शुक्रबार, वैशाख १४, २०८१

उपेन्द्र-महन्थ विवाद

जसपामा बहुमतले ठाकुर समूहलाई कारबाहीको तयारी

मेरोन्यूज २०७८ वैशाख २९ गते ११:२३

काठमाडौँ । सत्ता समीकरणमा कुरा नमिल्दा पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको जनता समाजवादी पार्टी(जसपा)मा बुहमतले अल्पमतलाई कारबाही गर्ने तयारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार बनाउन दिएको समय बिहीबार (भोलि) साँझ ९ बजे अगावै कारबाही गर्ने तयारी भएको हो ।

जसपामा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले विपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई नयाँ सरकार गठनमा सहयोग गर्नुपर्ने बताइरहेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह भने सहयोग गर्न नहुने पक्षमा छ ।

यधपी डा बाबुराम भट्टराईले गठवन्धनमा मत नपुग्ने भए वर्तमान र पूर्व प्रधानमन्त्री वाहेकका नेताको नेतृत्वमा राष्टिय सहमतिको सरकार गठन गर्ने, राजनीतिक दलका प्रमुख नेता र पूर्व प्रधानमन्त्रीहरु रहेको संन्यत्र बनाउने र एक वर्षभित्रै निर्वाचन गर्ने प्रस्ताव पनि छलफल गर्न सकिने भन्दै सार्वजनिक गरेका छन् ।

तर जसपाभित्रको समिकरणले ओलीलाई नै सत्ता वुझाउने गतिवधिसँग भने उपेन्द्र बाबुराम पक्ष सन्तुष्ट छैन । यसमा महन्थ र राजेन्द्रले खेलेको भूमिकाले ओलीलाई नै बचाउने देखेपछि पार्टीभित्रको आन्तरिक कारवाही प्रक्रिया यो पक्षले अगाडी बढाउन चाहेको हो ।


कार्यकारिणी परिषद् र संसदीय दलमा बहुमत रहेको दाबी गर्दै सकभर ठाकुर समूहलाई मनाउने, नमाने कारबाही गरेर भए पनि विपक्षी गठबन्धनलाई सघाउने निर्णय गर्ने तयारीमा यादव समूह लागेको हो । यादव समूहका एक नेताले आज दिनभर मनाउने प्रयास गर्ने, नमानेमा भोलि कारबाही गरेरै भए पनि विपक्षीलाई सघाउने निर्णय गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘पार्टीमा अनुशासनहिनत बढ्यो । त्यो लुम्बिनीमा देखियो, गण्डकीमा पनि गर्ने प्रयास भयो । केन्द्रमा त झन छरपस्टै देखियो,’ ति नेताले भने, ‘आज दिनभर एउटा निर्णय गर्न सहमति जुटाउने प्रयास गर्छौ । भएन भने बहुमतले निर्णय गर्नैपर्छ । पार्टी अनिर्णयको बन्दी हुन सक्दैन ।’
ठाकुर पक्षका एक नेताले सहमतिमा नआए बहुमतबाट निर्णय गर्ने चेतावनी यादव समूहले दिएको स्वीकारे । उनले भने, ‘सहमति गर्ने भए गरौं, होइन भने बहुमतबाट निर्णय हुन्छ भन्ने भेतावनी आएको छ । उहाँहरू सत्ताको प्रलोभनमा परेर पार्टीलाई तहसनहस पार्न खोजिरहनु भएको छ ।’
नेपालको संविधान २०७२ अनरुप बनाएको राजनीतिक दलसम्बन्धी ऐन २०७३ र त्यसको पहिलो संशोधन २०७४ अनुरुप पार्टीमा बहुमतले निर्णय गर्न सकिन्छ । पार्टीमा केन्द्रीय समिति र संसद्मा संसदीय दलले निर्णय गर्छ । जसपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको रुपमा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलको नाम बुझाएको छ ।

दुवैमा यादव समूहको बहुमत रहेको ठाकुर समूह स्वीकार्छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूहमा २६ जना छन् । संघीय परिषद् अध्यक्ष डा. भट्टराई, अध्यक्ष यादव, वरिष्ठ नेता अशोक राइसहित कार्यकारिणी सदस्यहरू महिन्द्र राययादव, रमेशप्रसाद यादव, गजाधर यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, युवराज कार्की, रकम चोम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, हिसिला यमी, गंगानारायण श्रेष्ठ, रनध्वज लिम्बु, रामसहायप्रसाद यादव, डम्बरबल्लभ खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी, महोम्द इस्तिह्याक राई, दुर्गा सोव, परशुराम बस्नेत, प्रशान्त सिंह, भक्तबहादुर शाह, सुशीला श्रेष्ठ र विजयकुमार यादव छन् । यी २६ जनाको हस्ताक्षर यादव समूहले लुम्बिनी प्रदेश प्रकरणमा पनि प्रयोग गरेर ४ सांसदलाई कारबाही गरिसकेको छ ।


