शुक्रबार, वैशाख ७, २०८१

एनएसएल फुटबलको दोस्रो प्लेअफमा आज ललितपुर सिटी र बुटवल लुम्बिनी भिड्दै

मेरोन्यूज २०७८ वैशाख २९ गते ८:४८

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो प्लेअफमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो प्लेअफ खेल साँझ ५ः३० बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै इलिमिनेटरमा काठमाडौं रेजर्ससँगको भेट पक्का गर्न चाहन्छन् ।

पहिलो प्लेअफमा धनगढी एफसीसँग पराजित भएपनि प्रतियोगिताको फर्म्याट अनुसार काठमाडौंले इलिमिनेटर खेल्ने मौका पाएको हो ।
लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका हुन् ।

आजको खेलको विजेताले फाइनल प्रवेशका लागि इलिमिनेटरमा काठमाडौंसँग खेल्नेछ । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।

लिग चरणको भेटमा बुटवलविरुद्ध ललितपुरले बाजी मारेको थियो । त्यसैले प्लेअफमा बुटवल ललितपुरविरुद्ध लिग चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

पहिलो खेलमा पोखरा थण्डर्सलाई पराजित गरेको बुटवलले अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै हेड टु हेडुमा पोखरालाई पछाडी पारेर शीर्ष चारमा स्थान बनाएको थियो ।

यता, पछिल्ला दुई खेलमा शतप्रतिशत जित निकाल्दै प्लेअफमा स्थान बनाएको ललितपुर बुटवलविरुद्ध जित निकाल्दै लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ ।

प्रतिक्रिया