका हुन् ।

प्रतिक्रिया