ठाकुर समूहमा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोसहित सदस्यहरू शरतसिंह भणरी, अनिलकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल, बृषेशचन्द्र लाल, गोविन्द चौधरी, जितेन्द्रप्रकाश सोनाल, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, मनिषकुमार सुमन, राजकुमार लेखी, अमृता अग्रहरी, रेशमलाल चौधरी, रामनरेश राययादव, केशवकुमार झा, अकवाल अहमद शाह, निर्जला राउत, सुनिलकुमार झा, परशुराम खापुङ र हेमराज राई छन् ।

पहिला कार्यकारिणी समितिमा बहुमतमा रहेको ठाकुर समूहका नेता महिन्द्र राय यादव, रमेश यादव र गजाधर यादवसहित यादव समूहमा गएपछि अल्पमतमा परेको हो । यस्तै संसदीय दलमा पनि यादव समूह बहुमतमा पुगेको छ । संसदीय दलमा पनि महिन्द्र राय यादव आएपछि यादवको समूहमा पासा पल्टिएको हो ।


संसदीय दलको प्रतिनिधि सभामा यादव समूहमा डा.भट्टराई, यादव, महिन्द्र राययादव, डा.सूर्यनारायण यादव, रामसहाय यादव, रामबाबु यादव, राजेन्द्र श्रेष्ठ, रेणुका गुरुङ, लिलादेवी सिटौला, प्रदीप यादव, डा. सुरेन्द्र यादव, रेणु यादव, रुही नाज, इस्तियाक राई र कलुदेवी विश्वकर्मा छन् ।

प्रतिनिधिसभामा ठाकुरको पक्षमा ठाकुर, महतो, सरतसिंह भण्डारी, राजकिशोर यादव, अनिलकुमार झा, चन्द्रकान्त चौधरी, निर्जला राउत, प्रमोद साह, एकवाल अहमद मियाँ, लक्ष्मणलाल कर्ण, रानी मण्डल, अमृता अग्रहरी, नरमाया ढकाल, दुलारीदेवी खेत्वे, चन्दा चौधरी, उमाशंकर अरगरिया, विमल श्रीवास्तव छन् । तर सरकारमा सहभागी नहुने ठाकुर पक्षको वक्तब्य र अर्काे पक्ष सरकारमा समेत सहभागी हुने गरी गरिरहेको तयारीले सांसदमा यादव पक्षमा हलचल छ ।

शरदसिंह् भण्डारीलाई यादव पक्षले अव बन्ने गठवन्धनको नेतृत्व गरेर सरकारमा पठाउने आश्वासन दिएको स्रोतको दावी छ । यसो गर्दा उनी पनि अन्तिम समयमा यादव पक्षमा लाग्ने सम्भावना देखिन्छ । भण्डारी यादव पक्षमा खुलेमा उनीसँग रहेका निर्जला राउत लगायत सांसद पनि यादव पक्षमा लाग्नेछन् । त्यस्तै राजकिशोर यादवलाई पनि मन्त्री बनाउने गरी यादव पक्षले आफुतिर आकर्षित गरिसकेको बताइन्छ । यसले सरकारकै विषयमा निर्णय लिदा भने ठाकुर पक्षको सांसदहरुमा केही पहिरो जान सक्ने सम्भावना देखिएको ठाकुर पक्षकै एक सांसदले बताए ।

संसदीय दलको नेता यो पार्टीले एकीकरण यता अहिलेसम्म टुंगो लगाएको छैन । राजेन्द्र महतो र ठाकुर दुवै यसका आकाक्षी छन् । तर अहिलेसम्म जेष्ठ सदस्यका रुपमा महन्थले बैठकको अध्यक्षता गदै आईरहेका थिए । तर नागरिकताकै आधारमा हेर्दा महन्थ भन्दा महेन्द्रराय यादव उमेरमा पाका देखिन्छन् । ठाकुर पक्षले जेष्ठ सदस्यको दावी गरे महेन्द्रले पनि नागरिकतालाई आधार बनाएर दावी गर्ने सम्भावना छ ।

जसपाभित्रको यही रस्साकस्सीले पार्टी भित्र वहुमतले अल्पमतलाई कारवाहीको चरणमा पुराएको नेताहरु बताउन थालेका छन् ।

प्रतिक्रिया