बिहीबार, वैशाख १३, २०८१

ह्वासिन सिमेन्ट र क्रसर तथा खानी उद्योगका अक्सिजन सिलिण्डर धादिङका अस्पताललाई

मेरोन्यूज २०७८ वैशाख २९ गते ८:०५

धादिङ । ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए ।

धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा गम्भीर किसिमका कोरोना सङ्क्रमित व्यक्ति बढेसँगै उपचारमा सहजताका लागि महासंघले अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो ।

अक्सिजन नियमित लगाउनुपर्ने बिरामी बढेको अवस्थामा यसले सहयोग पुर्‍याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए ।

व्यवसायीहरूबाट अक्सिजन भरेर अस्पताललाई उपलब्ध गराएको महासंघका महासचिव रेग्मीले बताए ।

हरेक दिन कोरोना सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले सामाजिक दायित्वअन्तर्गत बजारमा सिलिण्डरसमेत नपाइने अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो ।

व्यवसायीहरुसँग उठाएर ल्याइएको सिलिण्डर रिफिल र ढुवानी खर्च निर्माण व्यवसायी नारायणकुमार श्रेष्ठले बेहोरेका छन् ।

जिल्ला प्रसाशनको अनुरोधमा ह्वासिन सिमेन्ट उद्योगले १५ वटा अक्सिजन सिलिण्डर अस्थायी कोभिड अस्पताललाई उपलब्ध गराएको छ । सिमेन्ट उद्योगले निःशुल्क उपलब्ध गराएको थियो ।

यससँगै धादिङमा हाल १३० अक्सिजन सिलिण्डर रहेको छ । हरेक दिन २५ देखि ३० अक्सिजन सिलिण्डर बिरामीलाई प्रयोग गरिरहेको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले बताए ।

प्रतिक्रिया