शनिबार, वैशाख ८, २०८१

दमौली अस्पतालले शुरु गर्‍यो कोभिड सङ्क्रमितको उपचार

मेरोन्यूज २०७८ वैशाख २९ गते १०:३०

दमौली । दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारदेखि कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो ।

अस्पतालमा पाँच सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौडेलले जानकारी दिए ।

उनका अनुसार चार जना व्यास नगरपालिकाका र एक जना म्याग्देका सङ्क्रमितको उपचार शुरु गरिएको छ । सबै सङ्क्रमित निमोनियापीडित छन् । सङ्क्रमितलाई अक्सिजन दिइएको छ ।

“सबै सङ्क्रमितको फोक्सोमा निमोनिया देखिएको छ, उहाँहरुलाई अक्सिजन र अत्यावश्यक औषधि दिइएको छ”, डा. पौडेलले भने । उनका अनुसार अस्पतालमा १६ सङ्क्रमितलाई उपचार गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

अहिलेको अवस्थामा उक्त शैय्या आजै भरिनेजस्तो देखिएको डा. पौडेलले बताए । अस्पतालले जनरल वार्डलाई कोभिड कक्षमा रूपान्तरण गरेको थियो । उक्त ठाउँमा शैय्या थप गर्ने प्रयास भइरहेको पनि अस्पतालले जनाएको छ ।

अस्पतालले सात आइसीयू र चारवटा भेन्टिलेटरसहितको शैय्या यसअघि नै तयार गरिसकेको छ ।

प्रतिक्रिया