शुक्रबार, चैत १६, २०८०

अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लम्बियो, अत्यावश्यक उडान जारी

मेरोन्यूज २०७८ वैशाख २९ गते १२:२२

काठमाडौँ । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जरुरी सूचना निकालेर अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी गराएको हो ।

तथापि नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ । उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन हुनेछ । नेपालमा यही वैशाख २३ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो ।

अहिले अन्तर्राष्ट्रिय तथा आन्तरिकतर्फ कार्गो तथा उद्धार उडान मात्रै सीमित संख्यामा भइरहेको छ । राजधानी काठमाडौँ उपत्यकाको निषेधाज्ञा आगामी जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ । सरकारले कोभिड महामारी नियन्त्रणका लागि वैशाख १६ देखि उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरेको छ ।

अन्तर्राष्ट्रियमा आज विभिन्न एयरलाइन्सका चार कार्गो, एक ट्राभल बबल र एक ट्रेनिङ उडान हुने विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आन्तरिकतर्फ हेलिकोप्टर कम्पनी तथा एयरलाइन्सका गरी मंगलबार ६२ उडान भएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्र्तराष्ट्रियमा तीन नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गरिरहेका छन् ।

Advertisement

प्रतिक्रिया