शुक्रबार, वैशाख १४, २०८१

सामुदायिक वनमा अवैध रुपमा सालको रुख कटान, दोषीलाई जोगाउन सांसददेखि मयेरसम्मको दबाब

मेरोन्यूज २०७८ वैशाख २८ गते १९:५३

फाइल फाेटाे

गोरखा । गोरखा नगरपालिका–१३ स्थित वनदेवी सामुदायिक वन क्षेत्र आसपासमा निजी वनका नाममा जथाभावी सालको रुख कटानी भएको भएको पाइएको छ ।

स्थानीयबासीहरुले वनमा सालको काठ लुकीछिपी काटेर राखेको अवस्था भेटेपछि डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए । काटिएको काठ स्थानीयबासी सुर्दशन शाहीले आफ्नो निजी प्रयोजनका लागि भन्दै काटेर थुपारेर राखेको अवस्था भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशाेककुमार श्रेष्ठले जानकारी दिए ।

प्रमुख श्रेष्ठले थुपारिएर राखिएको काठ कहाँबाट काटेको भन्ने कुरा अनुसन्धान भइरहेको बताए । ‘निजी वनको हो की सामुदायिक वनबाट काठ काटिएको हो भन्ने स्पस्ट भइसकेको छैन, उनले भने, ‘कार्यालयबाट काटेर राखिएको भनिएको ठाउँमा पुगेर काठ नापजाँच भइसकेको छ प्रतिवेदन प्राप्त हुन बाँकी छ ।’

शाहीले थुपारेर राखेको भनिएको स्थानमा करिब २९ थान (साढे ३१ क्युफिट) काठ फेला परेको अनुसन्धानमा खटिनु भएका रेन्जर बद्री देवकोटाले जानकारी दिए ।

स्थानीय अबुँवाबाट उत्तरपश्चिम क्षेत्रमा काठ काटेर शाहीले कर्मसिंह फाँटमा थुपारेर राखेको पाइएको उनको भनाइ छ । शाहीले सामुदायिक वनसँग जोडिएको क्षेत्रमा बिनाअनुमति आफ्नो निजी बन भन्दै सालको रुख कटानी गरेको पाइएको हो । उनले घर बनाउनका लागि काठ काटेको भनिए पनि स्थानीयबासीले काठ विक्री वितरणका लागि काटेको आंशका गरेका छन् ।

‘घर बनाउनका लागि एउटा मात्र काटिन्थ्यो होला, एक स्थानीयले भने त्यहाँ त एकै ठाउँमा ५ वटा जति सालको रुख काटिएको छ, एउटा घर बनाउन त्यति धेरै रुख किन काट्नु पर्यो ।’

कानूनमा निजी वन नै भए पनि सालका काठ अनुमति बिना काट्नका लागि प्रतिबन्ध लगाइएको छ । ‘आफ्नो निजी वन क्षेत्र भएका विभिन्न आँप, चिलौनेलगायका तोकिएका २३ प्रजातीका रुख अनुमति बिना काट्न पाइन्छ, कार्यालय प्रमुख श्रेष्ठले भने, ‘सालका रुखहरु अनुमति बिना काट्न नपाइने कानूनी व्यवस्था छ ।’

देशभर वैज्ञानिक वन व्यवस्थापनको नीति लागू भएपछि निजी प्रयोजनका लागि समेत सालको काठ काट्न निषेध गरिएको छ । शाहीले काठ कटानीका लागि कसैसँग पनि अनुमति नलिएको पाइएको छ ।

सामुदायिक वनलाई जानकारी गराएर काठ कटानी गरेको होइन, उहाँले मेरो नीजि वनको हो भन्नुभएको छ, स्थानीय वनदेवी सामुदायिक वनका सचिव राजन रिमालले भने,- हामीले कुनै लिखित अनुमति पनि दिएका छैनौँ ।‘ रुख काटिएको ठाउँ हेर्दा वन नै जस्तो देखिने उनकाे भनाइ छ । ‘हेर्दा वन नै जस्तो देखिन्छ, अब वनको कित्ताभित्र पर्छ की पर्दैन भनेर एकीन गर्न सक्दैनौं, सचिव रिमालले भने, -‘निजी वन हो वा सामुदायिक हो भनेर छुट्याउन नापी ल्याएर नापी गर्नुपर्छ ।’

रुख काटिएको क्षेत्रमा अन्य कुकाठका रुखहरु पनि ढलिरहेको अवस्थामा भेटिएको स्थानीयको भनाइ छ । शाहीले भूकम्पको घर निर्माणका लागि काठ काटेको बताएपनि उनले यस अघि नै भूकम्पको एक कोठे घर निर्माण गरेर अनुदान बुझिसकेका छन् ।

दाेषी जाेगाउन जनप्रतिनिधिकाे दाैडधुप

यता अवैध सालका रुख कटानीमा संलग्नलाई कारवाही नगर्न जिल्ला वन कार्यालय, स्थानीयबासी समेतलाई दबाब परेको छ । कानूनको कार्यान्वयन गराउनुपर्ने निर्वाचित जनप्रतिनिधिहरुले दोषीलाई कुनै हालतमा कारवाही गर्न नहुनेमा दबाब बढाएका छन् । स्रोतका अनुसार गण्डकी प्रदेशका प्रदेशसभा सदस्यदेखि मेयरसम्मका जनप्रतिनिधिहले दोषीलाई कारवाही नगर्न दबाब दिएका हुन् । 

प्रतिक्रिया